February 17th, 2021

आयातले बढायो कर्जा, तरलतामा दबाबको संकेत

पछिल्ला महिनामा आयात बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा देखिन थालेको छ । जसकारण निक्षेप अपेक्षित रूपमा बढ्न सकेको छैन भने कर्जा विस्तार उच्च छ । यसको प्रमुख कारण बढ्दो आयातसँगै पछिल्ला आर्थिक गतिविधिहरू नै रहेको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार गत साता वाणिज्य बैंकहरूको निक्षेप २ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह २९ अर्ब रुपैयाँले बढेको देखिन्छ । गत माघमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४ अर्ब रुपैयाँले मात्र बढेको छ । कर्जा प्रवाह भने ७३ अर्ब रुपैयाँले वृद्धि भएको छ । यसले पनि निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दर उच्च रहेको विज्ञहरूको भनाइ छ । आउँदा महिनामा पनि निक्षेप र कर्जाको वृद्धिदरबीचको अन्तर बढ्दै गए वित्तीय प्रणालीमा तरलता दबाबमा पर्ने उनीहरूको अनुमान छ ।
 
पछिल्ला साता निक्षेपभन्दा कर्जा धेरैले बढेकाले बैंकहरूमा निकट भविष्यमा तरलता अभाव हुने अनुमान गरिए पनि कम्तीमा तीन–चार महिना त्यो अवस्था नआउने बैंकर्स संघका अध्यक्ष भुवन दाहालको दाबी छ । ‘अझै सीसीडी अनुपातमा दबाब छैन, भारित औसत अन्तरबैंक दर ०.५४ प्रतिशत छ,’ उनले भने, ‘बैंकहरूले अझै पनि सजिलै थप २ खर्ब रुपैयाँ बराबर कर्जा विस्तार गर्न सक्छन् ।’ तीन–चार महिनापछि मुलुकको अवस्था के हुन्छ, त्यसका आधारमा तरलता अधिक वा कम भनेर विश्लेषण गर्न सकिने दाहालले बताए । आयात बढेको, अर्थतन्त्रका सबै क्षेत्रबाट कर्जा माग आउन लागेको, प्रतीतपत्र (एलसी) कारोबार बढेकोलगायत कारण कर्जा प्रवाह धेरै भएको उनको भनाइ छ । यही अवस्था कायम रहे बिस्तारै ब्याजदर बढ्ने उनको अनुमान छ ।

राष्ट्र बैंकका अनुसार गत पुसमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह १ खर्ब ४० अर्ब रुपैयाँ बढेको छ । सोही अवधिमा निक्षेप संकलन १ खर्ब ९ अर्ब रुपैयाँ छ । गत चैत ११ देखि सरकारले लकडाउन सुरु भएको थियो । सोही कारण भदौ, असोज र कात्तिक दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार ठप्प रह्यो । कात्तिक दोस्रो सातादेखि कर्जा माग बढ्न थाल्यो । यसअनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह करिब १५ प्रतिशत बढेको छ ।

लकडाउनका कारण गत चैतयता आयात पनि घटेको थियो । गत असोजदेखि बिस्तारै आयात बढ्न थालेको छ । आयात वृद्धि भएसँगै कर्जा विस्तार पनि बढेकाले त्यसलाई आयात प्रभावका रूपमा हेरिएको छ । गत असोजमा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको कुल आयात भएको थियो । त्यसपछिका महिनामा पनि आयात बढिरहेको छ । जसअनुसार कात्तिकमा १ खर्ब १० अर्ब, मंसिरमा १ खर्ब २३ अर्ब र पुसमा १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत असोजमा १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । कात्तिक र मंसिरमा केही घटेर क्रमशः २६ अर्ब र ७० अर्ब रुपैयाँ कर्जा विस्तार भयो । तर पुसमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह १ खर्ब ४० अर्ब रुपैयाँ छ ।

पछिल्ला महिनामा आयात बढेको, कर्जा माग पनि वृद्धि भएकोलगायत तरलतामा कमी आएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । यही अनुपातमा कर्जा विस्तार र आयात बढे बिस्तारै तरलतामा दबाब पर्ने उनको भनाइ छ । ‘अहिले समस्या छैन,’ उनले भने, ‘आयात र कर्जाको वृद्धि हेर्दा बिस्तारै तरलतामा केही दबाब आउन सक्छ ।’

राष्ट्र बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा करिब ५२ अर्ब रुपैयाँ अधिक तरलता छ । हाल विभिन्न औजारमार्फत राष्ट्र बैंकले करिब साढे ५१ अर्ब रुपैयाँ बजारबाट तानेको छ । केही दिनपछि उक्त पैसा बैंक तथा वित्तीय संस्थामा फर्किनेछ । सो रकम पनि जोड्दा हाल करिब १ खर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुनर्कर्जाबापतको पैसा बजारमा गएकाले वित्तीय प्रणालीमा तरलता कायमै रहेको राष्ट्र बैंकको दाबी छ । चालु आबाट राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि परिमार्जन गरेको छ । नयाँ व्यवस्थाअनुसार गत माघसम्म ८७ अर्ब ८७ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृति भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ पनि आन्तरिक ऋण उठाउने लक्ष्य छ । यसअनुसार पहिलो त्रैमासमा ५७ अर्ब रुपैयाँ उठाइसकेको छ । दोस्रो त्रैमासमा ५६ अर्ब रुपैयाँ उठाउँदै छ । यसले पनि बजारमा तरलतामा दबाब पर्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार गत सातासम्म बैंक तथा वित्तीय संस्थाको औसत सीसीडी अनुपात ७६ प्रतिशत छ । सो अवधिमा केही बैंकहरूको यस्तो अनुपात ८० प्रतिशतभन्दा बढी छ । तर औसतमा सीसीडी अनुपात कम नै रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बैंकरहरूको दाबी छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]