सबै ‘क्युआर कोड’लाई एकै ठाउँमा आबद्ध गर्नुपर्छ : दीपेश मास्के, सिइओ, एससिटी

दीपेश मास्के
निमित्त प्रमुख कार्यकारी अधिकृत, एससिटी

स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेड नेपालको एक मात्र स्वदेशी डेभिड तथा प्रिपेड कार्ड उत्पादक कम्पनी हो । सन् २००३ मा एससिटी कार्ड सुरु गरेको यो संस्थाले हाल अत्याधुनिक कार्डसहित डिजिटल भुक्तानीका अन्य माध्यमहरूमार्फत गुणस्तरीय सेवा दिँदै आएको छ । डिजिटलाइजेसनको क्षेत्रमा १८ वर्षदेखि निरन्तर काम गरिरहेको यो संस्था नवीन खोज–अनुसन्धानमार्फत बैंकिङ सेवालाई सरल, सहज र अत्याधुनिक प्रविधिसम्पन्न बनाउन अग्रसर छ । स्वदेशी उत्पादनको प्रवर्धनको वकालत गर्दै आएको यस संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केसित बैंकिङ खबरले विद्युतीय कारोबारका विभिन्न पक्षमा केन्द्रित भई गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

एससिटी कम्पनीले के–के काम गर्छ ?
एससिटी सन् २००३ मा स्थापना भएको कम्पनी हो । स्थापनाकालदेखि नै हामी विद्युतीय भुक्तानीका लागि प्लेटफर्म उपलब्ध गराउने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय भुक्तानीका लागि आवश्यक सुविधा उपलब्ध गराउने काम गर्‍यौँ । प्रारम्भिक दिनहरूमा कार्डबाट सुरु गरेर विस्तारै विद्युतीय भुक्तानीका अन्य सेवा तथा प्लेटफर्महरू उपलब्ध गराउँदै आएका छौँ । मूलतः विद्युतीय भुक्तानीसम्बन्धी विविध सेवा उपलब्ध गराउनु हाम्रो काम हो ।

कार्डमा विभिन्न स्किम हुन्छन् । एटिएम, पस, ई–कमर्सलगायत विभिन्न क्षेत्रमा कार्ड प्रयोग गर्न सकिन्छ । हामी कार्डका अतिरिक्त अहिले निकै चर्चामा रहेको क्युआर कोड सेवा उपलब्ध गराउँछौँ । बैंक तथा भुक्तानी सेवाप्रदायक अन्य वालेटरहरूलाई हामी क्युआर कोड उपलब्ध गराउँछौँ । बैंकहरूलाई चाहिने मोबाइल बैंकिङ, ई–बैंकिङलगायस सेवा दिन्छौँ । बैंक वालेट र मर्चेन्ट वालेटहरूलाई जोड्न एउटा एज्रिगेटरको रूपमा सेवा दिइरहेका छौँ । अहिले सफ्टवेरमा स्तरोन्नति गरेर एससिटी एमपिएका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ । हामी डिजिटल भुक्तानीका सबै इकोसिस्टमा बसेर काम गरिरहेका छौँ ।

बजारमा विभिन्न कार्डहरू प्रयोगमा छन् । तपाईंहरू एससिटी कार्डको उत्पादक हुनुहुन्छ । सामान्यतया एससिटी र भिजा वा अन्य कार्डको भिन्नताबारे सर्वसाधारणलाई ज्ञान नभएको पाइन्छ । एससिटी र अन्य कार्डमा खासमा के भिन्नता छ ?

