बैंकिङ खबर/ चालु आर्थिक वर्षको सात महिनामा व्यापार घाटा थोरै मात्र घटेको देखिएको छ । माघ मसान्तसम्म कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । कोभिड १९ कारण वैदेशिक व्यापार प्रभावित बन्दा आयातमा कमी आएका कारण व्यापार घाटा घट्ने अनुमान सर्वसाधारणको थियो । यद्यपि, गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यस वर्ष व्यापार घाटा झन् बढेको देखिएको छ ।
व्यापार घाटा आयात र निर्यातबीचको अन्तर हो । देशबाट निर्यात गरिएको वस्तुबाट भएको आम्दानीको तुलनामा देशमा विदेशबाट भित्र्याइएको वस्तुबापतको खर्च बढी भएमा व्यापार घाटा हुन्छ । देशमा आवश्यक अधिकांश वस्तुको आयात गर्नुपर्ने अवस्थाका कारण नेपालले बर्सेनि ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ । व्यापार घाटा न्यूनीकरणको एक मात्र उपाय आयात प्रतिस्थापन र निर्यात प्रवर्धन नै हो, जुन देशमा तीव्र औद्योगिकीकरण, प्राविधिक विकास र व्यावसायिक कृषिबाट मात्र सम्भव छ ।
चीनतर्फ ह्वात्तै घट्यो निर्यात
यस अवधिमा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २२.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात १० प्रतिशतले बढेको छ । तर, चीनतर्फको निर्यातमा भने ४७ प्रतिशतले कमी आएको छ । चीनतर्फ आयातमा समेत कमी आउनुले व्यापार नै कम भएको संकेत गर्दछ । कोभिड १९ को उद्गमस्थल भएकाले पनि चीनसितको व्यापार कम भएको सहजै अनुमान लगाउन सकिन्छ । अन्य मुलुकतर्पm भने यस्तो निर्यात ४.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।
वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, जुटका सामान, पस्मिना, धागो (पोलिस्टर तथा अन्य)लगायतका वस्तुको निर्यात बढेको छ । तर, पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायत वस्तुको भने निर्यात घटेको छ ।
यस अवधिमा सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।
भारतबाट बढ्यो, अन्य मुलुकबाट घट्यो आयात
चालु आवको सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई ८ अर्ब ३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । यस अवधिमा भारतमाथिको निर्भरता झन् बढेको देखिएको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ, जुन भारतबाहेक अन्य मुलुकको हकमा भने घटेको छ । यस अवधिमा चीनबाट हुने आयातमा १२.४ प्रतिशते कमी आएको राष्ट्र बैंकको तथ्यांक छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयातमा १०.८ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, एम.एस. बिलेट, सुन, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जालगायत वस्तुको आयात भने घटेको छ । महामारीका कारण लामो समय लकडाउन भएकाले नै पेट्रोलियम पदार्थको खपत र आयातमा कमी आएको हो ।
समीक्षा अवधिमा भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।