
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले शनिबार र आइतबार रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमार्फत हुने कारोबार नियमित हुने जनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै चैत २८ गते शनिबार र २९ गते आइतबार पनि आरटिजिएस प्रणालीमा नर्मल बिजनेश डे लागु हुने जनाएको हो । शनिबार सार्वजनिक विदा हो भने आइतबार घोडे जात्रा हो । यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा रहेको छ ।
यसको अर्थ बैंक तथा वित्तीय संस्थाले आइतबार र सोमबारको सार्वजनिक बिदामा पनि क्लियरिङ शाखा सदाझैँ खोल्नुपर्नेछ ।
के हो आरटिजिएस प्रणाली ?
रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पैसा स्थानान्तरण (टन्सफर) को विद्युतीय प्रणाली हो । यो प्रणालीमार्फत जुनसुकै बैंकको खातामा रहेको पैसा जुनसुकै बैंकको खातामा केही सेकेन्डभित्रै ट्रान्सफर गर्न सकिन्छ ।
झट्ट हेर्दा आइपिएसलगायत अन्य फन्ड ट्रान्सफर प्रणालीजस्तै लागे पनि यो प्रणालीका केही पृथक् विशेषता छन् । आइपिएसलगायतका प्रणालीको प्रयोग उपभोक्ता आफैँले अनलाइनमार्फत जुनसुकै स्थानबाट गर्न सक्छन् । तर, एसटिजिएस प्रणालीमार्फत पैसा पठाउन ग्राहकले बैंकमै जानुपर्ने हुन्छ । क्लियरिङ हाउसमातहतमा सञ्चालन हुने यो प्रणालीअन्तर्गतको सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र दिन सक्छन् ।
२० लाखभन्दा बढीको कारोबारमा अनिवार्य छ आरटिजिएस
आरटिजिएस प्रणालीमा २ लाखभन्दा बढीको कारोबार हुन्छ । तर, २ लाखदेखि २० लाखसम्मको कारोबारमा आरटिजिएस नै प्रयोग गर्नुपर्ने बाध्यता ग्राहकसामु छैन, किनकि २० लाखसम्मको कारोबारका लागि ग्राहकले आफ्नो सुविधाअनुसार अन्य फन्ड ट्रान्सफर प्रणालीको समेत उपयोग गर्न सक्छन् । तर, २० लाखभन्दा बढीको कारोबारमा भने आरटिजिएस नै एक मात्र विकल्प हो । यो प्रावधानका कारण २० लाखभन्दा बढी रकम कुनै बैंकको खातामा पठाउनुपरेमा ग्राहकले बैंकमा उपस्थित भई आरटिजिएसको फर्म भर्नुपर्छ । यही बाध्यताका कारण नै बिदाको दिन पनि यो प्रणालीलाई खुला राखिएको हो ।
