‘मौद्रिक नीति २०७७ ठूलो उपलब्धि हो’
देवकुमार ढकाल
प्रवक्ता, नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले २०७७ सालको मौद्रिक नीति साउन महिनामा ल्यायो । मौद्रिक नीतिमा भएका व्यवस्थाहरू खास गरी कोभिडबाट अर्थतन्त्रमा परेको प्रभाव, बैंक तथा वित्तीय संस्थाहरू तथा उद्योग व्यवसायमा परेको प्रभावलाई ध्यान दिँदै उद्योगी व्यवसायीहरूको मनोबल बढाउन राष्ट्र बैंकले जे–जस्ता पोलिसीहरू ल्यायो, त्यसैको परिणामस्वरूप अहिले अर्थव्यवस्था कसैले भी–सेपमा त कसैले यू–सेपमा लयमा फर्कियो भनिरहेका छन् ।
उद्योग व्यवसायको कन्फिडेन्स लेबल बढेर रिभाइभ (पुनर्जागृत) हुनु नै मूल राष्ट्र बैंकले लिएको नीतिको पहिलो महत्त्वपूर्ण काम हो । यसबाट धेरै राम्रा परिणाम आए, जसले गर्दा अहिलेको उद्योग व्यवसाय, व्यापार सबै चलायमान भएका छन् । एक किसिमको कन्फिडेन्स लेबल हाई भएको अवस्था छ ।
विदेशी विनिमय व्यवस्थापनको सवालमा पनि राष्ट्र बैंकले २०७७ मा धेरै राम्रा काम गरेको छ । विदेशी विनिमयलाई व्यवस्थित गर्ने सवालमा धेरै कार्यविधिहरू यो आर्थिक वर्षमा जारी भएका छन् । ५ सय डलरको कार्डको कुरा गर्नुस्, विदेशमा रेमिट्यान्स वालरबाट भित्र्याउने कुरा गर्नुस्, या त एलसी ग्यारेन्टी र अरु ट्रान्जेक्सनहरू लिमिटी म्याद गर्ने कुराहरूको सवाल होस्, विदेशी विनिमय व्यवस्थापनको क्षेत्रमा र उद्योग व्यापार व्यवसायलाई सहजीकरण गर्ने र हाम्रा पेमेन्टहरूलाई सहज बनाउने सवालमा पनि धेरै नै राम्रा काम भएका छन् ।
राष्ट्र बैंकका विभिन्न नीतिहरूका कारण नै बैंक तथा वित्तीय संस्थाहरू अहिलेको यत्रो ठूलो असर गरेको अवस्थामा पनि आफ्ना व्यापार व्यवसायहरू कर्जाप्रवाहलगायतका काम सहज रूपमा गर्न सफल हुनुभएको छ । कोभिडको प्रभाव कर्मचारी तथा सर्वसाधारणलाई नपरोस् भन्नका लागि राष्ट्र बैंकले समय–समयमा विविध सूचना जारी गरेको छ । यसका कारण मान्छेको स्वास्थ्य सुरक्षा प्रवर्धनमा पनि सघाउ पुर्याएको छ ।
राष्ट्र बैंकले अघिल्लो वर्ष विविध कामहरू गरेको छ । डिजिटल पेमेन्टको साइडबाट हेर्दा यसले आरडिजिएस बढेको छ । यो वर्ष कोभिडका कारण फिजिकल क्यासमा कारोबार गर्दा रोग सर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी पैसाको लागत काम गर्ने उद्देश्यले हामीले क्युआर कोडलाई प्रवर्धन गराउनेलगायत विविध डिजिटल ट्रान्जेक्सनको क्षेत्रमा पनि महत्त्वपूर्ण कामहरू गरेका छौँ ।
यो वर्ष ऐतिहासिक वर्षका रूपमा राष्ट्र बैंकले काम गरेको छ । कोभिड १९ को कारणले गर्दा अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्न, उद्योग व्यवसायको मनोबल उच्च राख्न महत्त्वपूर्ण व्यवस्था गर्यौँ ।
कोभिडको दोस्रो लहर विश्वका अनेकन देशहरूमा सुरु भइसकेको र नेपालमा पनि कोभिड संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको अवस्थामा अब फेरि कोभिडले नेपाली अर्थतन्त्रमा, नेपाली उद्योग व्यवसाय तथा पेसामा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न के–कस्ता पोलिसी आवश्यक पर्छन्, त्यसका लागि वर्कआउट गर्दै छौँ । अबको हाम्रो उद्देश्य भनेको कोभिडले अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न अहिले लिएका पोलिसीहरूलाई कुन हदसम्म जाने भन्ने छ । उद्योग व्यवसाय, अर्थव्यवस्था मेन्टेन गर्न आगामी वर्षका पोलिसीहरू त्यसतर्फ लक्षित हुन्छन् ।
‘विकास बैंकतर्फ २०७७ राम्रै रह्यो’
प्रद्युमन पोखरेल
अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल
समग्रमा विकास बैंकतर्फ २०७७ राम्रै रह्यो । विकास बैंकको व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय पक्षमा राम्रो भएको अवस्था छ । विकास बैंकको संख्या धेरै घटेको छ । राष्ट्रिय स्तरको र क्षेत्रीय स्तरको गरी जम्मा १७ वटामा घटेको अवस्था छ । एकीकरणको प्रक्रियाले विकास बैंक बलिया भएका छन् ।
