February 2nd, 2021

बिमा शुल्क संकलन २५ प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिमा कम्पनी (जीवन र निर्जीवन) ले कुल ३६ अर्ब ६१ करोड रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिमा शुल्क संकलन २५.६७ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस्तो बिमा शुल्क २९ अर्ब १३ करोड रुपैयाँ थियो । कोभिड–१९ को असरले अर्थतन्त्र नै ठप्प हुँदा बिमा व्यवसाय पनि प्रभावित बन्यो । तर बिमा शुल्क संकलनको तथ्यांकमा कोभिडको असर नदेखिएको जानकार बताउँछन् । बिमा शुल्क संकलनमा असर नदेखिए पनि कम्पनीको नाफा प्रभावित भएको उनीहरूको भनाइ छ ।

गत पुससम्म जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन करिब ३९ प्रतिशत बढेको बिमा समितिको तथ्यांक छ । यसअनुसार गत पुससम्म जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क संकलन २१ अर्ब २५ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बिमा शुल्क १५ अर्ब ३० करोड रुपैयाँ थियो । तथ्यांकमा बिमा शुल्क संकलनको वृद्धि राम्रो देखिए पनि व्यावसायिक विस्तार तथा नाफा प्रभावित भएको जीवन बिमक संघका पूर्वअध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘लकडाउनका कारण अर्थतन्त्र ठप्प भएको समयमा बिमा कम्पनीहरूले काम गर्न पाएनन्,’ उनले भने, ‘अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएको समयमा बिमा मात्र अछुतो रहने हुँदैन ।’

जीवन बिमा कम्पनीको ठूलो पुँजी वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा रहन्छ । अहिले निक्षेपको ब्याजदर धेरैले घटेको छ । वित्तीय विवरणमा यसको असर पनि देखिने उनको अनुमान छ । गत पुससम्म निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन करिब ११ प्रतिशत मात्र बढेको छ । यसअनुसार गत पुससम्म जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क संकलन १५ अर्ब ३६ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बिमा शुल्क १३ अर्ब ८३ करोड रुपैयाँ थियो । गत वर्षदेखि निर्जीवन बिमा कम्पनीहरूले कोरोना बिमा लेख जारी गरेका छन् । कोभिड–१९ का संक्रमित बढेसँगै कोरोना बिमा गर्ने बिमितको संख्या पनि उल्लेख्य छ । बिमा दाबी भुक्तानी प्रक्रियालाई कम्पनीहरूले अझै सहज बनाउन सकेका छैनन । यहीकारण केही हदसम्म बिमा कम्पनीहरूप्रति नागरिक सशंकित छन् । यद्यपि पछिल्ला महिनामा दाबी भुक्तानी प्रक्रिया विस्तारै लयमा आएको कम्पनीहरूको दाबी छ ।

निर्जीवन बिमा कम्पनीको कुल प्रिमियममा कोभिड–१९ को बिमाबाट आएको प्रिमियम हटाउँदा ४/५ प्रतिशत मात्र वृद्धि देखिने संघका पूर्वअध्यक्ष विजयबहादुर शाहले बताए । ‘कोरोना बिमाबापतको दायित्व भुक्तानी बिमा पुलमार्फत भएको छ,’ उनले भने, ‘यसकारण सबै बिमा कम्पनीलाई समान रुपमा दायित्व परेको छ ।’ त्योबाहेक बिमाको व्यावसायिक विस्तार तथा नाफा कोभिडको असरले प्रभावित भएको उनको भनाइ छ । यद्यपि अहिले सेयर बजार बढिरहेकाले धेरै बिमा कम्पनीले त्यसबाट नाफा सुरक्षित गरेका छन् । ‘यसकारण चालू आर्थिक वर्षको नाफामा धेरैले कमी नआउन सक्छ,’ उनले थपे, ‘तर, आगामी दिनमा कम्पनीहरूको वित्तीय विवरणमा कोभिडको असर प्रत्यक्ष रूपमा देखिनेछ ।’

गत पुससम्म निर्जीवन बिमा कम्पनीहरूले करिब १५ लाख १४ हजार ६ सय बिमालेख विक्री गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या १२ लाख ५५ हजार ८ सय थियो । गएको ६ महिनामा जीवन बिमा कम्पनीहरूले नवीकरण बिमा शुल्कबापत ४१ अर्ब ८० करोड रुपैयाँ संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बिमा शुल्क करिब ३१ अर्ब रुपैयाँ थियो । पछिल्ला वर्षहरूमा बिमा पहुँच बढेको छ ।

 

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]