वित्तीय पहुँच विस्तारमा लघुवित्तको ठूलो देन छ : प्रकाशराज शर्मा, सिइओ, लक्ष्मी लघुवित्त

लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशराज शर्माको वित्तीय क्षेत्रमा ठूलो दखल छ । उहाँमा लघुवित्त क्षेत्रको लामो अनुभवले खारिएको विज्ञता छ । शर्माकै नेतृत्व र प्रत्यक्ष निगरानीमा सुरु भएको लक्ष्मी लघुवित्तले आज मजबुत वित्तीय संस्थाको रूपमा उचाइ लिइरहेको छ । द्वन्द्व, विपत्ति र महामारीका विषम परिस्थितिमा पनि संस्थालाई कुशल नेतृत्व दिँदै यो अवस्थामा ल्याउनुभएका शर्मासित नेपाली लघुवित्तको समग्र अवस्था र ग्रामीण अर्थतन्त्रबारे बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

कोभिड १९ को महामारीपछि ग्रामीण अर्थतन्त्र र लघुवित्तको अवस्था कस्तो पाउनुभएको छ ?

यसलाई दुई चरणमा हेर्नुपर्छ, पहिलो गत आर्थिक वर्षको चैतदेखि असारसम्म र अर्को असारदेखि ६ महिना (पुससम्म) को अवधि । यसरी हेर्दा अहिले लघुवित्तको कारोबार वृद्धि भएको देखिन्छ । ग्राहकमा आत्मविश्वास बढेको छ । विस्तारै कर्मचारीमा पनि आत्मविश्वास बढेको छ, सुरक्षाको अनुभूति भएको छ । सुरक्षाको प्रोटोकल पालना गर्दै सबै जना सक्रिय हुनुहुन्छ, त्यसैले अहिले ग्रामीण अर्थतन्त्र चलायमान छ । त्यस्तै, लघुवित्तको अवस्था पनि चलायमान छ ।

असारसम्म कारोबार नै हुन नसकेका कारण संकुचनको अवस्था थियो । २०७६ पुसमा करिब २ खर्ब २३ अर्बजति नेट पोर्टफोलियोे थियो । त्यो असारमा आएर २ खर्ब २२ अर्बमा खुम्चियो । त्यसवेला लगानी नहुनुले यो संकुचन आएको हो । असहज परिस्थितिका कारण कतिपयलाई ब्याज किन तिर्ने भन्ने भयो । वातावरण लगानीअनुकूल थिएन । लगानीको वातावरण नभएकै कारण संकुचन भएको थियो । अहिले त्यो संकुचन हटेर कारोबार वृद्धि भएको छ ।

तथ्यांकमै जाने हो भने पनि एउटा रिलेटेड माइक्रोफाइनान्सको कर्जाप्रवाहको आकार २ खर्ब ८१ अर्ब पुगेको छ । यो गत असारको तुलनामा लगभग २६ प्रतिशतको ग्रोथ हो । यो ग्रोथलाई लगानीको हिसाबले राम्रो मान्नुपर्छ । हाम्रा कर्मचारी स्वास्थ्यको प्रोटोकल पालना गर्दै निरन्तर फिल्डमा जानुभयो, हामी पनि गयौँ । पर्याप्त काउन्सिलिङ भयो । त्यसले ग्राहकमा पनि आत्मविश्वास बढ्यो । यसले आर्थिक क्रियाकलाप बढायो जसले संकुचन घट्दै गयो । त्यसैले अहिले माइक्रोफाइनान्सको अवस्था ठिकै छ ।

हामीले दुई कुरालाई फोकस गर्नुपर्छ – कारोबार वृद्धि र गुणस्तर । अहिले कारोबारसँगै गुणस्तरमा पनि सुधार आएको छ । रोकिएका कर्जा आउन लागेका छन् । जबसम्म व्यक्तिले अतिरिक्त आन्दानी गर्दैन, तबसम्म तिर्न सक्दैन । अहिले ‘डिसक्लोजिङ इनकम’ बढेको छ, त्यसैले किस्ता तिर्नुभएको छ । त्यसले पोर्टफोलियोसँगै गुणस्तरमा पनि सुधार भएको अवस्था छ ।