हामीले जतिवेला एससिटी कार्ड सुरु गर्‍यौँ (सन् २००३) त्यतिवेला बैंक तथा वित्तीय संस्थाहरूले कार्ड सञ्चालन गर्न पूर्ण रूपमा विदेशी कम्पनीमा निर्भर हुनुपर्ने अवस्था थियो । त्यतिवेला सबै बैंकले त्यो स्तरको प्रविधि र खर्च धान्न निकै गाह्रो थियो । त्यसैले थोरै बैंकले मात्र कार्ड सुविधा दिइरहेको अवस्था थियो । त्यसमाथि पनि जुन बैंकको कार्ड हो, त्यही बैंकको एटिएममा मात्र चल्ने अवस्था थियो । २००३ पछि हामीले नेपालभित्रै यस्ता कार्ड उपलब्ध गराउने, देशका सबै बैंकका बीचमा एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएममा ट्रान्जेक्सन गर्न मिल्ने बनायौँ ।

भिजा, मास्टर कार्ड र एससिटीमध्ये एससिटी एउटा लोकल ब्रान्ड हो । भिजा र मास्टर कार्ड विदेशी ब्रान्ड हुन् । यी सबैले गर्ने काम एउटै हो । भिजाबाट पनि एटिएम, पस, ई–कमर्सको ट्रान्जेक्सन गर्छौं भने एटिसी कार्डबाट पनि त्यस्तै ट्रान्जेक्सन गर्छौं । समग्रमा भन्नुपर्दा ग्लोबल ब्रान्ड भएकाले उहाँहरूको वैश्विक पहुँच (ग्लोबल रिच) छ । यदि हामीलाई वैश्विक पहुँच बनाउनु छैन र नेपालभित्र मात्र त्यो कार्ड चलाउनु छ भने यसमा नामबाहेक कुनै पनि भिन्नता छैन । भिन्नता ग्लोबल ब्रान्ड र डोमेस्टिक ब्रान्डको मात्र हो, कामको होइन ।

अहिले डोमेस्टिकबाट हामी पनि अन्तर्राष्ट्रिय स्तरमा चल्ने बनाउँदै छौँ । अहिले भारतमा हाम्रो एससिटी कार्ड चल्छ, बाँकी विश्वमा पनि चलाउन काम भइरहेको छ । हामी डलर कार्ड पनि ल्याउँदै छौँ । कार्डलाई विभिन्न फिचरमा ग्राहकको आवश्यकता र सुविधाको हिसाबले परिष्कृत र उपयोगी बनाउँदै जानेछौँ ।

स्वदेशी एससिटी र विदेशी भिजा, मास्टरलगायत कार्डमा कामका हिसाबले कुनै भिन्नता छैन भन्नुभयो । त्यसो भए सरकारले स्वदेशी कार्डलाई प्रोत्साहित गर्दै विदेशीलाई निरुत्साहित गर्ने नीति अख्तियार गरे के हुन्छ ?

हामीले त यो कुरा पहिलेदेखि नै उठाउँदै आएका हौँ । सरकारकै स्वामित्वमा बसेर हुन्छ कि अथवा सरकारको निर्देशनमा बसेर हुन्छ, डोमेस्टिक कार्ड वा डोमेस्टिक पेमेन्ट सिस्टमलाई प्रोत्साहन गरियो भने वा नियमनको दायरामा ल्याइदिएमा हामीलाई काम गर्न निकै सजिलो हुन्छ । हामीले यो विचार अहिले होइन, स्थापनाकालदेखि नै उठाउँदै आएका हौँ । पहिले हामीलाई काम गर्न निकै सजिलो भयो किनभने बैंक तथा वित्तीय संस्थाहरू धेरै साना थिए, सबैले विदेशी ब्रान्ड र प्रविधि भित्र्याउने क्षमता राख्दैनथे । त्यसले उहाँहरूलाई कार्ड सञ्चालन गर्न स्वदेशी विकल्प अति उपयोगी भएको थियो । पछि बैंक तथा वित्तीय संस्थाहरू ठूला हुँदै गए, एकअर्कामा मर्ज हुँदै गए । त्यसपछि उनीहरूको विदेशी ब्रान्ड भित्र्याउने क्षमता वृद्धि भयो । त्यसले हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गयो । हाम्रो मानसिकता पनि त्यस्तै छ, समान गुणस्तरको विदेशी र स्वदेशी सामानमा एक–दुई हजार महँगो तिरेर पनि विदेशी नै रोज्ने चलन छ । काम एउटै हो, तर यहीँ, हाम्रो छिमेकमै बनेको चप्पलभन्दा हामी त्यही गुणस्तरको विदेशबाट आएको चप्पललाई हजार–पन्ध्र सय बढी नै तिरेर किन्छौँ । यसको अर्थ हामी सामानको गुणस्तरलाई नभएर ब्रान्डलाई हेर्छौं । ‘नजिकको तीर्थ हेला’ गर्ने मानसिकताले समस्या ल्याएको छ ।

