Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मर्जरले हल्लिएको बैंकिङ क्षेत्र : मै हुँ भन्नेलाई पनि साख जोगाउन मुस्किल

२०७७ चैत्र ८ गते

बैंकिङ खबर/  केही वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द चर्चा र जनचासोको केन्द्रमा छन् । शाखासञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामर्थ्यका दुई वित्तीय संस्थाबीचको एकीकरण ‘मर्जर’ हो । सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भईकन पनि सामर्थ्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने गरिएको छ । यी दुई प्रक्रियामार्फत नेपालमा वित्तीय संस्थाको संख्या घट्ने प्रक्रिया जारी छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले कमजोर तथा साना बैंकहरूलाई मर्जर वा एक्विजिसनमा पठाएर बैंकको हालको संख्यालाई करिब आधामा झार्ने नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकको यो नीतिअनुरूप ढिलो–चाँडो बैंकहरूले यो प्रक्रियालाई आत्मसात् गर्नु नै छ । बैंकहरूले स्वयम् निर्णय लिन नसकेमा नियामक निकायले नै ‘फोर्स मर्जर’ गराउने बाध्यात्मक अवस्था सिर्जना हुनेछ । यसले साना तथा तुलनात्मक रूपमा कमजोर देखिएका बैंकहरूलाई मर्जर वा एक्विजिसन बाध्यात्मक बनाएको छ । यो बाध्यताको फाइदा उठाउँदै ठूला बैंकले सानालाई भरसक कम मूल्यमा एक्वाएर गर्न खोज्ने, एउटा संस्थासितको छलफलको निष्कर्ष ननिस्किँदै अन्य संस्थासित छालफल बढाउने प्रवृत्तिसमेत देखिएको छ ।अर्कोतर्फ ठूला तथा मजबुत व्यापार भएका बैंकहरू भने आफ्नो साख जोगाउने चुनौतीसित जुधिरहेका छन् । उनीहरू आफ्नो साबिकको ताज जोगाउन अन्य वित्तीय संस्थालाई प्राप्ति गर्न चाहन्छन् । साना बैंक सम्मानजनक मर्जर/एक्विजसनका लागि हात बढाइरहेका छन् भने ठूलाको ध्यानसाना बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्नुमा छ ।

ग्लोबल आइएमई र जनता बैंकको ‘बिग मर्जर’देखि नै चुक्तापुँजी र शाखासञ्जालको हिसाबले पछि परेका केही मजबुत बैंकहरू मर्जर वा एक्विजिसनका लागि उपयुक्त संस्थाको खोजीमा छन् । पछिल्लो समय मजबुत इतिहास र आधार भएका दुई वित्तीय संस्था नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया निष्कर्षउन्मुख भएको चर्चाले नबिल, एनआइसी एसियालगायत बैंकहरूलाई तताएको छ । इन्भेस्टमेन्ट र हिमालयनको मर्जरले सबैभन्दा ठूलो पुँजीको सुदृढ बैंक निर्माण गर्ने हुँदा आफ्नो साबिकको ताज गुम्ने डर यिनीहरूमा छ । त्यसैले उनीहरूपुँजी र आकार वृद्धिको कसरतमा छन् ।

मर्जर वा एक्विजिसनलाई लिएरयतिवेला नबिल बैंकबारे धेरैको उत्सुकता छ । नबिलसँग नाम जोडिएकै भरमा पुँजीबजारमा कम्पनीको सेयर मूल्यमा उछाल आउने गरेको छ । कारण, नबिल लगानीकर्तालाई राम्रो प्रतिफल दिँदै आएको मजबुत बैंक हो ।नबिलले बोसनबाटै निरन्तर पुँजी वृद्धि गर्दै आएको छ । पछिल्लोपटक (आव २०७६/७७) मात्र बैंकले बोनसमार्फत ३३.५ प्रतिशत पुँजी वृद्धि गरेको छ । बोनसपछि बैंकको चुक्तापुँजी करिब साढे १३ अर्ब पुगेको छ । द्वितीय बजारमा हाल वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मूल्य भएको बैंक नबिल नै हो ।

पछिल्ला केही महिनामा अनेक वाणिज्य बैंकको नाम नबिलसित जोडिएको छ । विशेषगरी एनसिसी, सिभिल, सेन्चुरी, नेपाल बंगलादेश बैंकसित नबिलले प्राप्तिसम्बन्धी छलफल बढाएका खबर घुमी घुमी आइरहेका छन् । केही दिनअघि मात्र नबिलले बंगलादेश बैंकसित छलफल चलाएकोबारे मिश्रित खबर प्रसारित भए । यसैबीच, नबिलका अध्यक्ष उपेन्द्र पौडेलले मुख खोले –नबिल एक्विजिसनमार्फत संस्था प्राप्तिका लागि उपयुक्त विकल्पको खोजीमा छ ।

