चालु आर्थिक वर्षको ६ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित कारोबार करिब ९० प्रतिशत बढेको छ । खासगरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर कोडमार्फतको कारोबार पछिल्लो समय उल्लेख्य बढेको हो । नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले यो वर्ष क्यूआर कोडमा आधारित कारोबारलाई पहिलो प्राथमिकतामा राखेको छ ।
क्यूआर कोर्डमा आधारित कारोबारको विकास तथा विस्तारका लागि राष्ट्र बैंकले पनि प्रयास गरिरहेको छ । यसअनुसार क्यूआर कोडमा आधारिक कारोबार सुरु गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह मात्र होइन, सहजीकरण पनि गरिरहेको छ । सोही क्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा बढी स्थानमा क्यूआर कोड कारोबारको शुभारम्भ गरिसकेका छन् ।
सुरुमा गत पुसमा सानिमा बैंकले नक्सालस्थित तरकारी बजारबाट क्यूआर कोडमार्फत कारोबार थालेको थियो । त्यसपछि पुस २४ मा प्रभु बैंकले कालिमाटी तरकारी बजार, माघ ९ मा ग्लोबल आईएमई बैंकले ललितपुरस्थित नख्खु तरकारी बजार, माघ १६ मा नबिल बैंकले कुलेश्वरस्थित तरकारी बजार र एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडको कारोबार सुरु गरेका थिए । गत माघ २१ मा माछापुच्छ्ेर्र बैंकले काठमाडौं तीनकुनेस्थित तरकारी बजार, माघ ३० मा सिभिल बैंकले सिन्धुली बजार र यही फागुन ७ मा बंगलादेश बैंकले चाबहिल तरकारी बजारमा क्यूआर कोडको कारोबार सुरु गरेका छन् । सबै स्थानमा गभर्नर अधिकारीले क्यूआर कोडको कारोबार शुभारम्भ गरेका हुन् । यसले पनि क्यूआर कोडमा आधारित कारोबार विस्तार राष्ट्र बैंकको प्राथमिकतामा परेको पुष्टि हुने जानकारहरु बताउँछन् ।
क्यूआर कोडमा आधारितसँगै अन्य विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको छ । यसअनुसार भुक्तानी प्रणाली सुदृढीकरण गर्न र सबै प्रकारका विद्युतीय कारोबारको अभिलेख कायम गर्न नेपाल क्लियरिङ हाउसलाई राष्ट्रिय भुक्तानी स्विचको स्थापना गर्न राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।
‘विद्युतीय भुक्तानीमा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न यससम्बन्धी मापदण्डको मस्यौदा तयार पारिएको छ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ, ‘विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गरिनेछ ।’ क्यूआर कोडलगायतका विद्युतीय कारोबारको प्रवर्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने घोषणा पनि मौद्रिक नीतिमा छ ।
विद्युतीय कारोबारको प्रवर्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गर्दै छ । यो व्यवस्थाले विद्युतीय कारोबार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाको खर्च बढ्ने राष्ट्र बैंकले जनाएको छ ।
क्यूआर कोडसँगै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको कारोबार पनि पछिल्ला महिनामा बढ्दो छ । अहिले वाणिज्य बैंक र भुक्तानी सेवा प्रदायकहरुले क्यूआर कोडमार्फत कारोबार (भुक्तानी) गर्ने सुविधा उपलब्ध गराएका छन् । बैंकका मोबाइल एप, भुक्तानी सेवा प्रदायक र मोबाइल वालेटले क्यूआर कोडको सुविधा उपलब्ध गराएकै कारण प्रयोगकर्ता बढेको बताइएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको राष्ट्र बैंकले बताउँदै आएको छ ।
योसँगै इन्टरनेट बैंकिङ प्रयोग पनि बढ्दो छ । यसअनुसार गत पुसमा मात्र इन्टरनेट बैंकिङमार्फत ६ अर्ब ५० करोडको कारोबार भएको थियो । मंसिरमा इन्टरनेट बैंकिङमार्फत ७ अर्ब २० करोड र साउनमा ३ अर्ब ८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत पुसमा मात्र मोबाइल बैंकिङमार्फत ३३ अर्ब १५ करोडको कारोबार भएको थियो । मंसिरमा मोबाइल बैंकिङमार्फत ३० अर्ब २८ करोड र साउनमा १८ अर्ब ३९ करोड रुपैयाँबराबर कारोबार भएको थियो । कान्तिपूर दैनिकमा प्रकाशित समाचार