मैले केहीअघि एउटा समाचार अनलाइन र राष्ट्रिय पत्रिकामा पुस महिनामा लघुवित्तको गुणस्तर खस्किएको समाचार पढेँ । त्यहाँ निष्क्रिय कर्जा बढेको अवस्था औँल्याइएको थियो । पहिले राष्ट्र बैंकले कोभिडको कारणले गर्दा केही कर्जा नतिरे पनि त्यसलाई निष्क्रिय कर्जाका रूपमा नगन्ने भनेको थियो । त्यो सुविधा त्यतिवेला कायमै थियो । कतिपय लघुवित्तले हाम्रो कर्जा जोखिम नै छ, निष्क्रिय कर्जा नै हो, सिस्टमले जे देखाउँछ त्यसलाई देखाउनुपर्छ भनेकाले अलिकति बढेको देखियो । समग्रमा त्यो पूरै निष्क्रिय कर्जा थिएन । लक्ष्मी लघुवित्तको हकमा गत असारमा निष्क्रिय कर्जा ३१ प्रतिशत थियो । तर, हामीले राष्ट्र बैंकलाई २.६ प्रतिशत रहेको रिपोर्ट बुझायौँ । राष्ट्र बैंकले हामीलाई त्यो छुट दिएको थियो । वास्तवमा निष्क्रिय कर्जा त्यति नै थियो । ग्राहकले त्योभन्दा बढी तिरेका थिएनन्, तर तिर्न बाँकी नै थियो । कोर बैंकिङ सिस्टम (सिबिएस) ले देखाउने र हामीले यता राष्ट्र बैंकमा देखाउने तथ्यांक फरक थियो । सिबिएसले जति देखाउँछ त्यो ग्राहकले तिर्नुपर्ने वास्तविक रकम हो ।

लक्ष्मी लघुवित्तको कुरा गर्दा अहिले कुल कर्जामा ४.३१ प्रतिशतले वृद्धि आएको छ । असारमा हामी ४ अर्ब ४२ करोडमा थियौँ, पुसमा ५ अर्ब ९७ करोडमा पुग्यौँ । त्यो ग्रोथ भनेको २९ प्रतिशत हुन्छ । यसले के देखाउँछ भने हामी पुनः लयमा फर्किंदै छौँ । देशको अर्थतन्त्र पुनः लयमा फर्किंदै छ ।

अर्थतन्त्र र लघुवित्त दुवैको अवस्था लयमा फर्किंदै छ भन्नुभयो । महामारीको बीचको अवधिको किस्ता ऋणीले तिरिसक्नुभयो कि बाँकी छ ? तिर्नुभयो भने सहुलियतको कुन आधारमा तिर्नुभयो ?

त्यो पनि तिर्नुहुन्छ । त्यतिखेर तत्कालका लागि हामीले छुट दियौँ । त्यसपछि राष्ट्र बैंकको इच्छामा नियमन भयो । ब्याजदर १५ प्रतिशत कायम भयो । कतिपय ऋणीले राष्ट्र बैंकले दिएको कर्जाको ६ महिना म्याद (असोजसम्म र त्यसपछि असारसम्म) दिएमा तिर्न बाँकी रकम तिर्छौं भन्नुभयो । त्यसले गर्दा किस्ता सानो भयो । पहिलो ६ महिना पूरै लकडाउन थियो । त्यस अवधिका किस्ता पछाडि पछाडि सारियो । उहाँहरूले किस्ता तिर्ने अवधि पछाडि सारेर तिर्नुभयो । अरू लघुवित्तले पनि यस्तै गर्नुभएको होला । हामी जति डराएका थियौँ, विनाधितोको लगानी छ, पूरै इन्डस्ट्र नै ध्वस्त पो हुन्छ कि ? खतम हुन्छ कि ? तिर्दैनन् कि भन्ने जुन डर थियो, त्यस्तो भएन । हामीले पहिलेदेखि नै भन्दै आएका छौँ, हाम्रा ग्राहक विपन्न वर्गका हुनुहुन्छ, उहाँहरू इमानदार हुनुहुन्छ, क्रियाशील हुनुहुन्छ । उहाँहरूमा केही गर्ने चाहना छ । पोर्टफोलियोको गुणस्तर अरू सबैको भन्दा हाम्रो राम्रो छ । त्यसमाथि पनि हामी महिलालाई लगानी गर्छौं । महिलाहरू अरूभन्दा इमानदार सिद्ध भएका छन् ।

कतिपय ऋणी हुनुहुन्छ जो एउटा लघुवित्तबाट ऋण लिनुहुन्छ र त्यसको किस्ता बुझाउनकै लागि अर्को लघुवित्तबाट ऋण लिनुहुन्छ । उद्यमका लागि भन्दा पनि एउटाको ऋण तिर्न अर्कोबाट ऋण लिने प्रवृत्ति पनि देखिन्छ नि ?

