April 12th, 2021

राष्ट्र बैंकको रिपोर्टः उपभोग्य वस्तुको मूल्यवृद्धि ३.०२ प्रतिशत

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात् फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्तातर्फको मूल्यवृद्धि (मुद्रास्फिति) ३.०२ प्रतिशत पुगेको छ। यस्तै  सोही अवधिमा थोकतर्फको मूल्यवृद्धि ६.३० प्रतिशत रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार मूल्यवृद्धिको यस्तो अवस्था देखिएको हो। अघिल्लो आर्थिक वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फिति ६.५७ प्रतिशत र थोक मुद्रास्फिति ६.७० प्रतिशत रहेको थियो।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.८० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.४१ प्रतिशत रहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घिउ तथा तेल, फलफूल, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मूल्यवद्धि कायम भएको छ। २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशतले मूल्यवृद्धि भएको थियो।

यस अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]