२०७३ श्रावण ३२ गते

कृषि विकास बैंक सुधार्न यस्ता छन्, सीईओ सिटौलाका ‘रणनीतिहरु’

lila prakash sitaula 4लिलाप्रकाश सिटौला कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेका सिटौलाले यसअघि २५ वर्षभन्दा बढि समय नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको पदमा रहेर काम गरिसकेका छन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएसँगै सुरुमा उनी कृषि विकास बैंकमा सञ्चालकको पदमा र विगत २ वर्ष यता बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा नियुक्त भएर कार्यभार सम्हाल्दै आएका छन् । सरकारी होस् या प्राइभेट जुनसुकै संस्थाहरु सञ्चालन गर्दा संस्थाको उद्देश्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका सिटौला हाल कृषि विकास बैंकको सेवा सामान्य कृषकसामु कसरी पुर्याउने भन्ने विषयमा कार्ययोजनाहरु निर्माण र कार्यान्वयनमा लागि परेका छन् । यसैबिचमा बैंकिङ खबर डट कमका लागि सहकर्मि शारदा भण्डारीले बैंकर्स लिलाप्रकाश सिटौलासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

कृषि विकास बैंकमा तपाइँ सिईओ भएर आएपछि के–कस्ता सुधारका कार्यहरु भए ? बुँदागत रुपमा भनिदिनुस् न । 
मानव संसाधन व्यवस्थापन :
जनशक्ति त्यसमाथि दक्ष जनशक्तिविना सरकारी या प्राइभेट कुनै पनि संस्थाले संस्थागत उद्देश्य प्राप्त गर्न असम्भव हुने हुँदा संस्थागत उपलब्धिका लागि उचित समयमा उचित पदमा कर्मचारी चयन हुनु आवश्यक हुन्छ । यहि विषयलाई मध्यनजर गर्दै हामीले सर्वप्रथम लामो समयदेखि अव्यवस्थित रहँदै आएको यस बैंकको कर्मचारी छनौट, भर्ना, सरुवा, बढुवादेखि अवकाससम्मका कार्यहरु व्यवस्थित बनाउनमा लामो होमओर्क गर्यौँ । यसै क्रममा बैंकमा दक्ष जनशक्ति पदपुर्तिका लागि लोकसेवा आयोगको सहभागिता हुने सम्मको व्यवस्था गरियो । त्यस्तै, कर्मचारीको व्यक्तित्व विकास र उत्प्रेरणासम्बन्धि  विभिन्न कार्यक्रमहरु आयोजना गर्दै कर्मचारीको मनोबल बढाउनेसँग सम्बन्धित कार्यहरु गरियो । त्यस्तै मानव संसाधन व्यवस्थापनभित्र रहेका बेथिती, विकृति र विसंगतिलाई हटाएर सभ्य जनशक्ति स्थापनामा सहयोग पुग्ने किसिमका कार्यहरु भए । म यस बैंकको कार्यकारी अधिकृतको भुमिकामा आएपछि भएको जनशक्ति व्यवस्थापनसम्बन्धि कार्य एक उत्पादकत्व र कार्यकुशलतासँग जोडिएको उपलब्धिमुलक तथा संगठनात्मक सुधारको कार्य हो ।

आन्तरिक नियन्त्रण पद्धति :
बैंकको वित्तीय विवरणलाई स्पष्ट गर्नका लागि निकै लामो समयदेखि पेन्डिङमा रहेका हिसाब मिलान र फछ्र्यौटसम्बन्धि अति महत्वपुर्ण कार्य सम्पन्न गरियो ।

बैंकीङ कर भुक्तानी :
राष्ट्रप्रतिको संस्थागत दायित्वमा रहेको कर भुक्तानीसम्बन्धि कार्य पनि बैंकका अन्य कार्यजस्तै धेरै पहिलेदेखि अल्झिएर बसेको थियो । त्यस्तै धेरै कर्मचारीसँग सम्बन्धित कर पनि समस्याकै रुपमा रहेको थियो । देशको आर्थिक पाटोसँग जोडिएको कर भुक्तानी जस्तो महत्वपुर्ण कार्य पनि हाम्रै पहलमा भएका कार्य हुन् । मैले यस बैंकको नेतृत्व गरेपश्चात झण्डै २ अर्व १४ करोड रुपैयाँ बराबरको संस्थागत कर भुक्तानी गरियो, र नेपाल सरकारबाट करमुक्त संस्थाको रुपमा कृषि विकास बैंकलाई परिचित गराइयो । यो कार्यले बैंकको लागि मात्र नभएर समग्र राष्ट्रको लागि नै फाइदा भएको छ ।
 