हाम्रो समाजमा बैंकबाट कार्ड सुविधा लिनु भनेको एटिएमबाट चाहेको वेला पैसा निकाल्ने सुविधाका लागि हो भन्ने बुझाइ आम रूपमा छ । एउटा उपभोक्ताले बैंकबाट एससिटी कार्ड सुविधा लिएपछि त्यसको प्रयोग कहाँ–कहाँ, कस्ता भुक्तानी वा सुविधाका लागि गर्न सक्छ ?

एससिटी कार्ड एटिएमबाट पैसा निकाल्नका लागि पनि हो, तर त्यसमा मात्र सीमित भने होइन । कुनै डिपार्टमेन्ट स्टोर, ग्रोसरी स्टोर, कुनै रेस्टुरेन्ट जाँदा वा सुविधा उपलब्ध अन्य ठाउँमा जाँदा लागतको उक्तानी यसैमार्फत पस मेसिनबाट गर्न सकिन्छ । त्यसैगरी, विस्तारै हामीले ई–कमर्सहरूमा पनि यसलाई इनेबल गरिरहेका छौँ । भोलि तपाईंले विभिन्न ई–कमर्स साइटहरूमा गएर यही कार्डबाट भुक्तानी गर्न सक्नुहुन्छ । हामी यसको परीक्षण गरिरहेका छौँ, जुन चाँडै सम्भव हुनेछ । विदेशी कार्ड लिएर नेपालमा जे गर्न सकिन्छ, ती सबै काम एससिटी कार्डबाट पनि गर्न सकिन्छ ।

यसको अर्थ एससिटी तथा अन्य कार्डहरू मेसिनबाट भौतिक मुद्रा झिक्ने मात्र नभएर विद्युतीय भुक्तानीको साधन पनि हुन्, होइन त ?

सही भन्नुभयो, यो डिजिटल पेमेन्टको साधन हो । यही कुरा बैंक तथा वित्तीय संस्था र उनीहरूका ग्राहकलाई बुझाउन हामीलाई धेरै समय लाग्यो । यो एटिएम कार्ड होइन, यो डेभिड कार्ड हो । डेभिड कार्डले तपाईं एटिएमबाट पैसा पनि निकाल्न सक्नुहुन्छ, अन्य डिजिटल पेमेन्ट पनि गर्न सक्नुहुन्छ । त्यसैले यसलाई एटिएम कार्ड नभनिदिनुस् भनेर हामीले धेरैपटक आग्रह गरेका छौँ, यद्यपि अहिले पनि एटिएम कार्ड नै भन्ने चलन बढी छ । यो एटिएममा मात्र चल्ने कार्ड होइन, यो समग्र विद्युतीय भुक्तानीमा प्रयोग हुने कार्ड हो, जसलाई हामी डेभिड कार्ड भन्छौँ ।

कार्ड जम्मा तीन प्रकारका हुन्छन्– डेभिड कार्ड, प्रि–पेड कार्ड र क्रेडिट कार्ड । एटिएम कार्ड भन्ने त छँदै छैन । एससिटीअन्तर्गत डेभिड र प्रिपेड कार्ड उपलब्ध छन् र चाँडै नै हामी क्रेडिट कार्ड पनि ल्याउँदै छौँ । हामी त्यसको सिस्टमहरू अपग्रेड गरिरहेका छौँ, नयाँ फिचरहरू थपिरहेका छौँ । यसैमार्फत क्यास डिपोजिट लिने सुविधा थपिरहेका छौँ । हामी विदेशी डलर कार्ड पनि ल्याउने तयारीमा छौँ । यही कारण पनि हामी विभिन्न फिचर्स थप्न लागिरहेका छौँ ।

