
गत वर्षको पहिलो पाँच महिनामा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको व्यापार भएको थियो । जसमध्ये ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको आयात र ४७ अर्ब ६१ करोडको निर्यात भएको थियो । आयातमा भएको कमी र निर्यातमा भएको सुधारले व्यापार घाटा १०.९१ प्रतिशत घटेको छ । आयात १० प्रतिशत घटेको र निर्यात ५.१२ प्रतिशत बढेको विभागको तथ्यांक छ । विभागका अनुसार उक्त अवधिमा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ । त्यस अवधिमा १३ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको हो ।
गत वर्षको पहिलो पाँच महिनामा ३ अर्ब ८ करोड रुपैयाँबराबरको मात्रै भटमास तेल निर्यात भएको थियो । व्यवसायीहरूले तेस्रो मुलुकबाट भटमास (कच्चा पदार्थ) आयात गरेर नेपालमा पुनः रिफाइन गरी भारत पठाउँदै आएका छन् । यस्तै दोस्रोमा सेन्थेटिक यार्न ३ अर्ब १३ करोड र ऊनी गलैंचा कार्पेट ३ अर्ब १० करोड रुपैयाँको निर्यात भएको छ । पाँच महिनामा ३ अर्ब ७ करोड रुपैयाँको अलैंची, २ अर्ब ५५ करोड रुपैयाँको चिया र २ अर्ब ५३ करोड रुपैयाँको तयारी कपडा निर्यात भएको छ । यस्तै १ अर्ब ९३ करोड रुपैयाँको जमोठ कपडा र १ अर्ब ५६ करोड रुपैयाँको जुटबाट बुनिएका कपडा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
आयातमा भने सबैभन्दा अगाडि डिजेल छ । पाँच महिनामा २३ अर्ब ४३ करोड रुपैयाँको डिजेल आयात भएको छ । कोभिड, लकडाउन र निषेधज्ञाले सुस्त बनाएको डिजेलको कारोबार पछिल्लो समय बढेको छ । सवारी साधनको चाप बढेसँगै डिजेल आयात पनि चुलिएको छ ।
यस्तै दोस्रोमा एमएस बिलेट आयात भएको छ । तथ्यांकअनुसार पाँच महिनामा २० अर्ब ४८ करोड रुपैयाँको एमएस बिलेट आयात भएको छ । तेस्रो नम्बरमा भने मोबाइल फोन आयात भएको छ । पाँच महिनामा १७ अर्ब ६४ करोड रुपैयाँको मोबाइल सेट आयात भएको विभागको तथ्यांकमा छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १० अर्ब ३६ करोड रुपैयाँको मात्रै आयात भएको थियो । लकडाउनका कारण अवैध बाटोबाट आयात बन्द भएपछि वैधानिक माध्यमबाट यसको आयात बढेको हो । यस समयमा भटमास तेलको कच्चा पदार्थको आयात पनि अस्वाभाविक रूपमा बढेको छ । पाँच महिनामा १४ अर्ब ६७ करोड रुपैयाँको मटमासको कच्चा पदार्थ आयात विभागको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ अर्ब ६१ करोड रुपैयाँको मात्रै भटमास कच्चा पदार्थ आयात भएको थियो । यस्तै १२ अर्ब ९४ करोड रुपैयाँको तयारी कपडा, ११ अर्ब ९२ करोड रुपैयाँको चामल, १० अर्ब ९२ करोड रुपैयाँको एलपी ग्यास र १० अर्ब १९ करोड रुपैयाँको पेट्रोल आयात भएको छ ।