कर्मचारी दायित्व निर्धारण :
विगतका बर्षहरुमा कर्मचारीको दीर्घकालीन दायित्वका विषयमा कुनै व्यवस्था गरिएको थिएन । हाल कर्मचारीको दीर्घकालीन दायित्वलाई लेखांकृत रुपमा तयार पारिएको छ । अझ भनौँ, कर्मचारीको वार्षिक दायित्वलाई बैंकले स्पष्ट रुपमा छुट्याइदिएको छ । बैंकले कर्मचारीको दीर्घकालीन दायित्व व्यवस्था गरेसँगै कर्मचारीले निर्धक्कका साथ काम गर्न पाएका छन् भने कर्मचारी र मेनेजमेन्ट पक्ष विचमा रहेको मिसअन्डरस्टेन्डिङ पनि दुर हुँदै गएको छ ।

शाखा पुनस्र्थापना तथा नयाँ शाखा विस्तार :
द्धन्द्धकालको समयमा तथा भुकम्पका कारण हाम्रो बैंकका धेरै शाखाहरु विस्थापित भएका थिए । जसको कारण शाखा विस्थापित भएका क्षेत्रका जनताहरुले निक्कै लामो समयसम्म बैंकसँगै बैंकिङ सेवाबाट पनि विस्थापित हुनु परेको थियो । मैले बैंकको नेतृत्व गरेको निक्कै छोटो समयमा नै विस्थापित भएका स्थानहरुमा बैंकका शाखा पुनस्र्थापना गरि त्यहाँका नागरिकलाई बैंकीङ सेवा प्रदान गरियो । शाखा पुनस्र्थापनासँगै नयाँ स्थानहरु जहाँ बैंकीङ पहुंच पुग्न सकेको छैन, त्यस्ता ग्रामीण तथा विकट स्थानहरुमा बैंकको नयाँ शाखाहरुको स्थापना गरि कृषि विकास बैंकको उद्देश्य प्राप्तिका लागि काम गरियो । यो कार्य पनि म यस बैंकमा आएपछिको अत्यन्तै महत्वपुर्ण कार्य हो ।

सूचना प्रविधिको विस्तार :
समयको मागसँगै आज सूचना प्रविधिको आवश्यकता र महत्व अत्यन्तै बढिरहेको छ । त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरुका लागि त सूचनाको प्रविधि अपरिहार्य हुँदै आइरहेको छ । नेपालको सन्दर्भमा प्राइभेट बैंकहरुको तुलनामा सरकारी बैंकहरु प्रविधि विस्तार र विकासको पाटोमा निक्कै नै पछाडि रहेका छन् । यसले सरकारी बैंक, उपभोक्ता र समग्र देशको आर्थिक विकासमा नै असर पुर्याइरहेको हुन्छ । कृषि विकास बैंक पनि सरकारी स्वामित्वमा रहेको बैंक हो । बैंकको पहुंचलाई देशको कुना कुनासम्म पुर्याउने उद्देश्यअनुरुप सूचना प्रविधि विस्तारको आवश्यकतालाई मनन गर्दै हालैका दिनहरुमा व्यापक रुपमा बैंकीङ सूचना प्रविधिको विकास, विस्तार र सुधारका कार्यहरु भइरहेका छन् । यसअघि ९० ओटा मात्र शाखाहरु सिबीएसमा कनेक्टेड थिए । तर पछिल्लो समयमा १४८ ओटा शाखा सिबीएस जडित शाखा भएका छन् । त्यस्तै हिजोका दिनमा बैंकमा देखा परेका आइटि समस्याहरुको पहिचान र समाधानका लागि धेरै कार्यहरु भएका छन् । यसले गर्दा केहि हदसम्म बैंकको जोखिम पनि न्युन भएको छ । त्यस्तै, हामीले एसएमएस बैकीङ सेवा सुरु गर्यौँ, एटीएम सेवा पनि विस्तार गर्यौँ र अझै पनि गर्ने क्रममा छौँ । भिसा कार्ड फाइनल स्टेजमा पुगिसकेको छ । 