यो अपवाद जहाँ पनि हुन्छ । यसलाई सामान्यीकरण गर्नुहुँदैन । एकजना मान्छेले थुप्रै मान्छेको कर्जा चलाउनेजस्ता अपवाद छन् । यो अपवाद समाजमा जहाँ पनि छ । बदमास मान्छे जहाँ पनि छन् । अहिले पनि अत्याचारी, बलात्कारी सबै समाजमा देखिएकै छन् । तर, त्यसलाई सामान्यीकरण गरेर डराउनुपर्ने अवस्था भने छैन । त्यसो गर्‍यौँ भने हामी अगाडि बढ्दैनौँ, समाज अघि बढ्दैन । यस्ता विकृति–विसंगतिलाई न्यूनीकरण गर्दै अगाडि बढ्नुपर्छ ।

तपाईंले संकेत गरेजस्ता मानिस केही प्रतिशत मात्र छन् । अहिले हाम्रा सदस्य ४९ लाख छन् । त्यसमा केही प्रतिशतले बदमासी गर्लान् । बदमासी गर्नेले केही समय छुट पाउलान्, झुक्याउन सक्लान् । बदमास त बदमास हुन्, एक न एक दिन अवश्य पक्रिइन्छन् ।

कोभिड १९ को माहामारीमा व्यापार–व्यवसाय ठप्प हुँदा कतिपयले कर्जा तिर्न सक्नुभएन । तर, जसले तिर्न सक्नुहुन्थ्यो वा चाहनुहुन्थ्यो, लकडाउनका कारण तिर्न बाहिर निस्कन सक्नुभएन । उहाँहरूले विद्युतीय माध्यमबाट पनि तिर्न सक्नुहुन्थ्यो होला नि ? समग्र लघुवित्तमा यो डिजिटलाइजेसनको अवस्था कस्तो छ ?

डिजिटलाइजेसन नै अहिलेको प्रमुख आवश्यकता हो । मलाई त यो सपना हो जस्तो लाग्छ । लक्ष्मी लघुवित्तमा म आइसकेपछि माइक्रोफाइनान्सलाई छुट्टै तरिकाले लैजानुपर्छ, नयाँ उचाइमा लैजानुपर्छ भन्ने सोचका साथ काम प्रारम्भ गरेँ । यो मेरो सपना हो । यसैका आधारमा मैले सबै काम गरेँ । मलाई यो भनिरहँदा गर्व लाग्छ, नेपालमा पहिलोपटक अत्याधुनिक सफ्टवेर चलाउने लक्ष्मी लघुवित्त हो ।

पछिल्लो समय लकडाउनका कारण लघुवित्तहरू सामाजिक र वित्तीय मध्यस्तकर्ता बने । हाम्रो सामाजिक संरचना र महामारीको असहज परिस्थितिले हामीलाई त्यस्तो बनायो । हामी गाउँमा जान्छौँ, समूह बनाउँछौँ, केन्द्रमा बैठक राख्छौँ, जनतासित दुःखसुखका कुरा गर्छौं, उहाँहरूलाई प्रेरणा दिन्छौँ र प्रोत्साहन गर्छौं । यो हाम्रो सामाजिक मध्यस्थताको पाटो हो । त्यसपछि वित्तीय मध्यस्थताको पाटो छ, जुन अरूले पनि गर्छन् । सामाजिक मध्यस्थता भने हामीले गर्छौं, अरूले गर्नुपर्दैन । कोभिड आइसकेपछि सामाजिक मध्यस्थतामा समस्या भयो, एसएमएस, सोसल डिस्ट्यान्स, माक्स र स्यानिटाइजेसन, यी सबले वातावरण अर्कै भयो । सोसल डिस्ट्यान्स (सामाजिक दूरी) मा हामी गाउँमा जानै नसक्ने, सबै टाढा रहने, मान्छेदेखि मान्छेलाई डर लाग्ने अवस्था भएपछि कोभिडले माइक्रोफाइनान्सको सामाजिक मध्यस्थताको मुटुमा नै प्रहार गर्‍यो । त्यसैले हामी यसलाई ‘रिथिंक’, ‘रिडिजाइन’ गर्न सोच्नुपर्ने अवस्था आयो, त्यसको औचित्य बढ्यो ।

अहिले मानिसलाई वित्तीय संस्थामा ब्यालेन्स राख्नुपर्छ भन्ने परेको छ । तर, उहाँहरूसँग बैंकमा गएर घण्टौँ लाइनमा बसेर डिपोजिट गर्नलाई समय छैन । आधा घण्टाको दूरीमा गएर, यात्रा गरेर जम्मा गर्ने समय छैन । सेवा लिँदा पनि खर्चिने समय छैन । आखिर हाम्रा ग्राहक पनि मान्छे हुन्, उहाँहरूका आवश्यकता सीमित होलान्, साना होलान्, तर चाहना भने उही हो । उहाँहरूलाई पनि मेरो घरनजिकैबाट एटिएमबाट पैसा झिक्न पाए हुन्थ्यो, तिर्दा पनि डिजिटल माध्यमबाट तिर्न पाए हुन्थ्यो भन्ने चाहना होला । ग्राहकको त्यो चाहना पूर्तिका लागि हामी अगाडि बढ्नैपर्छ ।

