April 3rd, 2021

छिमेक लघुवित्तको गौरव : लगातार पाँचौँपटक उत्कृष्ट करदाता (विश्लेषण)

बैंकिङ खबर/  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड लगातार पाँचौँ वर्ष पनि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७५/७६ मा लघुवित्त तथा सहकारी क्षेत्रमा सबैभन्दा बढी कर तिरेबापत आन्तरिक राजस्व विभागले संस्थालाई सम्मानित गरेको हो । नवौँ कर दिवसका अवसरमा आयोजित समारोहका बीच छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलराज शर्मा जोशीले सम्मानपत्र ग्रहण गर्नुभयो ।

तीव्र व्यावसायिक प्रतिस्पर्धाका बीच सर्वोत्कृष्ट प्रदर्शन गर्नु र त्यसलाई निरन्तर टिकाइरहनु निकै चुनौतीपूर्ण छ । छिमेक लघुवित्तको यो प्रदर्शनले संस्थाको दिगो वृद्धिको यात्रा, संस्थागत सुशासन र वित्तीय कौशललाई संकेत गर्दछ ।

लगातार ६ वर्षसम्म मुनाफामा पहिलो, सातौँमा पनि अगाडि

सञ्चालनमा रहेका लघुवित्त तथा सहकारी संस्थामध्ये सबैभन्दा बढी मुनाफा आर्जन गरी सोबापत तिरेको करका आधारमा विभागले उत्कृष्ट करदाता छनोट गर्ने गर्दछ । यसको अर्थ छिमेक लघुवित्तले यो क्षेत्रमा लगातार पाँच वर्षदेखि मुनाफाको दृष्टिले सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

आव २०७६/७७ को कर भुक्तानीलाई आधार मानेर आगामी वर्ष उत्कृष्ट करदाता छानिँदा पनि छिमेकले नै पाउने निश्चितप्रायः छ । संस्थाले गत आवमा पनि अन्य लघुवित्त र सहकारीलाई मुनाफा र कर भुक्तानीमा पछि पारेको थियो । चालु आर्थिक वर्षको हालसम्मको रिपोर्टमा पनि छिमेक लघुवित्त नै अगाडि भएकाले अबका दुई वर्षसम्म उत्कृष्ट करदाताको सम्मान छिमेक लघुवित्तले नै रक्षा गर्ने देखिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा संस्थाले ७४ करोड ६६ लाख ७३ हजार ९ सय ३६ रूपैयाँ खुद मुनाफा कमाएको थियो । तर, आव २०७६/७७ मा भने संस्थाको आम्दानीमा ११.३२ प्रतिशतले कमी आई ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ मुनाफा आर्जन गर्‍यो । यस अवधिमा निक्षेपतर्फ भने लघुवित्तले २१.३१ प्रतिशतले वृद्धि गरेको थियो । गत वर्ष कोभिड १९ को महामारीले आम्दानीमा असर पुर्‍याएको हो । यस चालु आवको प्रारम्भमा महामारीले केही असर पुर्‍याए पनि हाल व्यवसाय लयमा फर्किसकेको लघुवित्तका प्रशासन तथा कानुन विभाग प्रमुख एवम् सूचना अधिकारी दीपक पाण्डेले बताउनुभयो ।

‘हामी करिब करिब लकडाउन सुरु हुनुभन्दा अघिको अवस्था (गत वर्षको चैत) मा फर्किसकेका छौँ,’ पाण्डेले बैंकिङ खबरलाई भन्नुभयो, ‘अहिले हाम्रो खराब कर्जा १ प्रतिशतभन्दा कम (०.९ प्रतिशत) छ । यतिवेला छिमेक लघुवित्तको व्यवसाय राम्रो गतिमा विस्तार भइरहेको छ ।’

महामारीका कारण सबैजसो व्यावसायिक क्षेत्र र आम उपभोक्ताको आयस्रोत प्रभावित भएको समयमा पनि अधिकांश लगानी विनाधितो गर्ने संस्थाको खराब कर्जा १ प्रतिशतभन्दा कम हुनुले पनि संस्थाको वित्तीय कौशललाई पुष्टि गर्दछ ।

निक्षेप, कर्जा र लगानी

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लघुवित्तले २१ अर्ब २२ करोड ९९ लाख ८१ हजार ९ सय ४१ रूपैयाँ निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने लघुवित्तले फागुन मसान्तसम्म २५ अर्ब ९० करोड ५ लाख ९४ हजार २ सय ४० रूपैयाँ लगानी गरेको छ ।

संस्थाले आव २०७५/७६ मा संस्थाले कुल १५ अर्ब ३८ करोड ७३ लाख २६ हजार २ सय २६ रूपैयाँ निक्षेप संकलन गरी १९ अर्व ५२ करोड ७ लाख ३८ हजार ४ सय ५३ कर्जाप्रवाह गरेको थियो । आव २०७६/७७ मा संस्थाले १८ अर्ब ६६ करोड ५९ लाख ६३ हजार ६ सय ३० रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ८५ करोड ६१ लाख ८६ हजार ८ सय ५२ कर्जाप्रवाह गरेको थियो ।