हाम्रो प्रतिस्पर्धा कुनै बैंक तथा वित्तीय संस्थासित होइन, त्यो सेक्सनसित हो जसले हाम्रो बाहेक अरुको कार्ड चलाउनुहुन्छ । भिजा, मास्टर वा युनियन पे कार्ड हुन सक्छ । यहाँ हरेकजसो बैंकले भिजा, मास्टर कार्डका लागि सुझाइरहेका हुन्छन् । तर, यो अवस्था विस्तारै फर्किंदै छ, फेरि पनि उहाँहरू स्वदेशी कार्डतर्फ फर्किंदै हुनुहुन्छ । उदाहरणका लागि प्रभु बैंकले अहिले एससिटी कार्ड प्रयोग गरिरहेको अवस्था छ । एभरेस्ट बैंकले पनि स्वदेशी कार्ड नै दिइरहेको छ । ग्लोबल आइएमई बैंकले कार्ड लिइसकेको छ, अब १५–२० दिन वा ढिलोमा एक महिनाभित्र उसको एससिटी कार्ड आउँछ । अप्रिल २२ देखि हिमालयन बैंकले एससिटी कार्ड सुरु गर्दै छ । विस्तारै स्वदेशी कार्डको प्रयोग लयमा फर्किंदै छ ।

नेपालमा एससिटी कार्ड उत्पादन गर्ने हामी मात्र हौँ । पहिले हामीले एससिटी कार्ड नाम दिएका थियौँ, अहिले ‘एससिटी युनियन पे कार्ड’ लेखिएको छ । यसलाई हामीले कोल्याबरेसन गर्‍यौँ जसले हामीलाई ग्लोबल मार्केटमा रिच गर्न सजिलो हुन्छ । विश्वव्यापी पहुँच विस्तारका लागि ग्लोबल माकेर्टको कोही न कोही प्रोसेसरसित आबद्ध हुनुपर्ने भएकाले हामी चाइनाको ‘युनियन पे’सित आबद्ध भएका छौँ । त्यसैले अहिले हाम्रो कार्डको नाम एससिटी युनियन पे कार्ड रहन गएको छ ।

यतिवेला विद्युतीय भुक्तानी प्रचार र चर्चाको विषय बनेको छ । नेपाल राष्ट्र बैंकले भौतिक मुद्रामाथिको निर्भरता कम गर्दै लैजाने नीतिअनुरूप डिजिटल भुक्तानीलाई अभियानकै रूपमा प्रोत्साहन गर्दै आएको अवस्था छ । मोबाइलबाटै भुक्तानीको अभ्यास बढिरहेको अवस्थामा यसले भविष्यमा कार्डलाई असर गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

यसले कार्डलाई पक्कै पनि असर पर्छ, तर त्यो असर कार्डको प्रयोग बढ्नमा रोक लागाउने तहमा मात्र हुन्छ । क्युआरलगायत विद्युतीय भुक्तानीका अन्य साधन नआएको भए जुन गतिमा कार्डको प्रयोग वृद्धि हुन्थ्यो, त्यो वृद्धिदरमा भने पक्कै पनि ब्रेक लाग्छ । तर, यसले कार्डको प्रयोग अहिलेको भन्दा घटेर जाने अवस्था भने म देख्दिनँ । किनभने, हामीभन्दा निकै विकसित देशहरू र विद्युतीय भुक्तानीलाई पूर्णतया अभ्यासमा ल्याएका समाजमा पनि कार्ड उत्तिकै प्रयोग भइरहेका छन् । डिजिटल पेमेन्टमा निकै अगाडि रहेको चीन जानुभयो भने जताततै एटिएम मेसिन पनि देख्नुहुन्छ र प्रायः चाइनिजको खल्तीमा दुई–तीनवटा कार्ड पनि फेला पर्छन् । यसले के देखाउँछ भने विद्युतीय भुक्तानीको विस्तारले कार्डको प्रयोग घटेर जाँदैन, धेरै बढ्दा पनि बढ्दैन । यद्यपि, यो सधैँभरि रहिरहन्छ भन्न खोजेको भने होइन, सबै चिजको निश्चित आयु हुन्छ । भुक्तानी प्रणालीमा क्रान्तिकारी सुधार आएमा विस्तारै कार्डको प्रयोग घट्दै जान पनि सक्छ वा यही रूपमा नहुन सक्छ । कार्ड प्रयोगबाट बाहिरिनेभन्दा पनि कार्ड इन्टेरोगेसन अरु मोडमा परिवर्तित हुन्छ । भोलि क्युआरबाट भुक्तानी गर्दा पनि एउटा माध्यम त चाहिन्छ नै । त्यसैले कार्डको प्रयोग घट्नेभन्दा पनि त्यसमार्फत भुक्तानीको तरिका बदलिँदै जान्छ जस्तो लाग्छ ।

