सहकारी महासंघले बनायो १० वर्षे रणनीतिक योजना


बैंकिङ खबर राष्ट्रिय सहकारी महासंघले १० वर्षे रणनीतिक योजना तर्जुमा गरेको छ । काठमाडौंस्थित चन्दागिरीमा यहि चैत २ देखि ४ गतेसम्म भएको रणनीतिक योजना तर्जुमा कार्यशालाले दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघ भन्ने ध्येय तय गरेको हो । कार्यशाला गोष्ठीमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, मास्टर चेतना कोच इन्द्र गुरुङ, मनोपरामर्शदाता राजेश्वरी श्रेष्ठ र सहकारी प्रशिक्षक केशव पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

पूर्व अर्थ सचिव खनालले समयमा नै रणनीति तय गर्न सकियो भने यसले ल्याउने प्रतिफल राम्रो हुने बताउनुभयो । उहाँले सबैले स्वामित्व ग्रहण हुने गरी योजना तर्जुमा गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । गोष्ठीमा महासंघका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीको सहभागीता रहेको थियो ।

महासंघका अध्यक्ष मिनराज कडेँलले १० वर्षे रणनीति योजना प्राप्ति गर्न सकेको खण्डमा सहकारी अभियानमा ठूलो उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले असल मनसायका साथसहि निर्णय भएकाले सहकारी अभियानका लागि यो रणनीति योजना कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

अभियानलाई माथि उठान र महासंघलाई आत्मनिर्भर बनाउनका लागि रणनीतिक योजना फोकस भएको उहाँको बुझाइ छ । सहज वातावरण निर्माण, स्वनियमन र सुशासन, सवल सदस्य संघहरुको निर्माण, व्यावसायीक तथा आत्मनिर्भर महासंघ, सरोकारवालाबीच सुमधुर सम्बन्धलाई प्रमुख आधार बनाएर रणनीतिक योजनाको पहिलो ड्राफ तयार भएको महासंघले जनाएको छ । यसलाई अन्तिम रुप दिएर सार्वजनिक गरिने बताइएको छ ।


सोसिअल मेडिया