
बैंकिङ खबर/धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आउँदो साउन १ गतेबाट आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन् ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै आफ्नै टीएमएस सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएको हो । धितोपत्र कारोबारमा निहीत जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्तय गर्न ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशहरुमा प्रयोग भइरहेको टीएमएस सञ्चालन ल्याउने सम्झौता भएको एसोसिएसनले जनाएको छ । ‘अहिले उक्त प्रणाली कस्टमाइजेसनको काम तीव्र गतिमा अगाडि बढाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ साउन १ बाट यो प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने छन् ।’
विज्ञप्तिमा मल्टी असेट, मल्टी एक्सचेन्ज ट्रेडिङ प्लेटफर्म रहेको उक्त टीएमएसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने दाबी गरिएको छ। साथै, मोबाइल एप्लिकेसनसहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न सहजता प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।