एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला

नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले अभैm ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न पुनः आवेदन खुला गरेको हो । यस्तो सुविधा उपयोगका लागि बैंक तथा वित्तीय संस्थाहरू (वाणिज्य, विकास र वित्त कम्पनी)ले माघ १६ गतेसम्म ग्राहकको सूचीसहित आवेदन पेश गर्नुपर्नेछ ।

यसअघि भदौ १ गतेदेखि असोज मसान्तसम्म एकमुष्ट पुनर्कर्जाका लागि आह्वान गरिएको थियो । उक्त आह्वानमा रू. १ खर्ब ४८ अर्ब मध्ये ५० अर्ब मात्र गएकाले बाँकीका लागि फेरि सूचना जारी गरिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । यससँगै राष्ट्र बैंकले पुनर्कर्जा कोष करीब रू. ४२ अर्ब बराबरको भए पनि यसको ५ गुणा अर्थात् २ खर्ब १२ अर्ब रुपैयाँ बराबरको यस्तो कर्जा दिन सक्ने क्षमता भएको उनले बताए ।

यद्यपि पुनर्कर्जाका लागि छुट्याएको २ खर्बमध्ये चालू आवमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत ७० प्रतिशतलाई दिने कार्यविधिमा व्यवस्था गरेको छ । साथै यसमध्ये २० प्रतिशत पुनर्कर्जा भने राष्ट्र बैंकले मूल्यांकनका आधारमा वितरण गर्ने छ । यसबाहेक बाँकी १० प्रतिशत लघुवित्त संस्थामार्फत पुनर्कर्जा वितरण गर्ने व्यवस्था मौद्रिक नीतिले गरेअनुसार कार्यविधिमा समेत उल्लेख छ । तर, अझैसम्म पनि यस्तो कर्जा लघुवित्तका लागि भने वितरण गरिएको छैन ।

यद्यपि, पछिल्लो समय अर्थ मन्त्रालयले लघुवित्तका लागि अव्यावहारिक प्रक्रियालाई मिलाएर सुविधा दिन राष्ट्र बैंकलाई पत्र पठाएको थियो । अब राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको एकमुष्ट पुनर्कर्जा लघुवित्त वित्तीय संस्थाहरूलाई छुट्याएको जानकारी दिँदै कार्यकारी निर्देशक ढकालले यसको तयारी पनि अब छिटै हुन लागेको बताए ।

पुनर्कर्जा कार्यविधिले उद्यमी स्वयम् कारोबार तथा व्यवसायमा संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रू. १५ लाखसम्मको कर्जालाई ‘लघु, घरेलु तथा साना उद्यम कर्जा’ मानेको छ । कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिएको छ । लघु उद्यम र विशेषमा नपरेका र बैंकले समयसमयमा तोकेको सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जा भनेर कार्यविधिले तोकेको छ ।

एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको अवधि बढीमा १ वर्षको मात्र हुने र यस्तो कर्जा नवीकरण हुने छैन । तर, ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जा भने कोरोनाबाट अतिप्रभावितलाई बढीमा १ वर्ष र मध्यम तथा न्यूनप्रभावितलाई ६ महीनाका लागि दिइनेछ । यो पुनर्कर्जा भने नवीकरण गर्न सकिने राष्ट्र बैंकले बताएको छ । यस्तो कर्जाको अधिकतम सीमा रू. ५ करोडसम्म रहेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र साधारण पुनर्कर्जा ऋणीले ५ प्रतिशत ब्याजदरमा पाउनेछन् । विशेष पुनर्कर्जा भने ३ प्रतिशतमा ऋणीले उपयोग गर्न पाउनेछन् ।  बैंकले कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २० प्रतिशतसम्म मात्र माग गर्न सक्नेछन् । यस्तो कर्जा पाउनयोग्य ऋणीको भुक्तान अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फ कर्जा उपयोग गरेका ऋणीको हकमा भने नदोहोरिने गरी मात्र आवेदन स्वीकृत गर्ने बताएको छ । राष्ट्र बैंकका अनुसार बैंकहरूले पुनर्कर्जाका लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्ने छ । बैंकहरूले आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँचओटा ग्राहक तथा ऋणी समेटिएको हुनुपर्ने छ । यस्तो सुविधाका लागि रीतपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आनवेदनलाई स्वीकार नगर्ने राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले यस्तो रकम प्राप्त गरेपछि कोभिड प्रभावित पुराना ऋणीलाई यसअघि दिएको जतिसुकै ब्याजदर भए पनि त्यसलाई घटाएर ५ प्रतिशत मात्र लिनुपर्ने छ । यसपछि त्यसबापत प्राप्त रकम भने बैंकहरूलाई कर्जा प्रवाहमा लगाउन पूँजी जुट्नेछ ।

 

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


सोसिअल मेडिया