
बैंकिङ खबर/ काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन बैंक तथा वित्तीय संस्थाहरूले सबै शाखाबाट सेवा दिएका छन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवाग्राहीलाई बैंकिङ सेवा दिइएको हो ।
बिहीबार बैंक तथा वित्तीय क्षेत्रमा साविकका दिनहरूमा जस्तो सेवाग्राहीको चाप देखिएन, यद्यपि बैंकका केही शाखामा भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । केही बैंकहरूमा फाट्टफुट्ट सेवाग्राही देखिन्थे भने केही बैंकमा सुनसानप्रायः थियो । बैंकमा सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षा गार्डहरूले स्यानिटाइजर प्रयोग गर्न आग्रह गर्दै थर्मोगनले तापक्रम नापेर भित्र पठाएका थिए ।
निषेधाज्ञामा पनि बैंकिङ सेवा सञ्चालनमा छुट दिइए पनि यातायात सञ्चालन र सर्वसाधारणको आवतजावतमा रोक लगाइँदा सेवाग्राहीलाई बैंकसम्म पुग्न कठिनाइ थियो । यसले पनि बैंकमा सेवाग्राहीको चाप कम भएको हो । अर्कोतर्फ डिजिटल कारोबारका लागि चौतर्फी प्रोत्साहन भइरहँदा पछिल्लो समय यसतर्फ पनि सेवाग्राहीको अभ्यस्तता बढेको छ । यसक्रममा बिहीबार काठमाडौंका केही बैंकमा देखिएका दृश्यहरू बैंकिङ खबरले क्यामेरामा कैद गरेको छ ।