मान्छेमा वित्तीय आवश्यकता एउटै हुन्छ, सानो र ठूलो मात्रै हो । कर्जा कसैलाई पाँच हजार चाहिएला, कसैलाई एक करोड, कसैलाई दश करोड, त्यति मात्र फरक हो । कसैलाई घरमै सेवा पाऊँ भन्ने चाहना हुन्छ । मलाई त्यस्तै लाग्छ भने मेरा ग्राहकलाई पनि त लाग्छ ! ग्राहकलाई सहज सेवा दिनकै लागि हामीले पहिलोपटक बाहिरबाट सफ्टवेयर ल्यायौँ, जसलाई हामी सिपिएस भन्छौँ । त्यसका लागि उपयुक्त हार्डवेयर पहिलोपटक हामीले नै प्रयोग गरेका हौँ । अरूले कतै कतै ‘पाइलटिङ’ मात्रै गर्दै आएका थिए । हामीले हाम्रा ७२ वटै शाखाका दुई–तीन सय अफिसरलाई ट्याबलेट बैंकिङमार्फत पेपरलेस ट्रान्जेक्सनको व्यवस्था गर्‍यौँ । त्यसपछि हामीले ग्राहककेन्द्रित मोबाइल एप्प ल्यायौँ । कतिपय ग्राहकसित पासबुक हुँदैन । यो मोबाइल एपले आफ्नो बजत कति छ, कर्जा कति छ, तिर्नुपर्ने कति छ, यी सबैको जानकारी हुने भयो । यसले ग्राहकलाई निकै सजिलो बनाएको छ ।

हामी ग्राहकलाई एटिएम सुविधा पनि दिँदै छौँ । लक्ष्मी बैंकका एटिएम मेसिनहरूबाट कारोबार गर्न मिल्ने व्यवस्थाको तयारी हुँदै छ । हामीले ग्राहकसित विद्युतीय माध्यमबाटै भुक्तानी गर्दै आएका छौँ । त्यसको सुरुवात ई–सेवाबाट गरिसक्यौँ । अहिले हाम्रा ग्राहकले ई–सेवामार्फत घरमै बसेर सेवा लिइरहनुभएको छ । अब पनि यदि हामीले डिजिटल सेवा दिन सकेनौँ भने हामीकहाँ बजत गर्नुको औचित्य पुष्टि हुन सक्दैन । अहिले लघुवित्तसित करिब एक खर्ब २० अर्ब निक्षेप छ । यत्रो निक्षेप भएको लघुवित्तलाई डिजिटल गरेनौँ भने, बचतकर्ताको सहज पहुँचमा सेवा भएन भने समस्या हुन्छ । अहिले सबैजसो स्थानीय तहमा वाणिज्य बैंकका शाखा छन् । हामीले १० बजेदेखि ५ बजेसम्म अफिस खोल्नुपर्ने हुन्छ । त्यसअतिरिक्त समयमा पैसा झिक्नुपर्‍यो भने हामीसित एटिएम छैन तर त्यहीँको वाणिज्य बैंकसित छ भने हाम्रा ग्राहक पनि त्यतै जान्छन् । त्यसले लघुवित्तलाई डिजिटलाइजेसनको आवश्यकता छ ।

कोभिड–१९ आयो, अन्य महामारी तथा विपद् आए । मानिसमा सुरक्षाको पनि उत्तिकै जोखिम छ । सुरक्षाको हिसाबले पनि पेपरलेस, क्यासलेस इकोनोमीतर्फ लानु आवश्यक छ । अहिले तरकारी पसलदेखि भाडाका टेम्पोसम्म क्युआर कोड गइसकेको अवस्था छ । ती भनेका हाम्रै ग्राहक हुन्, हाम्रै लक्षित समूह हुन् । तिनलाई डिजिटल बनाउन वाणिज्य बैंकको मुख ताक्नु आवश्यक छैन, हामीले नै सुरुवात गर्नुपर्छ । हाम्रा ग्राहकले विद्युतीय भुक्तानी सेवाकै लागि वाणिज्य बैंकमा खाता खोलिरहनु नपरोस्, त्यसतर्फ हामीले काम गर्नुपर्छ ।

लक्ष्मी लघुवित्तले डिजिटलाइजेसनलाई विस्तार गरेपछि के फरक पाउनुभयो ?