अध्यक्ष पौडेलले मूलतः दुई कुरा स्पष्ट गरेका छन् – नबिल छिटै एक वा एकभन्दा बढी वित्तीय संस्थालाई एक्वाएर (प्राप्ति) गर्न खोजिरहेको छ, तर नबिल मर्जरमा भने जानेवाला छैन । पौडेलले एक्विजिसनका सम्बन्धमा एक महिनाभित्रै ‘गुड न्युज’ आउन सक्ने सम्भावना औँल्याएका छन् । सबै सूचकमा पहिलो बन्नका लागि अन्य वित्तीय संस्थालाई एक्वाएर गर्नु आवश्यक रहेको उनको भनाइ छ ।नबिलमा सबैभन्दा ठूलो हिस्सा नेपालका सबैभन्दा ठूला उद्योगपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुपको छ । ठूलो घरानाको नामका कारण पनि नबिल अरुलाई एक्वाएर गर्न चाहन्छ ।
अध्यक्ष पौडेलले विभिन्न वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट समेत एक्विजिसनका लागि प्रस्ताव आएको बताएका छन् ।नबिलको साधारणसभाले राम्रा कम्पनीलाई एक्वाएर गर्न बाटो खोलिसकेको छ । कुनै वाणिज्य बैंकसँगै चौधरी ग्रुपकै प्रमुख लगानी रहेको युनाइटेड फाइनान्सलाई समेत एकैसाथ नबिलमा मिलाइने आकलन पनि गरिएको छ । इन्भेस्टमेन्ट र हिमालयनको मर्जर टुंगोलगत्तै निर्णय लिने गरी नबिल तयारी अवस्थामा रहेको अनुमान विश्लेषकको छ ।

व्यापार विस्तारमा आक्रामक देखिएको एनआइसी एसिया बैंक पनि उपयुक्त पार्टनरको खोजीमा छ । पहिलोपटक दुई वाणिज्य बैंकबीचको मर्जरबाट बनेको एनआइसी एसिया बैंकको एनएमबी बैंकसित मर्जरको हल्ला निकै अघिदेखि चले पनि प्रक्रिया भने अगाडि बढेको छैन । सन् २०१३ मा तत्कालीन एनआइसी बैंक र बैंक अफ एसिया मिलेर एनआइसी एसिया बैंक बनेको हो । पछिल्ला बिग मर्जर अभ्यासले एनआइसीलाई पनि मर्जर वा एक्विजिसनमार्फत शक्ति वृद्धि गर्ने दबाब थपिएको छ । त्यसैगरी, चढ्दो क्रममा रहेका ग्लोबल आइएमई, प्रभु, प्राइमलगायत बैंकमाथि पनि बिग मर्जरको दबाब पर्ने भएको छ । सिटिजन्स बैंकले एकपछि अर्को संस्थालाई एक्वाएर गरिरहेको छ । केही समयअघि मात्र सहयोगी विकास बैंकलाई आफूमा मिलाएको सिटिजन्सले भर्खरै तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेको छ । यद्यपि, यसले सिटिजन्सको बिग मर्जरको सम्भावना टारेको भने छैन ।

अर्को ठूलो व्यापारिक घराना खेतान ग्रुपले प्रवर्धन गरेको लक्ष्मी बैंक बिग मर्जरमा जाने चर्चा चार वर्षअघि नै चुलिएको थियो । तत्कालीन अवस्थामा पहिलो रोजाइमा रहेको एभरेस्ट बैंकसित चलेको मर्जर छलफल अन्तिम अवस्थामा आएर सफल हुन सकेन । त्यसयता मर्जरका विषयमा खासै चासो नदेखाएका यी दुई बैंक पनि अब उचित निर्णयका लागि दबाबमा छन् । यस प्रक्रियामा सिभिल, सेन्चुरीजस्ता तुलनात्मक रुपमा कमजोर परफरमेन्स गरिरहेका बैंकहरू भने ‘सेफल्यान्डिङ’को खोजीमा छन् ।

विकास बैंकहरूको हकमा गाभ्ने–गाभिने प्रक्रिया तीव्र गतिमा चल्यो र चलि नै रहेको छ । कुनै समय तीन अंकको संख्या छुन लागेका विकास बैंकहरू अहिले डेढ दर्जनको संख्यामा सीमित भइसकेका छन् । यस्तै ट्रेन लघुवित्तमा पनि चलिरहेको छ । लघुवित्तहरूबीच पनि एकआपसमा मर्जर र प्राप्तिको क्रम जारी छ । समग्रमा नेपालका नियामक निकायमध्ये सबैभन्दा प्रभावी तथा परिणामदायक नेपाल राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक गिरावट र गुणात्मक विकासको प्रक्रिया तीव्र गतिमा बढिरहेको छ । यसले निकट भविष्यमै बैंक तथा वित्तीय संस्थाको संख्या हालको आधाको हाराहारीमा कायम रहने निश्चितप्रायः छ ।

 

Ad