जीबन बीमा कम्पनीहरुले बजार व्यवस्थापन तथा प्रवद्र्धनमा ६ प्रतिशत मात्रै खर्च गर्न पाउने भएका छन् । बीमा समितिले चालू आर्थिक वर्षदेखि नै लागू हुने गरी जीवन बीमा कम्पनीहरूको खर्चको सीमा तोकिदिएको हो । समितिले गरेको नयाँ व्यवस्थाले बीमा अभिकर्ताले हाल पाउँदै आएको इन्सेन्टिभ पनि घट्ने भएको छ । नयाँ व्यवस्थाले अभिकर्ताले पाउँदै आएको सुविधामा भने खासै फरक नपर्ने बताइएको छ । नयाँ व्यवस्थाअनुसार बीमा कम्पनीहरूले संकलन गरेको प्रथम बिमा शुल्क (पहिलो किस्ता) बाट मात्रै अभिकर्ता, अन्य र प्रवद्र्धनमा खर्च गर्न पाउने छन् ।
ऐनमा यस्तो छ
बीमा कम्पनीहरूले बीमा व्यवसायका लागि अभिकर्ता नियुक्त गर्न सक्छन् । अभिकर्तालाई बीमा कम्पनीहरूले अधिकतम २५ प्रतिशतसम्म कमिशन दिने सक्ने व्यवस्था ऐनमा छ । साथै बीमा विनियमावलीले कमिसनका अतिरिक्त बिमकले अभिकर्तालाई इन्सेन्टिभ बोनससमेत दिन सक्ने व्यवस्था गरेको छ । तर, यसका लागि भने सीमा तोकिएको छैन ।
गत वर्ष पनि समितिले जीवन बिमा कम्पनीहरूको व्यवस्थापन खर्चमा कटौती गरेको थियो । समितिले कम्पनीको जीवनकोष अनुसार कम्तीमा ७ प्रतिशतदेखि बढीमा १६ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न कम्पनीलाई सीमा तोकिदिएको थियो । सोहीअनुसार कम्पनीहरूले विज्ञापन, प्रचार–प्रसार, व्यापार प्रवद्र्धन तथा अभिकर्तालाई दिइने इन्सेटिभलगायतका शीषर्कमा रकम खर्च गर्दै आएका थिए ।