Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका चुनौती

२०७७ पुष ९ गते

केन्द्रीय बैंकको बढ्दो भूमिका

केन्द्रीय बैंकको कार्य सम्पादन सधैं तटस्थ, स्वच्छ , पारदर्शी र भरपर्दो मात्र होइन, गुणस्तरीयसमेत हुनुपर्छ । त्यसका लागि यसको कार्यकलाप स्वतन्त्र पनि रहनुपर्छ भन्ने मान्यता छ । यसका लागि कानूनी रूपमै केही विशेष अधिकारहरू प्राप्त भएका हुन्छन् । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । यसको स्थापना हुँँदा देशमा वित्तीय संस्थाका नाममा नेपाल बैंक एक मात्र वाणिज्य बैंकका रूपमा कार्यरत थियो । अहिले देशमा विभिन्न चार खाले वित्तीय संस्थाहरूको उपस्थिति छ । सहकारी समेतको उपस्थिति पनि छ । एक हिसाबले हिजो एकाधिकारमा रहेको वित्तीय सेवा अहिले प्रतिस्पर्धी र फराकिलो समेत भएको छ ।

“केन्द्रीय बैंकिङको नेपालमा करीब ७ दशक पुरानो अनुभव र इतिहास छ ।

यो अनुभवमा प्रत्यक्ष नियन्त्रणदेखि लिएर स्वतन्त्र बजार

प्रणालीमा आधारित नियन्त्रण प्रणालीसमेत मिसिएका छन् ।”

देशको केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंकको स्थापना भएयता त्यसले देहको अर्थतन्त्र, वित्तीय व्यवस्था, मौद्रिक क्षेत्र, मुद्रा व्यवस्थापनलगायत शोधनान्तर र मूल्यस्थितिका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको आफ्ना ठाउँँमा अलग्गै महत्त्व राख्छ । पैंसट्ठी वर्षको केन्द्रीय बैंकको अनुभव बोकेको यस बैंकको योगदान मुलुकको अर्थ व्यवस्था र बैंकिङ एवम् वित्तीय क्षेत्रमा विशिष्ट मात्र छैन, यसले चाल्ने कदमबाट समग्र वित्तीय क्षेत्र नै प्रभावित हुने गर्छ । यसका नीतिगत कार्यकलापले मूल्य, शोधनान्तर, रोजगारी र बचत एवम् लगानी समेतलाई प्रभावित पार्ने गर्छ । वित्तीय क्षेत्रको नियमन मात्र नभएर त्यसको निरीक्षण, सुपरिवेक्षण र अनुगमनसमेत यसबाटै हुँदै आएको छ । मुलुकको अर्थ व्यवस्थामै प्रमुख र महत्त्वपूर्ण योगदान दिने बैंक तथा वित्तीय क्षेत्रको प्रभावकारी नियमन गरेर मात्र हुँदैन, सोको नियमित अनुगमन, निरीक्षण, सुपरिवेक्षण र निगरानीसमेत गरिरहनुपर्ने हुन्छ । अचेल त झन् सूचना र प्रविधिका विकासका कारण बैंकिङ क्षेत्रबाटै मनिलाउन्डरिङ र वित्तीय अपचलनका सोच्नै नसकिने घटनाहरू समेत हुने भएकाले प्रभावकारी नियमन र सूक्ष्म निगरानी गर्ने कामसमेत केन्द्रीय बैंककै काँधमा आएको छ ।

केन्द्रीय बैंकको कार्यक्षेत्र पनि समयकाल परिस्थितिले सृजना गर्दोरहेछ । पहिलेको कुरा गर्दा केन्द्रीय बैंक भनेको नोट छाप्ने बैंक भनेर बुझिन्थ्यो । भारतीय मुद्रालाई नेपाली अर्थतन्त्रबाट कसरी विस्थापन गर्ने भन्नेमै राष्ट्र बैंक केन्द्रित थियो । त्यस बेला देशमा नेपाली मुद्राप्रतिको विश्वसनीयता बढाउनु ठूलै चुनौती थियो । द्वैध अर्थतन्त्र र द्वैध मुद्राको प्रचलन हटाउने चुनौतीपूर्ण काममा राष्ट्र बैंकको योगदान स्मरणीय छ । सीमावर्तीय क्षेत्रमा सटही काउन्टरहरू र ठाउँठाउँ घुम्ती सटही टोलीमार्फत भारतीय रुपैयाँलाई विस्थापन गर्ने कार्यमा लगभग यसको स्थापनाको पहिलो दशकको प्रयास उल्लेख्य र प्रभावकारीसमेत रह्यो । त्यसपछि बैंकिङ क्षेत्रको विस्तार र सोमार्फत नागरिकहरूमा बचत गर्ने बानीको विकास र बैंकिङ कारोबारप्रति आम चेतना जगााउन चालिएका विभिन्न कदमहरू प्नि उत्तिकै उल्लेख्य छन् । आन्तरिक लगानीलाई नै कुनै न कुनै रूपले परिचालन गर्ने गथ्र्यो । यस अर्थमा, नेपालको केन्द्रीय बैंक स्वयम् नै बैंकिङ प्रवद्र्धनमा लागेको घटना अन्यन्त्र विरलै भेटिन्छ । नियन्त्रित वित्तीय प्रणालीका बेलामा समेत यसले विभिन्न माध्यमबाट बैंकिङ प्रवद्र्धनका कामहरू प्रत्यक्ष सहभागी भएर गर्दै आएको छ । बैंकिङ प्रवद्र्धन समिति ( २०२५ साल) मार्फत त्यस्ता प्रचार प्रसारात्मक कामहरू हुँदै आएको हो । अहिले त्यस्तो नियन्त्रणमुखी परिवेश पनि छैन । बैंकिङ र वित्तीय क्षेत्र ४० को दशकदेखि उदार, खुला र बजारमुखी हुँदै आएको छ ।

