
बैंकिङ खबर/‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार-२०२०’ पाल्पाका ढकेश्वर घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेले कफी खेतीको विकास, प्रवर्धन, बजार विस्तार र निर्यात गरी कृषि क्षेत्रको दिगो विकासमा अनुकरणीय कार्य गर्नुभएको भन्दै रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो ।
पाल्पा मदनपोखरा–७, का घिमिरेसहित काठमाडौं ३१, का प्रचण्डमान श्रेष्ठलाई पनि उक्त पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी नगद रु. १ लाख १ हजार १११ रुपैयाँ रहेको छ । झापा विर्तामोडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगतमान गुरुङ र प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
को हुनुहुन्छ ढकेश्वर घिमिरे ?
पाल्पाको मदन पोखरामा २०१४/०६/०५ जन्मिनुभएका घिमिरेले वि.ए, वि.एड, र एम.ए सम्मको अध्ययन गर्नुभएको छ । शारदा उच्च मा.वि.मा २०३१ साल देखि शिक्षक पेशामा लाग्नु भएका उहाँले ३० वर्षसम्म सोही विद्यालयमा अध्यापन गराउनुको साथै माण्डव्य बहुमुखी क्याम्पस मदन पोखरामा २०४६ देखि २०५२ सम्म अध्यापन गराउनु भएको थियो । शिक्षण पेशामा संलग्न भएकै अवस्थामा २०३५ साल देखि कफी खेतीको विकासमा सक्रिय घिमिरे विभिन्न निकायहरुमा आवद्ध हुँदै आउनुभएको छ ।
नेपाल जैवीक (अर्गेनिक) कफी खेतीका संस्थापक घिमिरे २०४७ साल देखि २०५४ सालसम्म र २०५४ देखि २०६० सम्म केन्द्रीय अध्यक्ष र २०६१ देखि २०६५ सम्म नेपाल कफी व्यवसायी महासंघको संस्थापक अध्यक्ष हुनुभएको थियो । २०५२ सालमा राष्ट्रिय चिया तथा कफी विकाश वोर्डको सदस्य, २०६७ मा राष्ट्रिय प्लान्ट क्वारेन्टाइन वोर्डको सदस्य साथै सीटीइभीटीको कफी प्राविधिक सीप परीक्षण समितिका सदस्यको रुपमा घिमिरेले जिम्मेवारी निभाई सक्नुभएको छ ।
घिमिरे एवाउट कफी नामक अंग्रेजी पत्रिकाका मानार्थ सल्लाहकार हुनुका साथै कफीसम्वन्धी लेखका सर्जक पनि हुनु हुन्छ । नेपालमा प्राङ्गरिक कफी र संस्थागत व्यवस्था, कफी प्रशोधन प्रविधि र कफी क्षेत्रका समस्या एवं सुझाव, कफी भुटाई पिसाई प्याकेजीङ र बनाएर पिउने तैयारी, नेपालको अर्गानिक कफी प्रति राज्यको दायित्व, नेपालमा कफी उत्पादन संस्थागत नीतिगत बजार सम्बन्धी चुनौती र गर्नुपर्ने कार्य उहाँका चर्चित लेखहरु छन् ।
नेपाली अर्गाजिक कफीका पीता भनेर परिचित हुनुभएका उहाँ २०४६ सालदेखि पुर्याउनु भएको योगदान स्वरुप ग्रामीण क्षेत्रमा कफी विस्तारको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कफीको संस्थागत विकास तथा विविध क्षेत्रमा पु¥याउनु भएको योगदानका लागि हेल्भेटास कफी प्रवर्धन कार्यक्रम, राष्ट्रिय नागरिक सरोकार केन्द्र तथा अन्य विभिन्न संघसंस्थाहरुबाट पुरस्कृत एवं सम्मान हुँदै आउनुभएको छ ।