May 3rd, 2021

९ अर्बका वाणिज्य बैंकको कमाइ : विकास बैंक र लघुवित्तभन्दा पछाडि !

बैंकिङ खबर/  विश्व अर्थतन्त्रले नै कोभिड १९ को दूरगामी दुष्प्रभाव झेलिरहेको अवस्थाबाट सुरु भएको चालु आर्थिक वर्षको दशौँ महिनामा नेपाली अर्थतन्त्रले कोभिडको थप संक्रामक दोस्रो लहरका कारण निषेधाज्ञा झेलिरहेको छ । व्यापार–व्यवसायसँगै समग्र वित्तीय क्षेत्र कुनै पनि महिना कोभिडको दुष्प्रभावबाट अछुतो नरहँदा पनि नेपाली बैंक तथा वित्तीय संस्थाहरूले बितेका नौ महिनामा उत्साहजनक प्रदर्शन गरे ।

चालु आवको नौ महिनाको वित्तीय विवरण अध्ययन गर्दा वाणिज्य बैंकहरूको प्रदर्शन औसतमा निकै उत्साहजन देखियो । समीक्षा अवधिमा २७ मध्ये २१ वटा वाणिज्य बैंकको मुनाफामा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको देखियो । त्यस्तै, २४ वटा वाणिज्य बैंकको नौ महिनाको मुनाफा १ अर्बभन्दा माथि देखियो । विकास बैंकहरू, फाइनान्स कम्पनीलगायत ग वर्गका वित्तीय संस्थाहरू तथा लघुवित्त संस्थाहरूले पनि औसतमा सुधारिएको वित्तीय विवरण सार्वजनिक गरे । मुक्तिनाथ विकास बैंकले नौ महिनामै १ अर्बभन्दा बढी नाफा कमाएर विकास बैंकतर्फ अर्ब नाफा कमाउने पहिलो बैंकका रुपमा नाम लेखायो । तर, ३ वाणिज्य बैंकले भने नौ महिनामा नाफामा अर्बको आँकडा छुन सकेनन् ।

३ वाणिज्य बैंक जसलाई मुनाफामा विकास बैंक र लघुवित्तले उछिने
सेन्चुरी कर्मसियल बैंक, सिभिल बैंक र एसबिआई बैंक ९ अर्बको हाराहारीमा चुक्तापुँजी भएका वाणिज्य बैंक हुन् । ९ अर्ब ३ करोड चुक्तापुँजीको सेन्चुरी बैंकले चालु आवको नौ महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ६१ प्रतिशत नाफा घटाउँदै जम्मा ३५ करोड ८१ लाख रुपैयाँ कमाएको छ, जुन ५ अर्बभन्दा कम चुक्तापुँजी भएका राष्ट्रियस्तरका अधिकांश विकास बैंकको भन्दा न्यून कमाइ हो । उदाहरणका लागि ४ अर्ब ८१ करोड चुक्तापुँजीको मुक्तिनाथ विकास बैंकको समीक्षा अवधिको मुनाफा १ अर्ब ५६ लाख छ । त्यस्तै, लघुवित्ततर्फ जम्मा १ अर्ब ८३ करोड चुक्तापुँजी भएको छिमेक लघुवित्तले चालु आवको चैत मसान्तसम्म ९५ करोड ५९ लाख मुनाफा आर्जन गरेको छ ।

८ अर्ब ६४ करोड चुक्तापुँजीको सिभिल बैंक ३९.३९ प्रतिशत नाफा बढाएर पनि आफूभन्दा निकै कम चुक्तापुँजीका धेरै बैंक तथा वित्तीयसंस्थाभन्दा कमाइमा पछाडि रह्यो । समीक्षा अवधिमा ५० करो २५ लाख मुनाफा कमाएको सिभिल बैंकका प्रायः सूचकहरू सुधारोन्मुख भने देखिए ।