अन्य कार्य :
बैंकको लेखापद्धतिमा सुधार, जोखिम कर्जा न्युनिकरणका लागि गरेको पहल, अन्य बैंक तथा वित्तीय संस्थाहरुको गाइडलाइनसम्बन्धि कार्य  यस बैंकमा मैले कार्यकारी अधिकृतको पद सम्हालेपश्चात भएका कार्यहरु हुन् । 

lila prakash sitaulaबैंकिङ पहुंच सामान्य कृषकसम्म पुर्याउने उद्देश्यअनुरुप कृषि विकास बैंकको स्थापना भएको हो । ठ्याक्कै भन्दा, यो बैंकले कृषिमा कति प्रतिशत लगानी गरेको छ ?
कृषि बैंक वाणिज्य बैंक भएसँगै यो बैंकले कृषिमा मात्रै हैन अन्य क्षेत्रहरुमा पनि लगानी बढाइनुपर्छ भन्ने एक किसिमको अन्यौलता जस्तै स्थिति हिजोका दिनहरुमा पनि नआएका हैनन् । तर कृषि विकास बैंक मात्र त्यस्तो बैंक हुन सक्छ, जसले सामान्य कृषक र कृषि क्षेत्रका लागि काम गर्न सक्छ भन्ने मेरो मान्यता अनुरुप हामीले कृषि क्षेत्रलाई नै लगानीको प्राथमिकतामा राखेका छौँ । हाम्रो बैंकको व्यवसायको क्षेत्र पनि कृषि नै हुनुपर्छ । विषेशगरी बैंकका कर्मचारीको ध्यान पनि कृषि क्षेत्रमै हुनुपर्छ र प्रतिष्पर्धाको क्षेत्र पनि कृषि नै हुन सक्छ भन्ने मेरो सिद्धान्त छ । हामीले यहि सिद्धान्तको अवलम्वन गर्दै व्यवसायिक तथा साना दुबै कृषि क्षेत्रलाई हाम्रो बैंकमा सहभागि गराउने र बैंक पनि सहभागि हुने प्रण गरेका छौँ । ठ्याक्कै भन्नुपर्दा, अहिले हाम्रो बैंकको सम्पूर्ण लगानीमध्ये ३२ प्रतिशत लगानी कृषि क्षेत्रमा भएको छ । 

कृषि विकास बैंकले सामान्य किसानका लागि काम गर्न सकेन भन्ने आरोप छ । यसका विषयमा तपाइँ के भन्नुहुन्छ ?
अब यस विषयमा चाहिँ म सबैलाई के विश्वस्त गराउन चाहन्छु भने, हामी आफैँ पनि साना किसानमाझ पुगेका छौँ । हामीले सेवा दिँदै गर्दा कतिपय कृषककहाँ हाम्रो सेवा पुग्न नसक्ला भनेर सबैलाई समान रुपमा सेवा प्रदान गर्ने उद्देश्यअनुरुप साना किसान विकास बैंकमा ३० प्रतिशत लगानी हामीले गरेका छौँ । हुनसक्छ, कतिपय कार्यमा हामी किसानको सेवामा चुक्यौँ होला तर कृषि विकास बैंक तपाईँ कृषक र तपाइँहरुकै पेशा कृषिमा सहजता भित्र्याउनका लागि स्थापना भएको बैंक हो । त्यसैले हामी सदैव तपाईँहरु जस्तै सामान्य किसानको लागि काम गर्दै जानेछौँ ।