डिजिटलाइजेसनपछि हाम्रो कारोबारमा वृद्धि भयो । धितोकर्जाको अंश १० प्रतिशत थियो भने अहिले १३ प्रतिशत पुगिसकेको छ । हाम्रो कस्ट अफ फन्ड ७ प्रतिशतको हाराहारीमा होला । उता १३ प्रतिशत भयो भने २६ प्रतिशत हाम्रो मार्जिन भयो । विद्युतीय कारोबारलाई प्रोत्साहन गरेसँगै वाणिज्य बैंक र विकास बैंकका केही ग्राहक हामीसँग आउनुभएको छ । उहाँहरूले जति सेवा दिनुहुन्छ, हामीले पनि त्यो दिएका छौँ । त्यसमाथि हामी गाउँ–गाउँमा गएका छौँ । हामीसँग ग्राहकको एक किसिमको आत्मीय सम्बन्ध छ, भाइ, बहिनी, सर, म्याडमको सम्बन्ध । उहाँहरूले हामीलाई चिन्नुहुन्छ, त्यसैले हाम्रो पिठो पनि बिक्छ ।

लघुवित्तको समग्र उत्थान र विकासका लागि के–के गरिनुपर्छ ?

लघुवित्तलाई पहिले राष्ट्र बैंकले प्रवर्धन गर्नुपर्थ्यो, गर्‍यो । केन्द्रीय बैंकको नीतिकै आधारमा यो इन्डस्ट्री आज देखिने गरी यो अवस्थामा आएको छ । यसको इकोनोमिक ग्रोथ पारदर्शी छ, प्रतिफल पारदर्शी छ । कुल कर्जाको अंश बढिरहेको छ । कुनै पनि संस्थालाई सधैँभरि संरक्षणवादको आँखाले हेरिनुहुँदैन । यसरी हेरियो भने उसले कहिल्यै जान्दैन र आफैँ गर्न सक्दैन । त्यसकारण निश्चित समयपछि उसलाई बजारमा छोडिदिनुपर्छ । बजारमा छोड्दा उसको उद्देश्य के हो ? ऊ केका लागि जन्मिएको वा दर्ता भएको हो ? उसले गरिरहेको काम नियमसंगत, उद्देश्यअनुकूल छ कि छैन र त्यो देशको आर्थिक विकाससँग सम्बन्धित छ कि छैन ? यी विषयहरू राष्ट्र बैंकले हेर्नुपर्छ ।

अर्को पाटो राष्ट्र बैंकले कम्पनी दर्ता गरिसकेपछि उसको स्रोत–साधनको कुरा आउँछ । कुनै पनि उद्योगलाई चल्न कच्चापदार्थ चाहिन्छ । जसरी एउटा कम्युटर बनाउन चिप्सलगायत सामान तथा प्रविधि बाहिरबाट आयत गरेर फिट गर्नुपर्छ, त्यसरी नै हामीलाई पनि लगानी गर्न पैसा चाहिन्छ । त्यसैले हामीलाई वित्तीय मध्यस्तकर्ताको आवश्यकता छ । हामी स्रोतका लागि वाणिज्य बैंकसँग परनिर्भर भयौँ । निश्चित स्रोत त्यहाँबाट आउने भयो । अब त्यो कुनै कारणले बन्द भयो, त्यो नियन्त्रणमा रहेन, कुनै वेला घटाउने भए वा घटबढ गरिरहने भए भने हामी समस्यामा पर्छौं । त्यसैले संस्थाको सुशासनको अवस्था कस्तो छ ? ग्राहकलाई बोझ दिएको छ कि छैन ? टर्चर दिएको छ कि छैन ? यी पक्षको नियमन राष्ट्र बैंकले गर्नुपर्छ । साथसाथै, स्रोत परिचालनमा स्वायत्तता दिनुपर्छ ।

२०४९ सालदेखि आधुनिक लघुवित्तको सुरुवात भयो । सुरुवातदेखि नै लघुवित्तले निक्षेप संकलन गरेका छन् । तर, अहिलेसम्म हामीले आफ्नो दायित्व पूरा गर्न सकेका छैनौँ । अहिले पनि हामी ग्राहकसँग डिपोजिट लिन्छौँ । हामीले ग्राहकलाई १ खर्ब २० अर्ब दिनुपर्ने छ, २ खर्ब ८१ अर्ब लिनुपर्ने छ । समस्या त्यतिखेर पनि थिए, अहिले पनि छन्, पछि पनि आउँछन् । अहिले समाधान गरिएका समस्या पछि अर्को रूपमा आउँछन् । यो विकास भएपछि हाम्रो संस्कृति मासिन्छ भनेजस्तै हो । विकासले बाहिरबाट मान्छे आउँछन्, विकृति भित्रिन्छ, विसंगति बढ्छ भनेजस्तै हो । विकाससँगसँगै समस्या पनि आउँछन्, तिनको समाधान गर्दै अघि बढ्नुपर्छ ।

