
बैंकिङ खबर/नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली प्रारम्भ भएको छ ।
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गर्नुभएको हो ।
निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताउनुभयो । उहाँले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाऊँगाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने बताउनुभयो ।
सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। अधिकारीले निगमसँग पुन सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको बताउनुभयो ।