एससिटी कार्डधारीले त्यसको सुरक्षित प्रयोगका लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

पहिलेको कार्ड र अहिलेको कार्डमा अलिकति भिन्नता छ । पहिले चिपकार्ड हुँदैनथ्यो, अहिले हुन्छ । चिपकार्ड नहुँदा सुरक्षा खतरा केही बढी थिए । पहिलेका कार्डमा सामान किनेर कार्ड दिएपछि पिन नम्बर हानिरहनुनपर्ने, सिग्नेचर गरिदिए पुग्ने पनि थियो । अहिले पिन अनिवार्य छ ।

हामी ग्राहकलाई आग्रह गर्छौं कि आफ्नो कार्ड र पिन कोड कसैलाई पनि नदिनुस् । सकेसम्म कार्ड र पिन सँगै नराख्नुहोस् र कार्ड कहीँ छोडिहाल्नुभयो भने पनि पिन कहिल्यै नछोड्नुस् । यी काम गर्नुभयो भने कार्डबाट असुरक्षाको जोखिम एकदमै कम छ, प्रविधिलाई नै कसैले ह्याक गरेको अवस्थामा छुट्टै भयो, अन्यथा तपाईं सुरक्षित रहनुहुन्छ । ग्राहकको सुरक्षाका लागि हामी हरपल तयारी अवस्थामा हुन्छौँ, सुरक्षा अद्यावधिक भइरहेको हुन्छ ।

सिस्टम ह्याकिङको प्रसंग उठाउनुभयो, यसले कार्ड प्रयोगकर्ता ग्राहकलाई केही हदसम्म डरको वातावरण सिर्जना गरेको पाइन्छ । केही समयअघि चाइनिज ह्याकरले विदेशमा बसेर नेपाली बैंकिङ प्रणालीलाई चुनौती दिएपछि झन् कार्ड प्रयोगमा सन्देह पैदा भएको छ । यस्तो हुनुमा सेवाप्रदायक वित्तीय संस्था, कार्ड, सिस्टम वा अन्यमध्ये कसको कमजोरी देख्नुहुन्छ ?

यसलाई हामी च्यानल ह्याकिङ भन्न सक्छौँ । यसबारे बुझ्न पहिले एटिएमले पैसा कसरी दिन्छ, त्यसको प्राविधिक पक्ष र प्रक्रिया बुझ्नु आवश्यक छ । उदाहरणका लागि तपाईं एउटा बैंकको ग्राहक हुनुहुन्छ, तर अर्को बैंकको एटिएमबाट पैसा निकाल्नुपर्‍यो भने त्यहाँ विभिन्न स्वदेशी तथा विदेशी च्यानलहरू हुन्छन् । यसरी स्वदेशी कार्ड स्वदेशी एटिएममा चल्दा स्वदेशी च्यानलसहित विदेशी च्यानलमा पनि घुमेर आउने हुँदा बीचमा त्यस्ता च्यानलहरूमा ह्याकिङ हुने जोखिम रहन्छ ।