कृषि विकास बैंकले ३२ प्रतिशत लगानी कृषिमा गरेको छ । तर नेपाल जस्तो कृषिप्रदान देशमा अन्य वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको न्युनतम प्रतिशत पनि कृषि क्षेत्रमा लगानी गर्न सकेका छैनन् । यसको कारण के होला ?
पक्कै पनि तपाइँले भने जस्तै हाम्रो देश मुलुकमा एक कृषिप्रदान देश भनेर परिचित छ । तर विडम्वना यस्तो छ कि, यहाँ कृषि पेशा र कृषकको कुनै पनि सम्मान छैन । त्यसैले यस्तो विडम्वनालाई हटाउनका लागि हामीले सबैभन्दा बढि लगानी कृषि क्षेत्रमा गरेका हौँ । अब अन्य बैंकको कृषि लगानीको कुरा गर्दा कृषिका लागि उपयुक्त स्थान भनेको हिमाल, पहाड र तराईका ग्रामीण भेगहरु नै हुन् । यस्ता दुर ग्रामीण क्षेत्रहरुमा अन्य वाणिज्य बैंकहरुको नेटवर्क नै पुगेका छैनन् । कृषि विकास बैंक मात्र एउटा यस्तो बैंक हो, जसको शाखाहरु नेपाल अधिराज्यभरका हिमाल, पहाड र तराईका कुनाकन्दरासम्मका भेगहरुमा विस्तार भएका छन् । हाम्रो बैंकको उद्देश्य नै कृषिको विकास र कृषकको सेवा हो । हाम्रो बैंकको विगतदेखिकै अभिमुखिकरण र अनुभव कृषि क्षेत्रमा भएकाले हाम्रा बैंकका कर्मचारी कृषकसँगै व्यवसाय गर्न अभ्यस्त छन् । यसबाहेक हाम्रो बैंकले सानो सानो मात्रामा ऋणको पोर्टफोलियो प्रदान गर्छ, जुन ग्रामीण भेगका ग्राहकलाई सुहाउँदो हुन्छ । जुन किसान कृषि स्रोत तथा साधनबाट वञ्चित छ उसलाई आवश्यक स्रोत तथा साधन उपलब्ध गराउनु हाम्रो बैंकको दायित्व भएकाले पनि हामी गाउँमुखि भएर कार्य गरिरहेका छौँ । हाम्रा ग्राहक पनि ग्रामीण नागरिक नै बढि छन् । तर अन्य बैंकहरुको सवालमा अहिले जम्मा लगानीको ५÷६ प्रतिशत मात्र कृषि क्षेत्रमा लगानी गरेका छन् । जबकी राष्ट्र बैंकले प्रत्येक वाणिज्य बैंकले १२ प्रतिशत लगानी कृषिमा गर्नुपर्ने व्यवस्था गरेको छ ।  

यहाँ एउटा सरकारी स्वामित्वमा रहेको बैंकको नेतृत्वमा हुनुहुन्छ । तपाइँलाई के लाग्छ, सबै वाणिज्य बैंकहरुले केन्द्रिय बैंकले तोकेको मितिसम्ममा ८ अर्व चुक्ता पुँजी पुर्याउन सफल होलान् ? तपाइँको बैंकको पुँजी योजना राष्ट्र बैंकलाई बुझाइसक्नुभयो ?
मेरो विचारमा अहिले जति पनि वाणिज्य बैंकहरु संचालनमा छन्, तिनिहरुमध्ये सबै बैंकहरुले राष्ट्र बैंकले तोकेको पुँजी तोकेको समयसम्म पुर्याउन सफल हुन्छन् जस्तो लाग्छ । किनकि जुन बैंकहरु पुँजीगत हिसाबले बलिया छन्, त्यस्ता बैंकहरुले आफ्नो बैंकको पुँजी योजना राष्ट्र बैंकलाई बुझाइसकेका छन् । यसबाहेक जुन बैंकहरु पुँजीगत हिसाबले कमजोर छन्, या आफ्नो संस्थाको मात्र पुँजीले ८ अर्व पुर्याउन मुस्किल छ, त्यस्ता बैंकहरुलाई विकल्पको रुपमा राष्ट्र बैंकले मर्जर तथा एक्वीजीसन नीति छुट्याइदिएको छ । अहिले प्रायः बैंकहरु हकप्रद सेयर जारी गरी पुँजी संकलन गर्ने अभियानमा लागेका छन् । त्यसैले वाणिज्य बैंकहरु यो नीति पालनाबाट दायाँबायाँ लाग्लान् जस्तो मलाइ लाग्दैन । अब हाम्रो बैंकको बारेमा कुरा गर्दा यो बैंक ५१ प्रतिशत सरकारी स्वामित्व र बाँकि ४९ प्रतिशत चाहिँ नेपाली जनताको स्वामित्व रहेको बैंक हो । त्यसैले नेपाल सरकारको तर्फबाट बेहोर्नुपर्ने पुँजी सरकारले हामीलाई उपलब्ध गराउने स्विकृति हामीले पाइसकेका छौँ । यसमा कुनै आपति भएन । यसबाहेक सर्वसाधारणबाट उठ्ने रकममा २ः१ को राइट सेयर र वोनस सेयर दिने भनेका छौँ । त्यस्तै हाम्रो बैंकले २०÷२० प्रतिशतले २ पटक बोनस सेयर जारी गरेसँगै हाम्रो बैंकको पुँजी राष्ट्र बैंकले तोकेको भन्दा धेरै बढि हुन्छ । त्यसैले हाम्रो बैंकलाई राष्ट्र बैंकले तोकेको समयमा पुँजी ढुक्कका साथ पुग्छ । हाम्रो बैंकको पुँजी योजना केहि समय पहिले नै राष्ट्र बैंकलाई बुझाइसकेका छौँ । र यसका बारेमा नेपाल सरकार र नेपाल स्टक एक्सचेन्जमा पनि अभिलेख भइसकेको छ । 

