March 15th, 2021

सहकारीलाई रजिस्ट्रार लीलानाथ शर्माको निर्देशन : कोपोमिस कार्यान्वयनमा ल्याउनुहोस्

बैंकिङ खबर/  सहकारी संस्थाहरूले सहकारी तथा गरिबी निवारणसम्बन्धी एकीकृत तथ्यांक (कोपोमिस) मा तथ्यांक प्रविष्ट नगरेको प्रति सहकारी विभाग रुष्ट देखिएको छ । सहकारी विभागका रजिस्ट्रार लीलानाथ शर्माले सहकारीको अटेरीका कारण कोपोमिसमा तथ्यांक राख्न समस्या भएको बताए । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी पत्रकारिता तालिम समापन कार्यक्रममा रजिस्ट्रार शर्माले यस्तो जानकारी दिएका हुन् ।

कोपोमिस सहकारीको तथ्यांकलाई व्यवस्थित गर्न ल्याइएको अयाँ अवधारणा हो । तर, सहकारी संस्थाहरूको तथ्यांकलाई व्यवस्थित गर्न करोडौँको लगानीमा वर्षौं लगाएर तयार गरिएको कोपोमिस सहकारीकै अटेरीका कारण उपलब्धिविहीन बन्न पुगेको छ ।

रजिस्ट्रार शर्माले सहकारीहरूको तथ्यांकमा सन्तुष्ट हुन सक्ने अवस्था नरहेको बनाउँदै सबैलाई तोकिएको मापदण्डभित्र कार्य गर्न आग्रह गरे । उनले १० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीलाई ‘गो एएमएल’ सफ्टवेयर प्रणालीको प्रभावकारी कार्यान्वयन गर्नसमेत आह्वान गरे । उनले सहकारी ऐन २०७४ को कार्यान्वयनमा समेत जोड दिए ।

चालू आर्थिक वर्षभित्र प्रदेश १ मा सञ्चालित सबै सहकारीको तथ्यांक कोपोमिसमा प्रविष्ट गराइसक्ने योजना सरकारको छ । तर, यसको कार्यान्वयन सहकारी विभागका निम्ति निकै चुनौतीपूर्ण बनिरहेको छ । योजनाअनुसार आगामी वर्षभित्र सातै प्रदेशमा सञ्चालनरत सबै सहकारीको तथ्यांक कोपोमिसमा प्रविष्ट गराइसक्नुपर्नेछ । देशभर करिब ३० हजार सहकारी सञ्चालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]