सबैभन्दा ठूलो जोखिम त्यतिवेला हुन्छ, जब आफ्नै देशको कार्ड आफ्नै देशको एटिएममा चल्दा विदेशमा घुमेर आउनुपर्छ । हामी आफ्नो घरको एउटा कोठाबाट अर्को कोठामा जान जब घरबाहिर निस्कन्छौँ, त्यतिवेला असुरक्षाको खतरा बढ्छ । त्यसैले हामीले यसबारे राष्ट्र बैंकलाई पनि भनेका छौँ, उहाँहरूले पनि काम गरिरहनुभएको होला । देशभित्रैबाट ट्रान्जेक्सन पूरा गर्ने क्षमता हामीसित छ । त्यसलाई छोडेर हामी भिजामार्फत अमेरिकाको कुनै डाटा सेन्टरमा पठाएर फेरि देशभित्र प्रवेश गर्छौं भने च्यानल ह्याकिङको सम्भावना बढ्छ । असुरक्षाको प्रमुख कारण यही नै हो ।

डिजिटलाइजेसनको अभियानमा क्यासलेस सोसाइटीसम्मको कुरा उठिरहँदा व्यवसायलाई त्यसअनुकूल प्रवर्धन गर्न के गरिरहनुभएको छ ? भावी योजना के छन् ?

हाम्रो काम ग्राहकको सुविधालाई ध्यानमा राखेर ग्राहकलाई सेवा दिने बैंक तथा वित्तीय संस्थाहरूलाई बहुआयामिक प्लेटफर्म दिने हो । अन्तिम उपभोक्ता वा ग्राहकसित हाम्रो प्रत्यक्ष सम्पर्क हुँदैन । हाम्रा ग्राहक भनेका वित्तीय संस्था, वालेट भेन्टर, पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) लगायत हुन् जसले आम ग्राहकलाई सेवा दिन्छन् । हामीले उहाँहरूलाई यस्तो प्लेटफर्म दिने हो जसले गर्दा उहाँहरूले होल डिजिटल वा क्यासलेस इकोसिस्टममा लान सक्नुहुन्छ । त्यसको प्रवर्धक हामी हौँ । यही क्रममा हामीले चारवटा चिजलाई एकै ठाउँमा ल्याउने कोसिस गरिरहेका छौँ । पहिलो कार्ड हो जसका विभिन्न फिचर छन् । कार्डलाई कार्डलेसमा पनि परिवर्तन गर्न सकिन्छ । कार्डलाई मोबाइल फोनमा स्टोर गर्न सकिन्छ र फोन देखाएर भुक्तानी गर्न सकिन्छ । यो सुविधा प्रवधर्नमा हाम्रो सोच अघि बढेको छ । हामीले बैंक तथा वालेटहरूलाई क्युआर कोड उपलब्ध गराइरहेका छौँ । हामीले बैंकलाई चाहिने अरु डिजिटल बैंकिङ जस्तै मोबाइल बैंकिङ, ई–बैंकिङ, सेल–बैंकिङलागयत सेवालाई पनि विस्तारै अगाडि सारिरहेका छौँ । त्यही सर्भिसलाई प्रयोग गरेरै ग्राहक क्यासलेस सोसाइटीतर्फ जाने हो । अर्को भनेको हामीले एग्रिगेटरका रूपमा एमपिएलाई लिएका छौँ । हामीले कार्ड, क्युआर, डिजिटल बैंकिङ र पेमेन्ट एग्रिगेटरलाई एउटा इकोसिस्टममा राखेर काम अगाडि बढाइरहेका छौँ । यी चारको इकोसिस्टमले एउटा बैंक, वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकलाई चाहिने होल सर्भिसलाई यसले धान्छ भन्ने हामीले सोचेका छौँ ।

हामीले डिजिटल इकोसिस्टमलाई नेपाल सरकार, राष्ट्र बैंक, हामीजस्ता संस्था सबै मिलेर कुनै न कुनै फर्ममा अगाडि बढाइरहेका छौँ । हामीले यसलाई जुन गतिमा बढाइरहेका छौँ, त्यसमा प्रतिस्पर्धाको भावनाभन्दा पनि ग्राहकको चेतनामा केन्द्रित हुनुपर्ने आवश्यकता छ । तिमीले भन्दा मैले धेरै ठाउँमा गरेको छु, मैले राम्रो गरेको छु भनेर देखाउनका लागि मात्र डिजिटल पेमेन्ट लन्च गर्ने हो कि यसलाई एउटा ग्राहकले प्रयोग गर्न सक्ने किसिमले लन्च गर्ने हो ? धेरै ठाउँमा लैजानु राम्रो हो, तर ग्राहक त्यसको प्रयोग गर्न सक्षम र अभ्यस्त हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