बितेको वर्ष बजारको स्तर पनि विकास बैंकको हकमा घटेको छैन । त्यसैले समग्रमा राम्रो रहेको मान्छु । कोरोनाको कायमै प्रभाव छ । अहिले कोरोनाको दोस्रो लहर भन्ने आएको छ । यसले गर्दा आर्थिक गतिविधिमा केही संकुचन आयो । आर्थिक गतिविधिमा अवरोध आयो भने यसले सम्पूर्ण बैंकिङ क्षेत्रलाई मात्र नभई अर्थतन्त्रलाई नै असर गर्छ । नयाँ वर्ष २०७८ मा महामारीको अवस्था २०७७ सालजस्तो नहोस्, विस्तारै हाम्रो अर्थतन्त्र बढ्दै जाओस्, मेरो यही कामना छ ।
‘सोचेभन्दा असर कम भयो’
सरोजकाजी तुलाधर
अध्यक्ष, नेपाल वित्तीय संस्था संघ
कोभिडले गर्दा वित्तीय क्षेत्रमा धेरै असर गर्छ भन्ने सोचेको थिएँ, तर त्यस्तो भएन । कोभिडले जति असर गर्यो, गर्यो, तैपनि अर्थतन्त्र चलेकै छ । अहिले विजनेस बढेको अवस्था छ । कोभिडका कारण जुन हिसाबले खराब हुन्छ भन्ने सोचेका थियौँ त्यस्तो देखिएन । वित्तीय क्षेत्रमा मुख्य उपलब्धि भनेको हाम्रो साइडबाट कोरोना प्रभावितलाई कन्ट्रिब्युट गर्न सक्यौँ । हाम्रो सिएससारको फन्डमार्फत कोभिडसित जुध्नका लागि सहयोग गर्यौँ । नीति–नियममा सपोर्ट गर्ने हिसाबले मेट्रो पोलेसी आयो । त्यो मेट्रो पोलेसीलाई सबै सेक्टरले स्वागत गरेको अवस्था छ । त्यसलाई बैंक तथा वित्तीय संस्थाहरूले सपोर्ट गरेका छौँ । त्यसले गर्दा आज इकोनोमी फेरि आफ्नो खुट्टामा उभिन सकेको अवस्था हो ।
आगामी वर्षमा राम्रो हुन्छ भन्ने सोचका छौँ । फेरि पनि लकडाउन भयो भने इकोनोमीलाई असर गर्छ । ‘हेल्थ फर मेन्टेन’ गरेर इकोनोमीलाई ‘अन’ गरिराख्नका लागि लकडाउन नगरी चलाउनुपर्ने देखिन्छ ।
‘राष्ट्र बैंकले ल्याएको प्रावधानलाई ऐतिहासिक रूपमा लिन्छौँ’
वसन्त लम्साल
अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ
२०७७ सालमा बैंकिङ क्षेत्रमा कोरोना महामारीले धेरैलाई असर गर्यो । पहिलो चरणमा केही सुधारका कामहरू हुन थाले पनि पुनः कोरोना बढ्न थालेकाले हामीलाई फेरि त्रस्त बनाउने अवस्था छ ।
लघुवित्तको छुट्टै खालको समस्याभन्दा पनि नेपालको अर्थतन्त्रमा पारेको, सबै जनतामा पारेको असर हाम्रो क्षेत्रमा पनि पर्यो । यस्तै समस्या हाम्रा ग्राहकहरूलाई पनि पर्यो । २०७७ को सबैभन्दा ठूलो चुनौती भनेकै हाम्रा लागि कोरोना नै रह्यो, जुन सबैतिर चासोको विषय र अप्ठ्यारो अवस्था पनि हो । अबका दिनमा कोरोनाको त्रास विस्तारै कम भएर अबको वर्ष केही राम्रो हुन्छ भन्ने हाम्रो अपेक्षा छ । अन्य हिसाबले भने वितेको वर्ष सामान्य नै रह्यो ।
लघुवित्तको क्षेत्रको कुरा गर्दा मान्छेहरूको तिर्ने क्षमता कम भएका कारण ग्राहकलाई ऋण तिर्न अप्ठ्यारो भएको अवस्था थियो । तर पनि सुधार भएको अवस्था छ, विस्तारै सुधारोन्मुख छ । दोस्रो चरणको कोरोनाका कारण शंका र डर बढेको अवस्था छ । केही समयमा कोरोनाको असर पनि कम हुन्छ र २०७८ मा अलि राम्रो हुन्छ कि भन्ने आस गरेका छौँ । जोखिमको पाटो अलि बढेको देखिन्छ । समग्रमा स्टाफहरूको मनोबलको हिसाबले निकै नै अप्ठ्यारो अवस्था रह्यो । नयाँ वर्ष २०७८ मा यस्तो नहोला भन्ने आस गर्दछौँ ।
यो विषम परिस्थितिसित जुध्न नेपाल राष्ट्र बैंकले नयाँ प्रावधानहरू ल्यायो, जसलाई हामी ऐतिहासिक प्रावधानका रूपमा लिन्छौँ । ग्राहकहरूलाई धितो बढाइदिन सक्ने, बैंक तथा वित्तीय संस्थाहरूको मर्जरको प्रोसेसले संख्यात्मक रूपमा घटेर व्यवस्थित हुन लागेको छ । कर्जा सूचनाको सूचना अलि व्यवस्थित हुन लागेको छ ।
लघुवित्त संस्थाहरूलाई फानान्सियल व्यवस्था गरिएको छ । यो वर्षदेखि विभिन्न क्षेत्रमा सुधार भएको छ, तर पनि कोरोनाको दोस्रो लहरका कारण केही जोखिम पनि बढेको अवस्था छ ।