माइक्रोफाइनान्स अगाडि बढिरहेको छ र बढ्छ । नेपालको विकास गर्ने माइक्रोफाइनान्सले नै हो । यहाँ विकास गर्ने कि कमर्सियल बैंक, कि माइक्रोफाइनान्स नै हुन्, अर्को छैन । बीचका अरू आवश्यक छैनन् । यी दुईवटाको लक्षित वर्ग फरक–फरक छन्, यहाँको सन्दर्भमा मर्सिडिज गाडी र सुजुकी गाडीजस्तै भन्दा उपयुक्त होला । अर्को नेपालमा एउटा मध्यमवर्ग छ, एउटा मोटरसाइकल किन्ने वर्ग होला, अर्को साइकल किन्ने वर्ग होला । यसरी समाजमा फरक–फरक वर्ग छन् र उनीहरूको आवश्यकता पनि फरक छ । त्यसकारण जुन सेग्मेन्टमा हामी काम गरिराखेका छौँ, त्यहाँ निश्चित वर्ग छन् । हामीले ५० लाखमा डुप्लिकेसन छोड्दा ४० लाख होला, ३० लाख होला, त्यो ३० लाखबाट व्यवसाय गर्‍यौँ भने, त्यसमध्ये ९० प्रतिशतलाई उद्यमी, व्यवसायी बनाउन सक्यौँ भने त्यसले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँछ । त्यो भनेको सबैको आर्थिक उन्नति हो, देशको पुँजी माथि जाने हो । त्यसैले देश विकासको त्योबहेक अरू विकल्प हामी देख्दैनौँ । यदि कोही बदमास छ भने पत्ता लगाउनुपर्‍यो, गल्ती, कमी, कमजोरी छन् भने कारबाही गर्नुपर्‍यो, तर बाटो भने यही हो ।

अहिले हामी २१औँ शताब्दीमा छौँ, ‘क्राइम प्रोटेक्सन’ भन्छौँ, ग्राहक क्राइम प्रोटेक्सनका पुँजी हुन् । त्यो पुँजीलाई आतंकित बनाएर म कमाउँछु, एकैपटक कमाउँछु, अहिले नै कमाउँछु भन्यौँ भने राम्रो हुँदैन । सेवाशुल्क दुई प्रतिशत लिनुहोला, त्यसवेला कतिपयले लिएका पनि थिए । ब्याज १७ प्रतिशत लिनुपर्छ भन्लान्, तर यो दिगो यात्रा होइन । आज पनि हामी निक्षेपमा पाँच प्रतिशत ब्याज दिन्छौँ । कर्जामा १५ प्रतिशत हुँदा निक्षेपमा साढे ६ प्रतिशत दिइरहेका थियौँ । अहिले कर्जामा १३ प्रतिशतमा झरेपछि बचतमा पाँच प्रतिशतमा झर्‍यो । त्यसैले हामीले लामो समयका लागि दिगो वृद्धि गर्नुपर्छ, अनि मात्र हामी अगाडि बढ्छौँ ।

लघुवित्तमा कस्ता चुनौती देख्नुभएको छ ?

माइक्रोफाइनान्समा चुनौती नभएका होइनन्, चुनौती निकै छन् । पहाडमा आर्थिक क्रियाकलाप कम छ । त्यो ‘बटम अफ पिरामिडमा कसरी सेवा पुर्‍याउने ? उनीहरूलाई आर्थिक गतिविधिमा कसरी सामेल गराउने ? त्यो एक्लै लघुवित्तले मात्र गर्ने काम होइन । त्यसका लागि पूर्वाधार चाहियो, आर्थिक क्रियाकलाप पनि चाहियो । यसमा सरकार आउँछ, स्थानीय निकाय आउँछ, जनप्रतिनिधि आउँछन् । यी सबैको समन्वयात्मक प्रयासबाट मात्र त्यहाँ वित्तीय सेवा पुग्छ । अहिले ७७ वटै जिल्लामा वित्तीय सेवा पुगिसक्यो । सबैजसो पालिकामा वित्तीय संस्थाहरू उपस्थित होलान् । अहिलेका पालिका ठूला छन्, वित्तीय सेवा वडा–वडामा पुग्नु जरुरी छ, जुन एउटा चुनौती हो । हिमाली क्षेत्र छन्, विकट पहाडी क्षेत्र छन्, पूर्वाधारको न्यूनतम विकास पनि भएका छैनन्, त्यस्ता क्षेत्रमा वित्तीय सेवा विस्तार निकै चुनौतीपूर्ण छ ।