डिजिटल इकोसिस्टमको कुरा गर्दा हामीले एक चरणमा अपनाएका डिजिटलाइजेसनका सामग्री अहिले आइपुग्दा असान्दर्भिकजस्ता भइसकेका छन् । उदाहरणका लागि जहाँसुकै प्रत्येक बैंकको एटिएम मेसिन आवश्यक नहुने अवस्था बनिसकेको छ । लागतका हिसाबले पनि त्यो व्यवसायको तुलनामा महँगो पर्ने देखिएको छ । भोलिका दिनमा क्युआर कोड प्रणाली पनि छुट्टाछुट्टै जान सक्ने अवस्था रहन्छ कि रहँदैन ? इकोसिस्टममा ल्याउँदा सबैको भुक्तानी एकै ठाउँबाट गर्ने व्यवस्था मिलाउन सकिने सम्भावना कत्तिको देखिन्छ ?

हामी नेपाली अलि प्रतिस्पर्धा गर्ने सोच र मानसिकतामा छौँ । विभिन्न पिएसपीहरू छन्, हामीजस्तै सेवाप्रदायक छन्, विदेशी कम्पनीहरू छन्, हामी अतिकति बढी नै प्रतिस्पर्धामा छौँ । कहिलेकाहीँ हामी एकअर्कामा मिल्न पनि विदेशी कम्पनी आएर जोडिदिनुपर्ने अवस्था छ । यसका लागि राष्ट्र बैंक वा सरकारले एउटा निर्देशिका वा सर्कुलर जारी गरेर नियन्त्रण गर्दैन, तबसम्म सिंगल पेमेन्ट इकोसिस्टममा जान गाह्रो छ ।

डिजिटल कम्पनीहरू मर्जरमा जान सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

मैले त्यो सम्भावना धेरै देखेको छु । राष्ट्र बैंकले करिब एक दर्जन हामीजस्तो पिएसओलाई लाइसेन्स दिइसकेको छ । मेरो ध्यानमा आएसम्म २२ वटा पिएसपी छन् । हाम्रो जस्तो देशमा एकैकिसिमको काम भएका २२ वटा पिएसपीलाई सस्टेन गर्न गाह्रो छ । एनटिसी र एनसेलको रिचार्ज कार्डको भरमा यति धेरै संस्था चल्न मुस्किल छ । त्यसमा पनि एनटिसी र एनसेल आफैँ यो क्षेत्रमा आउने चर्चा छ ।

क्युआर कोडमा अहिले कसैले पनि कुनै पनि मर्चेन्टसँग चार्ज लिइरहेको अवस्था छैन । खर्च बढिरहेको छ, प्रविधिको स्तरोन्नति गरिरहनुपरेको छ । तर, आयस्रोत भने खुम्चिँदै छ । प्रतिस्पर्धाका कारण डिस्काउन्ट वा क्यासब्याक नदिई ग्राहकलाई रिझाउन, आकर्षित गर्न सकिरहेको अवस्था छैन । प्रविधि र अन्य खर्च उत्ति नै छ । जनशक्तितर्फ मार्केटिङ, प्रविधिलगायत सबै क्षेत्रमा चाहि नै हाल्यो । अनि त्यही एनसेल र एनटिसीको रिचार्ज गरेर आएको पैसाले कहिलेसम्म यी २२ वटा पिएसपी धानिने त ? त्यसकारण मर्जरमा जानुपर्ने बाध्यता सिर्जना हुन्छ र जानु पनि पर्छ ।

