Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारी भने– ‘सस्तो कर्जा प्रवाहमा बेवास्ता नगर्नुस्’

२०७७ पुष १५ गते

सरकारको निर्देशनमा राष्ट्र बैंकले लागु गरेको सस्तो कर्जा प्रवाहमा बेवास्ता नगर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । पुनर्कर्जा, सहुलियत कर्जा, व्यावसायिक निरन्तरता कर्जालगायत सस्तो ब्याजदरका कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाले खासै चासो नदिएको समयमा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

बैंकर्स संघको वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै अधिकारीले भने, ‘राष्ट्र बैंकले करिब ८५ अर्ब रुपैयाँको पुनर्कर्जा स्वीकृत गरिसकेको छ । तर, बैंक तथा वित्तीय संस्थाबाट थोरै मात्र प्रवाह भएको पाएका छौं । कर्जा प्रवाहमा बेवास्ता गर्न भएन ।’ सस्तो ब्याजदरको कर्जा प्रवाहको स्थितिबारे राष्ट्र बैंकले छिट्टै बैंक तथा वित्तीय संस्थाको कार्यप्रगति मूल्यांकन गर्ने पनि उनले बताए । ‘आउँदो वैशाखमा बैंकहरूको मूल्यांकन गरिनेछ,’ उनले भने । राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको बताउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभावकारी ढंगले अघि बढाउन उनले बैंकहरूलाई निर्देशन दिए ।

‘बैंकहरू मर्जरमा जान चाहे राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने छ,’ उनले थपे । नेपाल राष्ट्र बैंकको पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट बाहिर आउन सबै एकजुट भएर लाग्नुपर्नेमा सुझाए । कोभिड–१९ को नकारात्मक प्रभावले सिर्जित असहज स्थितिमा आफू बचौं र अरूलाई पनि बचाऊँ भन्ने मूल मन्त्रका साथ बैंकर तथा अन्य व्यवसायीहरू अघि बढ्नुपर्ने अवस्था रहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भए तापनि केही क्षेत्रबाहेक प्रायः क्षेत्र हाल सञ्चालनमा आएकाले आशाको सञ्चार भएको उनको भनाइ छ ।

गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाहको वृद्धिदर २० प्रतिशत बढिरहनुले पनि उक्त विषय पुष्टि हुने उनको दाबी छ । बैंकहरूको वित्तीय अवस्थामा दबाबका बाबजुद पुँजी कोषको अवस्था न्यूनतम ८।५ प्रतिशतभन्दा धेरै माथि रहेकाले निक्षेपकर्ताले असुरक्षित ठान्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘निक्षेप तथा कर्जाको वृद्घिदर सन्तोषजनक छ,’ उनले भने, ‘गाउँगाउँमा आधुनिक बैंकिङ सुविधा पुगेको छ ।’ हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको छ । यद्यपि यो विषयलाई सम्बोधन गर्न बैंकहरू प्रयासरत रहेको उनले बताए । कार्यक्रममा संघले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर सत्येन्द्रप्यारालाई सम्मानित गरेको छ ।

संघको उपाध्यक्षमा उपाध्याय

बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध चुनिएका छन् । यसअघिका उपाध्यक्ष एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भाटनगरको कार्यकाल सकिएपछि उक्त पद खाली थियो । साधारणसभाले सोही पदमा उपाध्यायलाई चुनेको हो । यस्तै, संघको कार्यकारिणी सदस्यमा एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

ऋणको अग्रिम भुक्तानी र स्वाप शुल्क घटाउन माग

कर्जाको अग्रिम भुक्तानी र अर्को बैंकमा सार्दा (स्वाप) लाग्ने शुल्क घटाउन नेपाल उद्योग परिसंघ ९सीएनआई० ले माग गरेको छ । सीएनआईका पदाधिकारीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मंगलबार यस्तो आग्रह गरेका हुन । ‘कर्जा अग्रिम भुक्तानीको शुल्क धरै भएको छ,’ परिसंघका अध्यक्ष सतीशकुमार मोरले भने, ‘स्वपुँजी वा व्यवसायबाट आर्जित नाफा वा नगद प्रवाहबाट कर्जा अग्रिम भुक्तान गर्न नपाउनु व्यावसायिक सिद्धान्तको विपरीत छ ।’

छलफलमा सेयरको धितोमा कर्जा प्रवाह, अधिविकर्ष कर्जा र कर्जाको अग्रिम भुक्तानी शुल्कका सम्बन्धमा छलफल भएको थियो । सेयरको धितोमा कर्जा प्रवाहमा हाल भएको व्यवस्थाले जलविद्युत्लगायत भौतिक पूर्वाधारका योजना तथा सार्वजनिक निजी साझेदारीको लगानीमा बन्ने पूर्वाधारका योजनाको लगानी प्रभावित हुने परिसंघको धारणा छ ।

एक बैंकबाट प्रतिव्यक्ति अधिकतम ५० लाख रुपैयाँ अधिविकर्ष कर्जा प्रवाह गर्न पाइने यसअघिकै व्यवस्था लागु गर्न परिसंघले माग गरेको छ । दुई वर्ष लगातार घाटामा रहेका उद्योगलाई सूक्ष्म निगरानीमा राखी कर्जामा थप प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले घाटामा सञ्चालनमा रहेका उद्योगलाई थप मर्का पर्ने भएकाले सो समयलाई ५ वर्ष बनाउनुपर्ने परिसंघको माग छ ।

‘पुनर्कर्जा प्रवाहको प्रक्रियागत कठिनाइ रहेकाले धेरै उद्योगले उक्त सुविधा उपभोग गर्न पाएका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कर्जा प्रक्रियामा पनि अत्यन्त ढिलाइ भइरहेको छ । यसलाई सरलीकृत गरिनुपर्छ ।’ विदेशी विनिमय सम्बन्धमा विदेशी परामर्श सेवाबापत हुने भुक्तानीलाई १० हजार अमेरिकी डलर वा सो सरह भारतीय रुपैयाँ गरिनुपर्ने, टीटीमार्फतको भुक्तानीलाई ४० हजार अमेरिकी डलर गरिनुपर्ने र पासपोर्टमा सटही सुविधा २ हजार ५ सय अमेरिकी डलर गरिनुपर्ने परिसंघको माग छ ।

परिसंघले विदेशी मुद्रामा भारतबाट आयात गर्न पाउने वस्तुको सूचीमा थप १० वस्तुहरूसमेत थप गर्न राष्ट्र बैंकसँग माग गरेको छ । छलफलमा राष्ट्र बैंकका गभर्नर अधिकारीले निजी क्षेत्रबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा लिई सकेसम्म निजी क्षेत्रको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । राष्ट्र बैंकले ८५ अर्वको पुनर्कर्जाको व्यवस्था गरे पनि हालसम्म १० अर्ब रुपैयाँ मात्र प्रवाह भएको छ । यसकारण पुनर्कर्जाको लाभ लिन उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न गभर्नर अधिकारीले परिसंघलाई आग्रह गरे ।

 

 

कान्तिपूर दैनिकमा प्रकाशित समाचार ।

Ad