यो एउटा विजनेस हो, लिमिटेड कम्पनी हो, कमाएर खाने हो । कम्पनीलाई बाँच्नका लागि मुनाफा चाहियो । घाटा भयो भने कसरी पूर्ति गर्ने ? हामीले लगानी गरिसकेपछि उत्पादन हुन्छ । त्यो उत्पादन कहाँ जाने ? बजार कहाँ हो ? त्यसका लागि बाहिरबाट केही समयका लागि संरक्षण लिनुपर्ने हुन्छ ।

माइक्रोफाइनान्सले सामाजिक उत्तरदायित्व वहन गर्दै टिकाउपूर्ण विकास गर्नुपर्छ । यस वर्ष १० करोड नाफा भयो, भोलि २० करोड लिनुपर्छ, पर्सि ३० करोड लिनुपर्छ, यसलाई सेयर मार्केटमा बढाउनुपर्छ, यस्तो पनि हुनुहुँदैन । त्यसैले समाजको विकासकेन्द्रित लगानी गर्नुपर्छ, स्वाभाविक मुनाफा लिएर म समाज निर्माण गर्छु भनेर लगानी गर्नुपर्छ । त्यो मिसन ट्रेन्डको चुनौती छ । मेरो चुनौती के थियो ? के गर्न आएको के हो ? मैले कति नाफा कमाउने ? यी विषयहरू निर्धारित हुनु जरुरी छ । अन्ततः हामीमाझ वित्तीय उत्तरदायित्व पूरा गर्नुपर्ने चुनौती छ । त्यसैगरी, दिगो स्रोत व्यवस्थापनको पनि चुनौती छ । हामी जहिले पनि परनिर्भर हुनुहुँदैन ।

ग्राहकमाथि तपाईंहरूलाई कत्तिको विश्वास छ ?

हामी महिलामा विश्वास गर्छौं, विपन्न वर्गमा विश्वास गर्छौं, त्यो ग्रामीण समुदायमा विश्वास गर्छौं । ती हामीले सोचेभन्दा इमानदार छन् । यो मेरो अनुभवले सिद्ध गरेको छ । हामी कतै समस्याग्रस्त छौँ भने त्यो अवस्था यही काठमाडौंमा छ, यही बिल्डिङमा छ ।
हाम्रो अनुभवमा माइक्रोफाइनान्सका ग्राहक इमानदार छन्, पैसा तिर्छन् । त्यसैले नै ०४९ सालदेखि अहिलेसम्म धेरै वित्तीय संस्था दुर्घटनाग्रस्त भए, कतिपय समस्याग्रस्त भएका छन् । उनीहरूलाई राष्ट्र बैंकले रेस्क्यु गर्नुपरेको छ । तर, माइक्रोफाइनान्सलाई रेस्क्यु गर्नुपरेको छैन । यद्यपि, केही कमजोरी भने भएका छन्, केही संस्थालाई पिसिआर लगाउनुपरेको छ । यो क्षेत्रमा सकारात्मक कुरा मात्र छन् ।

वित्तीय साक्षरता र बैंकिङ पहुँचको विस्तारमा लघुवित्तको भूमिका महत्त्वपूर्ण छ । यसलाई अझ सशक्त बनाउन कस्ता कार्यक्रम आवश्यक छन् ?

यसमा दुईवटा पाटो केलाउनुपर्छ – वित्तीय पहुँच र समावेशी वित्तीय व्यवस्था । यी दुवैमा लघुवित्तको ठूलो देन छ । वित्तीय पहुँच पुर्‍याउन हामीले शिक्षित गर्‍यौँ । मानिसहरू आज ग्र्याजुएट हुनुभयो, अपडेट हुनुभयो । अर्कोतर्फ समावेशीको पाटोमा महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, मधेसी हुनुहुन्छ, पहाडिया हुनुहुन्छ, हिमाली हुनुहन्छ । हामीकहाँ सबैको समावेशी प्रतिनिधित्व छ ।

