बैंकिङ खबर/ नेपालको बैंकिङ मर्जरमा इतिहास रच्ने क्रममा रहेका दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको ‘बिग मर्जर’ सम्झौतालाई बिहीबारदेखि लागु हुने निषेधाज्ञाले धकेलेको छ । मंगलबार (१४ वैशाखमा) एमओयू गर्न सहमत भएका यी दुई बैंक दुई सिइओको कानुनतः अमिल्दो प्रस्तावका कारण रोकिएका थिए ।
मर्जरपछिको हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकमा सिनियर र जुनियर गरी दुई सिइओ राख्नुपर्ने प्रस्ताव इन्भेष्टमेन्ट बैंकका तर्फबाट आएपछि मंगलबार एमओयू हुन नसकेको स्रोतको भनाइ छ । यसअघि एकीकृत बैंकको अध्यक्ष हालको इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहने र सिइओको जिम्मेवारी हाल हिमालयनको सिइओ रहेका अशोक राणालाई दिने सहमति भएको थियो । तर, इन्भेष्टमेन्टको तर्फबाट आएको हालका इन्भेष्टमेन्टका सिइओ ज्योतिप्रकाश पाण्डेलाई जुनियर सिइओ बनाइनुपर्ने प्रस्तावलाई विद्यमान कानुनले अनुमति नदिने भन्दै हिमालयन बैंक र नियामक निकायले समेत अस्वीकार गरेपछि सिनियर डेपुटी सिइओ राखेर मिलाउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।
मूल विषयहरुमा सहमति जुटेर दुवै सञ्चालक समितिले मर्जरलाई स्वीकृति दिई राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको अवस्थामा आएका नयाँ प्रस्तावहरुमा छलफलबाट मिलाउन सकिने तर एमओई भने निषेधाज्ञा खुलेपछि मात्र हुने भएको छ । दुवै बैंक सम्झौताका लागि आतुर भए पनि निषेधाज्ञाले सम्झौता मिति धकेलिएको हो ।
इन्भेष्टमेन्ट र हिमालयनबीचको बिग मर्जरले सबैभन्दा ठूलो वाणिज्य बैंकलाई जन्माउनेछ । मर्जरपछिको बैंकको चुक्तापुँजी करिब २७ अर्ब हुनेछ । यो नै हालसम्मको सबैभन्दा ठूलो मर्जर हुनेछ ।