January 26th, 2021

निर्जीवन बीमा ९.९० प्रतिशतले बढ्यो

जीवन बीमाको तुलनामा निर्जीवन बीमा व्यवसायको विस्तार अन्त्यन्त न्यून देखिएको छ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) मा जीवन बीमाको व्यवसाय उत्साहजनक रूपमा बढेको छ । बैंक तथा अन्य वित्तीय क्षेत्रको विस्तार पनि राम्रो छ । तर, निर्जीवन बीमा व्यवसायको विस्तार भने तिनको दाँजोमा कम देखिएको छ । चालू आवको पहिलो ६ महीनामा जीवन बीमाको व्यवसाय ३२ दशमलव १२ प्रतिशतले बढेको छ । तर, निर्जीवन बीमाको व्यवसाय ९ दशमलव ९० प्रतिशत मात्रै बढेको छ । गत आवको यही अवधिमा निर्जीवन बीमा व्यवसाय १५ प्रतिशतभन्दा बढीले बढेको थियो ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीले यस अवधिमा रू. १५ अर्ब २० करोड बीमाशुल्क संकलन गरेका छन् । उनीहरूले गत आवको सोही अवधिमा पनि १३ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सरकारी स्वामित्व राष्ट्रिय बीमा कम्पनीले भने समीक्षा अवधिको वित्तीय विवरण पेश नगरेको बीमा समितिको भनाइ छ ।

निर्जीवन बीमा व्यवसाय बैंक तथा वित्तीय कारोबारसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । बैंक तथा वित्तीय संसथाहरूले जेजति क्षेत्र तथा सम्पत्तिमा ऋण लगानी गर्छन् तीमध्ये अधिकांशमा बीमा गर्नुपर्ने हुन्छ । जस्तै, बैंकबाट कर्जा लिएर बनाइने घरको बीमा अनिवार्य रूपमा गर्नुपर्छ । तर, पछिल्लो समय बैंकहरूले बीमायोग्य सम्पत्तिमा लगानी बढाएका छैनन् । त्यसको असरले पनि निर्जीवन बीमा व्यवसाय व्यापक हुन नसकेको हो ।

पछिल्लो समय नयाँ सवारीसाधनको विक्री घटेको छ । फलस्वरूप मोटर बीमामार्फत हुने आम्दानी पनि बढ्न सकेको छैन । यिनै कारण निर्जीवन बीमा व्यवसायको वृद्धि व्यापक रूपमा हुन नसकेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले बताए ।

शेयरबजारमा लगानी बढ्दा पनि बीमा व्यवसाय प्रभावित भएको हुन सक्ने उनको भनाइ छ । ‘शेयरतर्फ लगानी बढ्दा बीमायोग्य सम्पत्तिमा त्यति लगानी नभएको हुन सक्छ । त्यसको कारणले पनि निर्जीवन बीमा व्यवसायमा केही असर पुगेको अनुमान छ,’ उनले भने ।

मोटर बीमामा गत चैत ११ गतेदेखि लगाइएको लामो बन्दाबन्दी अवधिको बीमाशुल्क छूट दिने प्रावधानले पनि बीमाशुल्क संकलन प्रभावित भएको हो । बीमा समितिले यसअघि नै एक परिपत्र जारी गर्दै मोटर बीमामा बन्दाबन्दी अवधिको बीमाशुल्क छूट दिन कम्पनीहरूलाई निर्देशन दिएको थियो । कम्पनीहरूले अहिले उक्त छूटबापतको रकम समायोजन गरेर मोटर बीमाको पोलिसीहरू नवीकरण गर्दै आएका छन् । त्यसको असरले पनि निर्जीवन बीमा व्यवसाय प्रभावित भएको वल्लभको भनाइ छ ।

कोरोना महामारीमा भएको यो वृद्धिलाई सन्तोषजनक मान्नुपर्ने उनको भनाइ छ । ‘निर्जीवन बीमा व्यवसायको विस्तारमा केही संकुचन आएको हो नै,’ उनले भने, ‘तर, अहिलेको असामान्य परिस्थितिमा सन्तोषजनक नै छ ।’

नेपालमा जीवन बीमा कम्पनीभन्दा निर्जीवन बीमा कम्पनीको संख्या धेरै छ । तर, व्यवसायमा भने निर्जीवन बीमा कम्पनीहरू पछाडि पर्दै गएका छन् । पछिल्ला ३/४ वर्षमा जीवन बीमाको व्यवसाय ह्वात्तै बढेको छ । तर, निर्जीवन बीमा व्यवसाय सोचेअनुरूप अगाडि बढ्न नसकेको कम्पनीका अधिकारीहरू बताउँछन् । जीवन बीमा बजारको तुलनामा निर्जीवन बीमा बजार एकदमै सुस्त गतिमा विस्तार भएको कम्पनीहरूको टिप्पणी छ । बीमा समितिका अधिकारीहरू पनि निर्जीवन बीमाको व्यवसाय सोचेअनुरूप विस्तार नभएको स्वीर्काछन् ।

समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ ।

कम्पनीले रू. २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो बढी बीमा शुल्क संकलनमा गर्नेमा नेको इन्स्योरेन्स रहेको छ, जसले १ अर्ब ३५ करोड संकलन गरेको छ । त्यसपछि सगरमाथाले रू. १ अर्ब ३३ करोड बीमाशुल्क संकलन गरेको छ । ६ महीनामा ५ कम्पनीले अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् भने अन्य कम्पनीको त्यो भन्दा कम बीमाशुल्क संकलन गरेका छन् । २०७५ असारदेखि सञ्चालनमा आएका सानिमा जनरल, अजोड र जनरल इन्स्योरेन्समध्ये अजोड बलियो देखिएको छ । समीक्षा अवधिमा उक्त कम्पनीले रू. ६३ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, जनरलले रू. ३५ करोड र सानिमा जनरलले रू. २८ करोड बीमाशुल्क संकलन गरेका छन् ।

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]