संस्थाले सरकारी ट्रेजरी बिल, संगठित संस्थाको शेयर र मुद्दती निक्षेपमा समेत लगानी गर्दै आएको छ । आव २०७५/७६ मा जम्मा १३ करोड ९२ लाख ८५ हजार ३० रूपैयाँ यस्तो लगानी गरेको संस्थाले आव २०७६/७७ मा ३१४८.२७ प्रतिशतले वृद्धि गरी कुल ४ अर्ब ५२ करोड ४३ लाख ६० हजार लगानी गरेको थियो ।

शाखा, जनशक्ति र ग्राहक

छिमेक लघुवित्तले देशका सातवटै प्रदेशमा वित्तीय सेवा दिइरहेको छ । फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशभर लघुवित्तका १ सय ४९ वटा शाखा सञ्चालनमा छन् । यति ठूलो शाखासञ्जालमार्फत गाउँ–गाउँमा छरिएर रहेको पुँजीलाई राष्ट्रिय अर्थतन्त्रको मूल धारमा जोड्ने काममा १ हजार २ सयभन्दा केही बढी संख्यामा जनशक्ति खटिएको लघुवित्तका सूचना अधिकारी पाण्डेले बताउनुभयो । लघुवित्तका देशभर करिब ४ लाख ग्राहक छन् ।

डिजिटलाइजेसनको अवस्था

लघुवित्त क्षेत्रमा डिजिटलाइजेसन सुरु गर्ने छिमेक लघुवित्त नै पहिलो भएको पाण्डेले बताउनुभयो । ‘गत फागुनमा हामीले गभर्नरज्यूलाई निमन्त्रणा गरेर सदस्यहरूलाई क्युआर कोड तथा डिजिटल कार्ड उपलब्ध गराएका थियौँ । ग्राहकले त्यो कार्डमार्फत अहिले घर–घरबाटै आफ्नो बुझाउनुपर्ने रकम ई–सेवामार्फत बुझाउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा दूरजराजमा रहेका सदस्यहरूको हात–हातमा हाम्रा कर्मचारीमार्फत कार्ड उपलब्ध भइसकेको छ र उहाँहरूले त्यसको उपयोग गरिरहनुभएको अवस्था छ ।’

लघुवित्तले विद्युतीय बसमार्फत दूरदराजका गाउँहरूमा ग्राहकलाई वित्तीय शिक्षा उपलब्ध गराउँदै आएको पाण्डेले जानकारी दिनुभयो । संस्थाले व्यवसाय विस्तार सँगसँगै वित्तीय साक्षरता अभिवृद्धिलाई समेत अघि बढाइरहेको उहाँको भनाइ छ ।

७० लाखबाट १ अर्ब ८३ करोड पुग्यो चुक्तापुँजी

स्थापनाकालमा ७० लाखबाट सुरु भएको संस्थाको हालको कुल चुक्तापुँजी १ अर्ब ८३ करोड (गत वर्षको बोनसपछि) छ । गत वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस दिनुअघि संस्थाको चुक्तापुँजी डेढ अर्ब थियो । अधिकृत पुँजी २ अर्बबाट ३ अर्ब पुर्‍याउन साधारणसभाले प्रस्ताव पारित गरिसकेको छ । अन्य संस्थासित मर्जर वा एक्विजिसनमा जानसमेत साधारणसभाले बाटो खोलिसकेको छ । लघुवित्तले २८ भदौ २०५८ मा कारोबार सुरु गरेको थियो ।

संस्थामा कसको कति हिस्सेदारी ?

छिमेक लघुवित्तमा तीनवटा ठूला वाणिज्य बैंकको लगानी छ । संस्थागत लगानीतर्फ समाज सेवा संस्थाको ठूलो हिस्सेदारी छ । त्यस्तै, निजी प्रवर्धक र सर्वसाधारणको पनि संस्थामा शेयर छ । यसमध्ये सर्वसाधारणको हिस्सा सबैभन्दा बढी छ ।

संस्थामा शेयर अनुपात
१. छिमेक समाज सेवा संस्था – १२ प्रतिशत
२. नबिल बैंक लिमिटेड – ११.९८ प्रतिशत
३. हिमालयन बैंक लिमिटेड – ११.९८ प्रतिशत
४. बैंक अफ काठमाण्डू लिमिटेड – ९.१४ प्रतिशत
५. निजी प्रवर्धक शेयर होल्डर – १४.९९ प्रतिशत
६. सर्वसाधारण शेयर होल्डर – ३८.९१ प्रतिशत

संस्थाको १ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ । दोस्रो बजारमा कम्पनीको पछिल्लो (बिहीबारको) कारोबार मूल्य प्रतिकित्ता १ हजार ६ सय ५४ रूपैयाँ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]