हाम्रा ४९ लाख सदस्य संख्यामा ९० प्रतिशतभन्दा बढी महिला हुनुहुन्छ । हिजो उहाँहरू मूल प्रवाहमा समावेश हुनुहुँदैनथ्यो, २० प्रतिशतमा मात्र वित्तीय पहुँच थियो, अहिले ४० प्रतिशत पुगेको छ । अहिले ८१ प्रतिशतसम्म वित्तीय पहुँच भन्छन् । योसँगै हामीले वित्तीय साक्षरता अभिवृद्धि गर्‍यौँ । हामीले यसबारे छलफल चलायौँ । यसमा कतिपय संघसंस्थाको भूमिका छ, कतिपय काम एनजिओले गरेका छन् । तर, व्यावहारिक रूपमा वित्तीय साक्षरता अभिवृद्धिमा लघुवित्तको महत्त्वपूर्ण देन छ । हामीले ब्याज यसरी तिर्नुपर्छ, कर्जा यसरी लिनुपर्छ, बचत यसरी गर्नुपर्छ भनेर सिकायौँ ।

लक्ष्मी लघुवित्तले वित्तीय साक्षरता भनेर कार्यक्रम नै गर्छ । महिलालाई त छँदै छ, विद्यालयका बालबालिकालाई, निश्चित उमेर समूहका बालबालिकालाई हामीले बैंकिङ प्रणाली यो हो भनेर वित्तीय साक्षरता दिन्छौँ । यसले वित्तीय साक्षरता बढेको छ र अझै बढाउनुपर्छ । यसमा सबैको योगदान हुनुपर्छ । साक्षर भएका छन् तर यसलाई निरन्तरता दिनुपर्छ किनकि यो कहिल्यै पूर्ण हुँदैन ।

देशव्यापी रूपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै आएको मिडिया इन्टरनेसनलका कार्यक्रमलाई यहाँले कसरी मूल्यांकन गर्दै आउनुभएको छ ? आगामी दिनका लागि के–कस्तो सल्लाह–सुझाब दिनुहुन्छ ?

मिडिया हाउस वित्तीय साक्षरता अभियानमा छ । वित्तीय साक्षरता बढाउँछु भन्नु सजिलो काम थिएन । तपाईंहरूले अभियान चलाउनुभयो । यसलाई काठमाडौंमा मात्र सीमित गर्नुभएन । त्यसलाई देशका विभिन्न क्षेत्रमा लैजानुभयो । यसले मानिसमा चेतना जगाउने काम गर्‍यो । यो कामलाई निरन्तरता दिनुपर्छ, जहाँ बढी आवश्यकता छ त्यो ठाउँमा लैजानुपर्छ । यसलाई दूरदराजसम्म फैलाउनुपर्छ । त्यसो गरेमा यसले व्यापकता लिन्छ । जति पनि काम भएका छन्, मिडियाले व्यावहारिक रूपमा फिल्डमा गरेका काम राम्रा छन् ।

लक्ष्मी लघुवित्तबारे समग्रमा बताउनुपर्दा के भन्नुहुन्छ ?

लक्ष्मी लघुवित्त स्थापना गर्नुअघि देशमा २२ वटा यस्ता संस्था थिए । हामी २३औँ नम्बरमा थियौँ । जताततै लघुवित्तका शाखा थिए । त्यसैले हामीले मध्यपहाडी जिल्लालाई लियौँ । पर्यवेक्षणको माध्यमबाट म स्वयंले अनुगमन र रेखदेख गर्न सक्ने गरी सिन्धुपाल्चोक, दोलखा र नुवाकोट जिल्लालाई लिएँ । त्यहाँका ग्रामीण भेगबाट मैले नै सुरु गरेँ । यो संस्था २०६७ सालमा दर्ता भएको हो । २०६८ फागुनमा हामीले लाइसेन्स पायौँ । २०६९ जेठबाट हामीले कारोबार सुरु गरेका थियौँ । पृथक् रूपमा कारोबार सुरु गर्नु सजिलो थिएन । त्यो भिडमा म हराउन चाहँदैनथेँ । हामी केही फरक योजना र कार्यक्रमका साथ अघि बढ्यौँ र अहिले यो अवस्थामा आइपुगेका छौँ ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

हामीले १० वर्षे द्वन्द्व, महाभूकम्प र अर्को सोच्दै नसोचेको कोभिडको महामारी झेल्यौँ । यी तीनवटा ठूला घटनाबाट हामी अगाडि बढेका हौँ । यो विषम परिस्थितिमा ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई चलायमान गराउने लघुवित्त मात्रै थियो । नेपालमा गरिबी न्यूनीकरण गर्न ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई बलियो बनाउनु नै अहिलेको विकल्प हो । त्यसमा लघुवित्तको महत्त्वपूर्ण देन र आवश्यकता छ ।


सोसिअल मेडिया