
बैंकिङ खबर/ देशमा अर्थतन्त्रलाई फोकस गरेर राजनीति गर्न नजान्दाको परिणाम नै अहिले भोग्नुपरेको छ । राजनीति गर्नेहरुले जनताका जीवनस्तर उकास्न सक्ने, उद्यमशीलताको विकास गर्न सम्ने र अर्थतन्त्रमा कायापलट आउन सक्ने नीतिहरु बनाउन सकेनन् । साथै लगानीको वातावरण अहिलेको प्रमुख समस्या बन्दै जाँदा देशबाटै पुँजी पलायन हुन थालेको छ ।
यही बीचमा अर्थतन्त्र सुधार गर्न गभर्नरले गरेका प्रयासहरुले केही आशाहरु जगाएका छन् । गभर्नर डा. विश्वनाथ पौलेलका कार्यहरु र उनका अभिव्यक्तिहरुको शिक्षामन्त्री महावीर पुनले पनि तारीफ गरेका छन् । गभर्नर पौडेलले बैंकवित्त मात्रै होइन उद्यमशीलता, व्यबसायी र समग्र अर्थतन्त्रका बारेमा सकारात्मक पहलहरु अघि बढाएको पाइन्छ । पछिल्लो समय जेन्जी आन्दोलनका कारण अर्थतन्त्रमा निराशाा छाएको छ । यो अबस्थालाई चिर्नका लागि गभर्नर पौडेलका भनाई र गराईले अर्थतन्त्रमा केही आशा जगाएको छ ।
शीप, तालीम र अबसर
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ऋण प्रवाह मात्रै व्यवसायिक सफलताको ग्यारेन्टी नहुने भन्दै उद्यमशीलता विकास, तालिम अबसरहरु सृजना गर्ने कुरा अघि सारेका छन् । यसैगरी व्यबसायलार्य कालो सुचिमा राख्दैमा कर्जा नउठ्ने उनले बताएका छन् । अहिलेको अबस्थामा दृढ संकल्प लिएर अघि बढ्न र आत्मबल बलीयो बनाउन उनले उद्यमी एवं व्यबसायीहरुलाई पनि ढाढस दिँदै आएका छन् । उनले कही समय अघि प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि व्यवसायी वा किसानमा सीप र क्षमता अभाव भएको खण्डमा ऋणको माग नै नआउने बताएका थिए ।
“मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन,” भन्ने उदाहरण दिँदै उनले भने, “ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन।” उनले मुलुकको आर्थिक विकासको अगुवाई गर्न वित्तीय नीतिले नेतृत्व लिनुपर्नेमा जोड दिए। “देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो। वित्त नीतिले लिड लिए मात्रै हामीले कदममा कदम मिलाउने हो,” गभर्नर पौडेलले भने।
पौडेलले केन्द्रीय बैंक परम्परागत रूपमा बैंकको ब्यालेन्स सिट हेर्ने निकायका रूपमा सीमित रहेको उल्लेख गर्दै पछिल्लो सय वर्षमा मात्रै अर्थशास्त्रीय हस्तक्षेप गर्न थालेको बताए। उनले पछिल्ला तीन दशकमा बैंकबाट ऋण प्रवाहका विविध प्रयोग गरिए पनि, त्यसको प्रभावकारिता व्यवसायीक सफलता र उत्पादनमा निर्भर रहने स्पष्ट पारे।
उच्च मनोवलले काम गर्न व्यबसायीलाई उत्प्रेरणा दिँदै
गभर्नर पौडेलले उच्च मनोवलका साथ काम गर्न, लगानी गर्न र नयाँ टेक्नोलोजी अनुसार अघि बढन व्यबसायीहरुलाई आग्रह गर्दै आएका छन् । विभिन्न कार्यक्रमहरुमा र उद्योगी व्यबसायीसँगको भेटमा उनले उच्च मनोबलले मात्रै अहिलेको अर्थतन्त्र उकास्न सकिने बताउने गरेका छन् । उनले हामीसँग पैसा पनि छ, सुशासन पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ, हामी किन दुःखी हुनुपर्यो भन्दै नेपालीहरू संसारभरि दक्ष जनशक्तिका रुपमा स्थापीत भएको भन्ने कुरा उठाएका छन् । हरेक कुरा हामीमै निर्भर रहने भन्दै उनले सम्पूर्ण काम र आर्थिक क्रियाकलापमा पनि मनोबल उच्च राख्न आग्रह गरीरहेका छन् । उनले भनेका छन् ‘ मलाई लाग्छ, सरकारको सन्देश पनि त्यही हो, केन्द्रीय बैंकबाट त म यो कुरा तपाईंहरूलाई सधैँ भन्छु, कहिलेकाहीँ हामीसँग पैसा पनि हुन्छ, तर मनोबल एकदमै कम हुन्छ अहिले पैसा छ, अहिले हामीले बाहिर गएर माग्न पनि पर्दैन।’ उनले सरकारले साँच्चै खोज्न जाने हो भने २.७५ प्रतिशत ब्याजदरमै रकम पाइने हुँदा अहिलेको अबस्था एउटा अबसर पनि भएको बताएका छन् ।
