Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आरटिजिएस अनुमति, शुक्रबारदेखि प्रणालीमा आबद्ध हुने

२०७८ बैशाख २ गते

बैंकिङ खबर/  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सेवा सञ्चालन अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निफ्राले आरटिजिएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्टको रुपमा अनुमति पाएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार निफ्रा शुक्रबार (३ वैशाख) देखि यस प्रणालीमा आबद्ध हुनेछ । यससँगै निफ्रा यस वर्ष आरटिजिएस प्रणालीमा आबद्ध हुने पहिलो बैंक बनेको छ ।

अन्तरबैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली आवश्यक भएकाले बैंकले निवेदन दिएकोमा राष्ट्र बैंकबाट शुक्रबारबाट लागु हुने गरी अनुमति प्राप्त भएको निफ्राका जोखिम व्यवस्थापन प्रमुख तथा सूचना अधिकारी सुवर्णकुमार सिंहले जानकारी दिए । अन्य बैंक तथा वित्तीय संस्थाहरुजस्तै नर्मल बैंकिङ ट्रान्जेक्सनका लागि यो प्रणालीमा प्रवेश गरेको सिंहको भनाइ छ ।

‘अरु बैंकजस्तै हामीलाई पनि अन्तरबैंक ट्रान्जेक्सन गर्नुपर्ने हुन्छ, अहिलेसम्म आइपिएस गर्दै आएका थियौँ । अब राष्ट्र बैंककै प्लेटफर्म आरटिजिएस प्रयोग गर्ने गरी हामी पनि आबद्ध भएका हौँ,’ सिंहले बैंकिङ खबरसित भने ।

के हो आरटिजिएस प्रणाली ?
रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पैसा स्थानान्तरण (टन्सफर) को विद्युतीय प्रणाली हो । यो प्रणालीमार्फत जुनसुकै बैंकको खातामा रहेको पैसा जुनसुकै बैंकको खातामा केही सेकेन्डभित्रै ट्रान्सफर गर्न सकिन्छ ।

झट्ट हेर्दा आइपिएसलगायत अन्य फन्ड ट्रान्सफर प्रणालीजस्तै लागे पनि यो प्रणालीका केही पृथक् विशेषता छन् । आइपिएसलगायतका प्रणालीको प्रयोग उपभोक्ता आफैँले अनलाइनमार्फत जुनसुकै स्थानबाट गर्न सक्छन् । तर, एसटिजिएस प्रणालीमार्फत पैसा पठाउन ग्राहकले बैंकमै जानुपर्ने हुन्छ । क्लियरिङ हाउसमातहतमा सञ्चालन हुने यो प्रणालीअन्तर्गतको सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र दिन सक्छन् ।

२० लाखभन्दा बढीको कारोबारमा अनिवार्य छ आरटिजिएस
आरटिजिएस प्रणालीमा २ लाखभन्दा बढीको कारोबार हुन्छ । तर, २ लाखदेखि २० लाखसम्मको कारोबारमा आरटिजिएस नै प्रयोग गर्नुपर्ने बाध्यता ग्राहकसामु छैन, किनकि २० लाखसम्मको कारोबारका लागि ग्राहकले आफ्नो सुविधाअनुसार अन्य फन्ड ट्रान्सफर प्रणालीको समेत उपयोग गर्न सक्छन् । तर, २० लाखभन्दा बढीको कारोबारमा भने आरटिजिएस नै एक मात्र विकल्प हो । यो प्रावधानका कारण २० लाखभन्दा बढी रकम कुनै बैंकको खातामा पठाउनुपरेमा ग्राहकले बैंकमा उपस्थित भई आरटिजिएसको फर्म भर्नुपर्छ । यही बाध्यताका कारण नै बिदाको दिन पनि यो प्रणालीलाई खुला राखिएको हो ।

Ad