बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवाप्रदान गर्न अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्यास प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । ६ साउन ०७७ मा दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त गरेसँगै अबको केही दिनमै सेवा सुरु गर्ने बताएको छ ।
सोमबार मात्र राष्ट्र बैंकले अनुमति नलिई भुक्तानी सेवाप्रदायको काम नगर्न सचेत गराएको थियो । राष्ट्र बैंकबाट अनुमति नै नलिई विद्युतीय भुक्तानीको सेवाप्रदायकको काम गर्दै आएको पाइएपछि राष्ट्र बैंकले अनुमति लिएर मात्र काम गर्न सचेत गराएको हो ।
आइक्यास प्रालि युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको कम्पनी हो । नगदरहित कारोबारमा जोड दिने गरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रूपका रूपमा अगाडि बढाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईले बताए । राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको आधिकारिक लाइसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाइमा पुर्याउने गरी काम भइरहेको भट्टराईको दाबी छ ।
आइक्यास प्रालिले सञ्चालन गर्ने आइक्यास मोबाइल एप र आइक्यासको वेव प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानीलगायत सेवा लिन सकिने जानकारी कम्पनीका प्रबन्धनिर्देशक दीपेन्द्र विष्टले दिए ।