राष्ट्र बैंकले अब नयाँ लाइसेन्स नदिनु उपयुक्त हुन्छ । एउटै काम गर्नका लागि टिक्नै धौ–धौ हुने गरी सेवाप्रदायक थप्नाले समस्या निम्तिन्छ । हामी १७–१८ वर्षदेखि कार्डको क्षेत्रमा काम गरिरहेका छौँ र त अहिले दिगो रूपमा टिकिरहन गाह्रो हुँदै गएको छ भने नयाँ आउनेलाई झन् समस्या हुनेवाला छ । कारण, आयस्रोत घट्नेक्रममा छ भने लागत बढ्दोक्रममा छ । क्यासब्याक र डिस्काउन्टको अस्वस्थ प्रतिस्पर्धाले दिगो व्यापारको संकेत दिइरहेको छैन । यसले अन्ततः मर्जरलाई बाध्यकारी बनाउँछ, अनि मात्र दिगो यात्रातर्फ कदम अगाडि बढ्छ भन्ने लाग्छ ।

राष्ट्र बैंकले हिजो (मंगलबार) मात्र भुक्तानी सेवाप्रदायकका लागि निर्देशिका जारी गरेको छ । निर्देशिकाका प्रावधानले लामो समयदेखि सेवा दिँदै आएको तपाईंको संस्थामा कुनै परिवर्तनको आवश्यकता देखायो कि पहिले नै यही फ्रेमभित्र हुनुहुन्छ ?

हामी पहिलेदेखि नै हालको निर्देशिकाका हामीसित सम्बन्धित सबै व्यवस्था तथा प्रावधानको दायराभित्रै चलिरहेका छौँ । संस्थागत सुशासनअन्तर्गतका सबै व्यवस्था पहिले नै कार्यान्वयनमा छन् । हाम्रो जस्तो कम्पनीले जोखिम व्यवस्थापन वर्षैपिच्छे गर्नुपर्ने हुन्छ, नभए कार्डको काम गर्नै सकिँदैन । सञ्चालक समितिसम्बन्धी व्यवस्थालगायत निर्देशनका अन्य विषय पनि हामीकहाँ कार्यान्वयनमै छन् । ग्राहक हितसँग सम्बन्धित व्यवस्था भने उपभोक्तालक्षित भएकाले हामीसित जोडिँदैन जस्तो लाग्छ । हाम्रा ग्राहक भनेका सेवाप्रदायक (बैंक तथा वित्तीय संस्थालगायत) नै हुन् । सेवाग्राहीसित हाम्रो प्रत्यक्ष सम्पर्क नहुने र यसले उनीहरूलाई लक्षित गरेकाले तेस्रो निर्देशिका सम्बन्धित सेवाप्रदायकका लागि हो भन्ने लाग्छ । त्यसैले नयाँ निर्देशिकाको कार्यान्वयनमा हामीलाई कुनै समस्या छैन ।

अन्तमा, सबै क्युआर कोडलाई एकै ठाउँमा ल्याउन सकिने सम्भावनाबारे के भन्नुहुन्छ ?

हामी क्युआर कोडलाई एकीकृत गरौँ, सबैको भुक्तानी एउटै क्युआरमार्फत गरौँ भन्ने प्रयास गरिरहेका छौँ । त्यसका लागि हामीले नेटवर्क पनि बनाएका छौँ । हाम्रो नेटवर्कभित्र जति छौँ, त्यतिमा एउटा क्युआरबाट अर्कोमा निःशुल्क जान सकिन्छ । तर, त्यसदेखि बाहेकका क्युआरमा जाने विकल्प हामीसित छैन । यस अभियानमा सेवाप्रदायकबीचको अस्वस्थ प्रतिस्पर्धाले वातावरण बिगारिरहेको छ । एकै ठाउँमा लहरै ९–१० वटा क्युआर राख्दा अनावश्यक लागत बढ्छ । आखिर सबैले एउटै काम गर्ने हुन् र जुनको जुनमा चलाए पनि मिल्छ । त्यसैले अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ । यसमा नियामक निकायको ध्यान जानु आवश्यक छ ।

 


सोसिअल मेडिया