राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १०औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै अध्यक्ष कँडेलले सहकारीका कारण गरिबी निवारण भएको बताए। ‘जहाँ सहकारीको उपस्थिति बाक्लो छ, त्यहाँ गरिबी पनि कम छ’, उनले भने। रोजगारी सिर्जना, उत्पादन र गरिबी निवारणमा सहकारी क्षेत्रको भूमिका आवश्यक भएको उनको भनाइ थियो। आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताए। नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले सहकारीको विकासका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिए।
सीजेएनले १०औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ। श्रेष्ठ लामो समयदेखि सहकारी क्षेत्रमा कलम चलाउँदै आएका छन्।
त्यस्तै संस्थापक सचिव सीताराम विलासीलाई ‘सीजेएन संस्थापक सम्मान’ गरिएको छ। साधारणसभाका अवसरमा सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा हित कोष स्थापना भएको छ।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।