बैंकिङ खबर/ नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको बहुप्रतीक्षित ‘बिग मर्जर’ सम्झौता पूर्वनिर्धारित मितिमा हुन सकेन । मंगलबार (१४ वैशाख) का लागि एमओयू मिति तोकिएपछि इन्भेष्टमेन्ट बैंकका तर्फबाट एकीकृत बैंकमा दुई सिइओ राख्ने प्रस्तावले सम्झौता धकेलियो ।
मर्जरपछिको बैंकमा सिनियर र जुनियर गरी हाल कायम रहेका दुवै बैंकका सिइओलाई स्थान दिने प्रस्ताव कानुनी र व्यावहारिक रूपमा समेत अमिल्दो भएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकमा दुई सिइओको प्रस्ताव आएको तर विद्यमान व्यवस्थाले त्यसकिसिमको अनुमति नदिने भएकाले प्रस्ताव स्वीकार नहुने जानकारी सम्बन्धित पक्षलाई गराइएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
स्रोतका अनुसार राष्ट्र बैंकले दुई सिइओको प्रस्तावमा रातो सिग्नल देखाएसँगै इन्भेष्टमेन्ट बैंक हालको आफ्नो सिइओलाई सिनियर डेपुटी सिइओका रूपमा समायोजन गर्ने गरी ब्याक भएको छ । सम्झौताको अर्को पक्ष हिमालयन बैंक र नियामक निकाय दुवै दुई सिइओको प्रस्तावमा सहमत हुन नसकेका हुन् ।
कुनै पनि बैंक तथा वित्तीय संस्थामा हालसम्म दुई सिइओको अभ्यास गरिएको छैन र यसकिसिमको प्रावधान पनि छैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र राष्ट्र बैंकका नीति–निर्देशनमा कहीँ–कतै यसकिसिमको व्यवस्था नगरिएका कारण जुनियर र सिनियरका रूपमा दुई सिइओको प्रस्तावलाई मान्यता दिन नसकिने संकेत राष्ट्र बैंकले दिइसकेको स्रोतको भनाइ छ ।
मर्जरपछिको हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकमा सिनियर र जुनियर गरी दुई सिइओ राख्नुपर्ने प्रस्ताव इन्भेष्टमेन्ट बैंकका तर्फबाट आएपछि मंगलबारका लागि तय भएको एमओयू रोकिएको थियो । यसअघि एकीकृत बैंकको अध्यक्ष हालको इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहने र सिइओको जिम्मेवारी हाल हिमालयनको सिइओ रहेका अशोक राणालाई दिने सहमति भएको थियो । तर, इन्भेष्टमेन्टको तर्फबाट हालका इन्भेष्टमेन्टका सिइओ ज्योतिप्रकाश पाण्डेलाई जुनियर सिइओ बनाइनुपर्ने प्रस्ताव आएको थियो ।
मूल विषयहरूमा सहमति जुटेर दुवै सञ्चालक समितिले मर्जरलाई स्वीकृति दिई राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको अवस्थामा आएका नयाँ विषयहरू छलफलबाट मिलाउन सकिनेमा दुवै पक्ष दृढ रहेकाले निषेधाज्ञा खुलेपछि सम्झौता हुने स्रोतको भनाइ छ । दुवै बैंक सम्झौताका लागि आतुर भए पनि निषेधाज्ञाले सम्झौता मिति धकेलिएको हो ।
इन्भेष्टमेन्ट र हिमालयनबीचको बिग मर्जरले सबैभन्दा ठूलो वाणिज्य बैंकलाई जन्माउनेछ र यो नै हालसम्मको सबैभन्दा ठूलो मर्जर हुनेछ । मर्जरपछिको बैंकको चुक्तापुँजी करिब २७ अर्ब हुनेछ । यसअघि तत्कालीन ग्लोबल आइएमई बैंक र तत्कालीन जनता बैंकबीचको बिग मर्जरबाट जन्मिएको ग्लोबल आइएमई बैंकको चुक्तापुँजी करिब २१ अर्ब ६३ करोड छ ।