अहिले नेपाली बैंकहरूमा कतिपय समस्या आएको उल्लेख गर्दै उनले पुरानो व्यवसायिक घरानाहरूलाई पुरानो कर्जा तिर्न र नयाँ सस्तो दरको कर्जा लैजान आग्रह गरे । तर पुरानो ऋण भुक्तानी नगर्ने, ऋण तिर्नलाई अर्को ऋण लिने काम गर्दा आफैलाई नोक्सान हुने उनले उल्लेख गरे । उनले कुनै उद्योग वा कुनै फर्महरूले काम गरिरहेको छैन भने, त्यसलाई छाडेर नयाँ व्यबसायमा होमीन पनि आग्रह गरेका छन् । । पुरानै संरचना र पुरानै तरीकाको उद्योग संरक्षण गरिराख्न जरुरी नभएको उनको भनाई छ । (‘तपाईंहरूले हरेक कुरामा पुनर्संरचना मात्रै भनिराख्नु हुँदैन, अनुकूलन भएन भने छाडेर अर्को सुरु गर्न पनि सक्नुपर्छ ’ उनले भनेका छन् ।
निजी क्षेत्रबाट धेरै मागहरू नियमित रूपमा आएको उल्लेख गर्दै गभर्नर पौडेलले राष्ट्र बैंकबाट सकेसम्म सबैलाई सम्बोधन गर्ने प्रयास गरेको बताए । उद्योगी र व्यबसायीहरु कालो सूचिमा पर्ने काम आफूलाई निकै नमज्जा लाग्ने गरेको उल्लेख गर्दै उनले एकदम ठूलो सङ्ख्यामा कालोसूचीमा परेको विषयलाई आफूले चिन्ताको रूपमा लिएको बताएका छन् ।

८० प्रतिशत कर्जाको परिपत्र
जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा क्षति भएका सवारी तथा ढुवानीका साधन पुन आबश्यक परेर खरीद गर्नका लागि कर्जाको मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्नेगरी केन्द्रीय बैंकले केहीसमय अघि परिपत्र जारी गरेको थियो । जेन्जी आन्दोलनमा मोटर गाडिको एकिन क्षेति विवरण कुनै संस्थाले उल्लेख गरेको छैन । तथापि बीमा दावी हेर्ने हो भने बिमातर्फ एक हजार सात सय ७८ वटा मोटर गाडिको बीमा दावी पेश गरिएको जनाइएको छ ।


गभर्नर पौडेलले बैंकवित्तको कर्जा तिर्न नसक्नेलाई कालो सूचिमा राख्दैमा समस्या समाधान नहुने भन्दै यसको समाधानका उपाय खोज्ने पनि बताएका छन् ।
अर्थतन्त्रलाई गतिशील बनाउन कानुनी स्पष्टता अत्यन्तै आवश्यक
गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन कानुनी स्पष्टता अत्यन्तै आवश्यक रहेको कुरा उठान गरेका छन् । उनले पछिल्लो अस्थिर राजनीतिक अवस्थाबीच कानुनको अस्पष्टताले आर्थिक गतिविधिमा थप जटिलता ल्याउने औंल्याएका छन् ।
जेनजी आन्दोलन र पुनर्निर्माणको चुनौती
भदौ २३–२४ गतेको ‘जेनजी आन्दोलन’ले मुलुकका कैयौँ सरकारी संरचना, बैंक शाखा, एटिएम र निजी व्यापारिक भवनमा ठूलो क्षति पुर्याएको छ। पौडेलले आन्दोलनपछिको अवस्थाबारे जानकारी दिंदै पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक भए पनि अझै महत्वपूर्ण कुरा सुशासन र प्रशासनिक कार्यक्षमता सुधार हुने उनले बताएका छन् ।
उनका अनुसार, आन्दोलनका क्रममा देशभर ६८ वटा बैंक शाखा र ६९ वटा एटिएम तोडफोड भए। सबैभन्दा ठूलो क्षति संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा भएको हो, जहाँ करिब ३८ करोड रुपैयाँ बराबरको नगद र सुन नोक्सानी भएको छ।
यद्यपि, उनले सम्पूर्ण वित्तीय प्रणाली सुरक्षित रहेको प्रस्ट्याए। “कसैको खातामा क्षति भएको छैन, लकर सुरक्षित छन्, सम्पूर्ण प्राविधिक प्रणाली पनि अक्षुण्ण छ,” उनले भने।
गभर्नर पौडेलका अनुसार अर्थतन्त्रको दिगो विकासका लागि तीन पक्ष अपरिहार्य छन् :
१. राजनीतिक स्थायित्व
२. लगानीमैत्री वातावरण
३. निजी क्षेत्रको मनोबल अभिवृद्धि