Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्रिप्टोकरेन्सी प्रयोग गर्ने सोचमा हुनुहुन्छ ? जान्नुहोस् फाइदा र बेफाइदा

२०७७ चैत्र ११ गते

बैंकिङ खबर –‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ – ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र एकाधिकारको नियन्त्रणमा पनि छैन । रुपैयाँ, डलर, युरो वा अन्य मुद्राजस्तै यो कुनै पनि राज्य, देश, संस्था वा सरकारद्वारा सञ्चालित हुँदैन । यो एक डिजिटल मुद्रा हो जसका लागि क्रिप्टोग्राफीको प्रयोग गरिन्छ । सामान्यतया, सामान किन्न वा सेवाका लागि यसको प्रयोग गर्न सकिन्छ ।
क्रिप्टोकरेन्सीको नाफा उच्च छ, अनलाइन किनबेचले गर्दा लेनदेन गर्न पनि सजिलो छ । क्रिप्टोकरेन्सीको कुनै नियामक निकाय छैन, त्यसैले नोसेट परिवर्तन वा मुद्रा अवमूल्यनजस्ता सर्तले यसलाई असर गर्दैन । जब २००९ मा बिटक्वइन सुरु गरिएको थियो त्यसवेला यसको मूल्य शून्य डलर थियो । २०१० मा पनि यसको मूल्य १ डलरसम्म पनि पुग्न सकेन तर आज बिटक्वइनको मूल्य ४४ हजार डलरभन्दा माथि पुगिसकेको छ ।

क्रिप्टोकरेन्सीका प्रकार
क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा बढी कीर्तिमान राखेर बजार तताउने बिटक्वाइन लोकप्रिय छ । बिटक्वइनबाहेक विश्वमा सयौँ अन्य क्रिप्टोकरेन्सी छन् । रेड क्वइन, सिया क्वइन, सिस क्वइन, भ्वाइस क्वइन, इथिरियम, रिपल, लिटक्वइन र मोनेरो यसका उदाहरण हुन् ।

क्रिप्टोकरेन्सी वैध कि अवैध ?
कुनै नियामक निकायको नियन्त्रणमा नहुने क्रिप्टोकरेन्सी कानुनी रूपमा वैध छ वा अवैध ? यो धेरैको दिमागमा खेलिरहने प्रश्न हो । यसको उत्तर सापेक्षिक छ । यसको वैधताको निक्र्योल तपाईं कुन देशमा बसेर यसको प्रयोग गर्दै हुनुहुन्छ भन्नेले गर्छ । यसको वैधता प्रयोगस्थलमा निर्भर हुनुको कारण विश्वका सबै देशले यसलाई मान्यता नदिनु हो । केही देशमा अझै पनि क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिइएको छैन, जसमा नेपाल पनि एक हो । त्यस्तै, केही देशले यसलाई ‘ग्रे जोन’मा राखेका छन्, अर्थात् त्यहाँ यसलाई न औपचारिक रूपमा प्रतिबन्धित गरिएको छ, न त यसको प्रयोगलाई मान्यता नै दिइएको छ ।

क्रिप्टोकरेन्सीका फाइदा
कुनै पनि कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । क्रिप्टोकरेन्सीका पनि फाइदा र बेफाइदा दुवै छन् । यसका बेफाइदा कम र फाइदा अधिक छन् ।
१. क्रिप्टोकरेन्सी एक डिजिटल करेन्सी हो जसमा फ्रड केसहरू धेरै कम हुन्छन् ।
२. अधिक पैसा भएको खण्डमा क्रिप्टोकरेन्सीमा लगानी गर्नु फाइदाजनक हुन्छ किनकि यसको मूल्य धेरै छिटो बढ्छ । यो लगानीको राम्रो प्लेटफर्म हो ।
३. अधिकांश क्रिप्टोकरेन्सीको वालेट उपलब्ध छन् जसका कारण अनलाइन सपिङ तथा पैसाको लेनदेन सरल भएको छ ।
४. क्रिप्टोकरेन्सी कुनै पनि एकाधिकारद्वारा नियन्त्रित छैन । त्यसैले यो करेन्सीको मूल्य घट्ने सम्भावना कम हुन्छ ।
५. त्यस्ता धेरै देश छन् जहाँ पुँजी नियन्त्रण हुँदैन । अर्थात् त्यहाँ कति पैसा देशमा भित्र्याउने र कति बाहिर पठाउने भन्नेबारे सीमा हुँदैन । त्यसकारण, क्रिप्टोकरेन्सी खरिद गरेर त्यसलाई सजिलैसँग देशबाहिर पठाउन सकिन्छ र यसलाई पैसामा रूपान्तरण गर्न सकिन्छ ।
६. क्रिप्टोकरेन्सीको सबैभन्दा बढी फाइदा त्यस्ता व्यक्तिलाई हुन्छ जसले आफ्नो धन लुकाउन चाहन्छन् । त्यसैले क्रिप्टोकरेन्सी पैसा लुकाउनसमेत उत्तम प्लेटफर्मका रूपमा देखापरेको छ ।

७. क्रिप्टोकरेन्सी मुद्रा पूर्ण रूपमा सुरक्षित छ । यसका लागि तपाईंले प्रमाणीकरण गर्नुपर्छ, किनभने यस्तो मुद्रा ब्लकचेनमा आधारित हुन्छ ।

क्रिप्टोकरेन्सीका बेफाइदा :

१. क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो बेफाइदा यसको भौतिक अस्तित्व नहुनु हो, कारण यसलाई प्रिन्ट गर्न सकिँदैन । न यो करेन्सीको नोट छाप्न सकिन्छ, न त कुनै बैंक खाता वा पासबुक जारी गर्न सकिन्छ ।
२. क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्ने कुनै देश, सरकार वा संस्था छैन, जसका कारण यसको मूल्यमा ठूलो उतार–चढाव भइरहन्छ । यसको मूल्यमा कहिले उछाल आउँछ त कहिले ठूलो गिरावट आउँछ, जसका कारण यसमा लगानी जोखिमपूर्ण छ ।
३. हात–हतियार खरिद, ड्रग्स सप्लाई, कालोबजारीजस्ता गलत कार्यमा यसको उपयोग सजिलै गर्न सकिन्छ किनभने यसको प्रयोग दुई व्यक्तिका बीचमा मात्र हुन्छ । त्यसैले यो खतरनाक पनि हुन सक्छ ।
४. यसमा ह्याक हुन सक्ने जोखिम पनि रहन्छ तर ब्लकचेन ह्याक गर्न सजिलो भने छैन । यसमा पूर्ण सुरक्षा व्यवस्था हुन्छ, यद्यपि यो मुद्राको कुनै मालिक नभएका कारण ह्याकिङ हुनबाट पूर्णतः जोगाउन पनि कठिन छ ।
५. ट्रान्जेक्सनमा केही गल्ती भएमा सच्याउन नमिल्नु यसको अर्को बेफाइदा हो । भूलवश बढी भुक्तानी गरिएमा प्रयोगकर्ताले त्यसलाई फिर्ता गराउन सक्दैन, जसले ठूलो घाटा निम्त्याउन सक्छ ।

Ad