May 12th, 2021

आयात बढ्न थालेसँगै घट्न थाल्याे शोधानान्तर बचत

बैंकिङ खबर/चालु आर्थिक वर्षको सुरुदेखि उच्च रकमको बचतमा रहेको शोधानान्तर बचत घट्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा ४२ अर्ब ५४ करोड रुपैयाँले शोधानान्तर बचतमा छ । फागुन मसान्तसम्म ६८ अर्ब रुपैयाँले शोधानान्तर बचतमा थियो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्प क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब पुगेको छ ।

Current Macroeconomic and Financial Situation-Nepali (Based on Nine Months data of 2077.78)

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]