May 2nd, 2021

‘आरटिजिएस’ सेवा साढे २ घण्टामा सीमित, सोमबारदेखि १ बजेसम्म मात्र

बैंकिङ खबर/  सार्वजनिक बिदाका दिनमा समेत पूर्ण कार्यालय समय सञ्चालन गरिँदै आएको ‘आरटिजिएस’ प्रणाली सोमबारदेखि जम्मा साढे २ घण्टा सञ्चालनमा ल्याइने भएको छ । कोभिड १९ को दोस्रो लहर तीव्र गतिमा फैलिँदै गएको परिस्थितिमा परिवर्तित बैंकिङ कारोबार समयअनुसार आरटिजिएस प्रणालीलाई पनि बिहान १० : ३० देखि दिउँसो १ बजेसम्म (साढे २ घण्टा) मात्र सञ्चालनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आरटिजिएस प्रणालीमा सताका सबै कारोबार दिनहरुमा संक्षिप्त बिजनेस डे (शुक्रबार टेम्प्लेट) अन्तर्गत कारोबार सञ्चालन हुने जानकारी राष्ट्र बैंकले आइतबार सूचनामार्फत गराएको हो ।

के हो आरटिजिएस प्रणाली ?
रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पैसा स्थानान्तरण (टन्सफर) को विद्युतीय प्रणाली हो । यो प्रणालीमार्फत जुनसुकै बैंकको खातामा रहेको पैसा जुनसुकै बैंकको खातामा केही सेकेन्डभित्रै ट्रान्सफर गर्न सकिन्छ ।

झट्ट हेर्दा आइपिएसलगायत अन्य फन्ड ट्रान्सफर प्रणालीजस्तै लागे पनि यो प्रणालीका केही पृथक् विशेषता छन् । आइपिएसलगायतका प्रणालीको प्रयोग उपभोक्ता आफैँले अनलाइनमार्फत जुनसुकै स्थानबाट गर्न सक्छन् । तर, एसटिजिएस प्रणालीमार्फत पैसा पठाउन ग्राहकले बैंकमै जानुपर्ने हुन्छ । क्लियरिङ हाउसमातहतमा सञ्चालन हुने यो प्रणालीअन्तर्गतको सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र दिन सक्छन् ।

२० लाखभन्दा बढीको कारोबारमा अनिवार्य छ आरटिजिएस
आरटिजिएस प्रणालीमा २ लाखभन्दा बढीको कारोबार हुन्छ । तर, २ लाखदेखि २० लाखसम्मको कारोबारमा आरटिजिएस नै प्रयोग गर्नुपर्ने बाध्यता ग्राहकसामु छैन, किनकि २० लाखसम्मको कारोबारका लागि ग्राहकले आफ्नो सुविधाअनुसार अन्य फन्ड ट्रान्सफर प्रणालीको समेत उपयोग गर्न सक्छन् । तर, २० लाखभन्दा बढीको कारोबारमा भने आरटिजिएस नै एक मात्र विकल्प हो । यो प्रावधानका कारण २० लाखभन्दा बढी रकम कुनै बैंकको खातामा पठाउनुपरेमा ग्राहकले बैंकमा उपस्थित भई आरटिजिएसको फर्म भर्नुपर्छ । यही बाध्यताका कारण नै बिदाको दिन पनि यो प्रणालीलाई खुला राखिएको हो ।

RTGS-Timing-Notice-20780119

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]