कुनै समय टप बैंकमध्ये रहेको विदेशी लगानीको एसबिआई बैंकले चालु आवको नौ महिनामा तुलनात्मक रुपमा निराशाजनक प्रदर्शन गर्‍यो । गत वर्षको सोही अवधिको तुलनामा करिब ३९ प्रतिशत मुनाफा घटाएको बैंकले यस अवधिमा नाफामा अर्बको आँकडा छुन सकेन । ९ अर्ब ४९ करोड चुक्तापुँजीको एबिआई बैंक समीक्षा अवधिमा ८७ करोड ८६ लाख मुनाफामा चित्त बुझाउन बाध्य भयो ।

कमाइको हिसाबले राम्रो प्रदर्शन गरेका ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाभन्दा पछाडि परेका यी तीन क वर्गका बैंकको समीक्षा अवधिको वित्तीय अवस्थाको अध्ययन गरौँ :

सेन्चुरी कमर्सियल बैंक
खुद नाफा – ३५ करोड ८१ लाख (६०.८९ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – २२ करोड २९ लाख

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सेन्चुरी कमर्सियल बैंकको खुद नाफा घटेको छ । यस अवधिमा ६०.८९% ले घटेर बैंकको खुद नाफा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १४.८२% ले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा खुम्चिएको छ । त्यस्तै, सञ्चालन नाफा ६२.७४% ले घटेर ४७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन १३ करोडमा सीमित थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले घटेर ५ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ । हाल बैंकको चुक्तापुँजी ९ अर्ब ३ करोड छ ।

सिभिल बैंक
खुद नाफा – ५० करोड २५ लाख (३९.३९ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ३० करोड ७७ लाख

सिभिल बैंकले चालु आवको ९ महिनामा ५० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि निष्क्रिय कर्जा र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढ्न टेवा पुगेको हो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१३ प्रतिशतमा सीमित भएको छ, जुन गत आवको सोही अवधिमा ३.४३ प्रतिशत थियो । बैंकको इम्पेरमेन्ट चार्ज ६२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ९.८७ प्रतिशतले ह्रास आए पनि सञ्चालन आम्दानीमा ६२.१७ प्रतिशतको वृद्धि देखिएको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ७७ लाख पुगेको छ, जुन गत वर्ष सोही अवधिमा ११ करोडमा सीमित थियो । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि केही सुधार आएको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसाले बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ । चैत मसान्तमा बैंकको मूल्य–आम्दानी अनुपात ३०.७ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ छ ।

सिभिल बैंकले चालु आवको नौ महिनामा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ प्रतिशतले बढेको छ भने कर्जा लगानी ५४.६७ % ले बढेको छ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६४ करोड छ ।

बैंकले समीक्षा अवधिमा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जाप्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जाप्रवाह गरेको थियो ।

नेपाल एसबिआई बैंक
खुद नाफा – ८७ करोड ८६ लाख (३८.९१ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ४४ करोड ४६ लाख

चालु आवको नौ महिनामा नेपाल एसबिआई बैंकको नाफा ३८.९१ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले ८७ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ, जुन गत वर्ष सोही अवधिमा १ अर्ब ४३ करोड थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनामा घटेका कारण बैंकको मुनाफामा दबाब परेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३८ प्रतिशत र सञ्चालन नामा ३८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले कुल १ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको वितरणयोग्य नाफा ४४ करोड ४६ लाख पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १० करोड मात्र थियो । बैंकको निक्षेप संकलन ८ प्रतिशतले घटेको छ भने कर्जा लगानी ७ प्रतिशतले बढेको छ ।

बैंकको हालको चुक्तापुँजी ९ अर्ब ४९ करोड छ । बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी झन्डै आधा घटेर १२ रुपैयाँमा झरेको छ, जुन २१ रुपैयाँ थियो । प्रतिशेयर नेटवर्थमा भने बैंक १६१ रुपैयाँका साथ राम्रै अवस्थामा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]