April 4th, 2021

नेपाल फाइनान्सको छैटौँ शाखा कास्कीको माछापुछ्रेमा, दुई शाखा पाइपलाइनमा

बैंकिङ खबर/  निजी क्षेत्रबाट सञ्चालित देशको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडले कास्कीको माछापुछ्रे गाउँपालिकामा शाखाविस्तार गरेको छ । फाइनान्सले आइतबार (२२ फागुन) आफ्नो छैटौँ शाखाका रूपमा माछापुछ्रे–२, भुर्जुङखोलामा नयाँ शाखाको शुभारम्भ गरेको हो । नयाँ शाखाको आरम्भ संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गर्नुभयो ।

काठमाडौं महानगरपालिका–२८, कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडको स्थापना वि.सं. २०४९ मा भएको हो । संस्थाले केन्द्रीय कार्यालयसहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रूपन्देहीको मुर्गिया र नवलपुरको गैँडाकोट शाखा कार्यालयमार्फत सेवा दिँदै आएकोमा हाल पोखरमा समेत सेवा विस्तार गरेको हो । जनकपुरको धनुषाधाम र मकवानपुरको हेटौँडामा शाखा कार्यालय र काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउन्टरको स्थापना यसै आर्थिक वर्षभित्र गर्ने तयारी रहेको संस्थाले जनाएको छ । तयारीमा रहेका शाखा तथा काउन्टर सञ्चालनमा आएसँगै संस्थाले १० स्थानबाट सेवाप्रवाह गर्नेछ । संस्थाले अत्याधुनिक डिजिटल बैंकिङ सेवाको समेत छिट्टै प्रारम्भ गर्ने गरी तयारी गरिसकेको जनाएको छ ।

आइतबारको शाखा शुभारम्भ कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान, सञ्चालक दीपेश शाक्य, प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतम, माछापुछ्रे गा.पा.–२ का वडाध्यक्ष विक्रम गुरुङ, माछापुछ्रे माध्यमिक विद्यालयका प्राचार्य सन्तोष आचार्यलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालकहरू चन्द्रकुमार राई, राजन प्रजापती, लक्ष्मी महर्जन, नेपाल प्रहरी माछापुछ्रे गा.पा.–२ का चौकी इन्चार्ज प्र.ना.नि. घनश्याम ढकाल, संस्थाका आधारभूत लगानीकर्ता एवम् सफल उद्योग व्यवसायी राजेन्द्र शाक्यलगायतको उपस्थिति रहेको संस्थाले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]