lila prakash sitaula 7गत सातादेखि लागु हुने गरी राष्ट्र बैंकले जारी गरेको ब्याजदर करिडोरका विषयमा के भन्न चाहानुहुन्छ ?
व्याजदर कोरिडोर एक वित्तीय लिटरेचर भएकाले यसले समग्र वित्तीय क्षेत्रकै भलाइका लागि काम गर्छ । वित्तीय क्षेत्रमा सुधार ल्याउनका लागि र व्याजदरमा स्थायीत्व ल्याउनका लागि राष्ट्र बैंकले यो व्यवस्था आजभन्दा धेरै पहिले लागु गरिसक्नुपर्ने थियो । तर ढिलै भएपनि व्याजदर कोरिडोर प्रणाली लागु भएको छ । यसले वित्तीय बजारमा देखिएको अधिक तरलता व्यवस्थापनका लागि सहयोग मात्र पुर्याउँदैन, बैंकीङ व्यवसायको अति महत्वपुर्ण साधनको रुपमा रहेको व्याजदरलाई एक सीमाभित्र राख्ने काम पनि गर्छ । व्याजदर कोरिडोर लागु भएपश्चात सामान्य नारिकले पनि सहज रुपमा पैसाको मुल्य(व्याजदर) को गतिका बारेमा जानकारी प्राप्त गर्न सक्छन् । यसर्थ, राष्ट्र बैंकले लागु गरको व्याजदर कोरिडोरले बैंक, व्यवसाय, व्यासायी, सर्वसाधारण र समग्र देशको आर्थिक पक्षलाई सकारात्मक प्रभाव पार्छ । 

कमर्सियल बैंकहरुको तुलनामा सरकारी बैंकहरु प्रविधि भित्र्याउनमा पछाडि परेका छन् । यसको कारण के हो ?
प्राइभेट बैंकहरुको संचालन पद्धति अति सहज छ । तर सरकारी बैंकको हकमा संचालन प्रक्रिया कठिन छ । यो एक मुख्य कारण हुन सक्छ । त्यस्तै सरकारी बैंकहरुका नीति नियम कार्यान्वयनदेखि लिएर सबै प्रक्रियाहरु झन्झटिला हुन्छन् । यसकारण पनि प्राइभेट बैंकहरुको तुलनामा सरकारी बैंकमा आधुनिक प्रविधिहरु भित्रिन सकेका छैनन् । कृषि विकास बैंक अघिल्ला वर्षको तुलनामा प्रविधिको क्षेत्रमा निक्कै नै अगाडि बढिसकेको छ । बैंकको पहुंचलाई देशको कुनाकुनासम्म पुर्याउने उद्देश्यअनुरुप सुचना प्रविधि विस्तारको आवश्यकतालाई मनन गर्दै हालैका दिनहरुमा व्यापक रुपमा बैंकीङ सुचना प्रविधिको विकास, विस्तार र सुधारका कार्यहरु भइरहेका छन् । हाम्रा १४८ ओटा शाखा सिबीएस जडित छन् । त्यस्तै हिजोका दिनमा बैंकमा देखा परेका आइटि समस्याहरुको पहिचान र समाधानका लागि धेरै कार्यहरु भएका छन् । यसर्थ, अब विस्तारै सरकारी बैंकहरु पनि प्रविधिमुखि हुँदै गएका छन् । 

कृषि विकास बैंकले ग्राहकलाई प्रदान गर्ने सेवालाई पछिल्लो समय फराकिलो बनाउँदै  गइरहेको छ । भोलिका दिनमा जनतालाई सेवा दिनका लागि यहाँको के कस्ता योजनाहरु छन् ?
नेपाल सरकारले प्रस्तुत गरेका कृषि विकासका योजनालाई साथ दिएर स्रोत तथा साधनलाई व्यवस्थित ढंगबाट परिचालन गरि वित्तीय साक्षारताका लागि सामाजिक अभिमुखिकरण सहितको कार्यक्रमहरु गर्ने हाम्रो बैंकको योजना छ । विषेशतः कृषि र कृषकको हकहितमा सेवा प्रदान गर्नेतर्फ हाम्रो बैंक लाग्ने छ । अबका दिनमा संस्थागत सुधार, प्रविधि विकास र नयाँ प्रोडक्ट भित्र्याउने किसिमका योजनाहरु हाम्रो बैंकको छ ।