वित्तीय क्षेत्रलाई कस्तो मार्गमा हिँडाउने भन्ने कुरा केन्द्रीय बैंककै नीतिबाट परिलक्षित हुने भएकाले कुनै पनि मुलुकमा केन्द्रीय बैंकको उपस्थिति अनिवार्य आवश्यकता पनि मानिन्छ । केन्द्रीय बैंकको उपस्थितिलाई आगो र गाडीको चक्काझैं नयाँ आविष्कार पनि मान्ने चलन छ । मुद्राको माग र आपूर्तिको सन्तुलन कायम गर्ने र मौद्रिक नीतिमार्फत मूल्य स्थिरता र शोधनान्तर स्थिति बलियो पार्ने काम मात्र नभएर केन्द्रीय बैंकले बैंकिङ र वित्तीय क्षेत्रप्रतिकै विश्वास स्थापना गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । भुक्तानी प्रणालीको प्रत्याभूति दिने र वित्तीय अपराधलाई नियन्त्रण गर्ने कार्यमा समेत आफ्नो प्रभावकारी र उत्तरदायीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । जबजब कर्जाको ब्याजदर बढ्छ केन्द्रीय बैंकतिरै तीर हानिन्छ । जबजब बैंकिङ क्षेत्रमा तरलताको अभाव खट्किन्छ सबैको ध्यान केन्द्रीय बैंकप्रति नै तानिन्छ । जबजब बैंकहरू धराशयी हुन थाल्छन् केन्द्रीय बैंककै ध्यानाकर्षण गरिन्छ । कोरोना महामारीमा समेत राहतको अपेक्षा सरकारबाट भन्दा केन्द्रीय बैंकबाट गरिएको त जगजाहेरै छ ।

कोरोना कालमा वित्तीय क्षेत्रमा मात्र होइन, समग्र अर्थतन्त्र नै चलायमान र गतिशील हुन सकेको छैन । नयाँ कर्जा प्रवाह हुनसकेको छैन । बैंकहरूको नाफा घटिरहेको छ । तर, खर्च घट्न सकेको छैन । निक्षेपमा ब्यााजदर घट्दो छ । असुलीमा समेत नराम्रो धक्का परेको छ । त्यो अरू बढ्ने सम्भावना पनि देखिन्छ । यस्तो बेला केन्द्रीय बैंकसामु नयाँ खाले चुनौतीसमेत देखापरेको छ । गएको बन्दाबन्दीताका पनि भुक्तानी प्रणालीमा असर नपरोस् भनी केन्द्रीय बैंकबाट विभिन्न उपाय अपनाइएका थिए । अहिले बैंक तथा वित्तीय क्षेत्रको एसेट क्वालिटीमा कहिल्यै असर नपरोस् भनी विभिन्न खाले मौद्रिक रुझानहरू अवलम्बन गरिएका देखिन्छन् । त्यसैले यस्तो बेला पनि केन्द्रीय बैंककै आशा भरोसामा समग्र वित्तीय क्षेत्र आकांक्षित देखिन्छन् ।

मुलुकको बैंकिङ वित्तीय क्षेत्र अहिले प्रतिस्पर्धात्मक र बजार प्रणालीमाथि चलायमान हुनेगरी सञ्चालित छ । यस्तोमा केन्द्रीय बैंकको भूमिका पहिलेभन्दा कम होइन, झनै फराकिलो, गहन र जिम्मेवारीपूर्ण हुन आवश्यक छ । नवीन चुनौतीहरू समेत देखिन थालेका छन् । प्रविधिको विस्तारले वित्तीय कारोबारमा बढ्दो डिजिटल प्रयोगका कारण साइबर क्राइमको रोकथाम तथा न्यूनीकरण अहिलेको सबैभन्दा कठिन र जटिल चुनौती केन्द्रीय बैंकसामु देखापर्न थालेको छ । त्यस्ता कार्यकलापको नियन्त्रण गरी सर्वसाधारणमा बैंकिङ र वित्तीय क्षेत्रप्रति विश्वास जगाइराख्नु कम चुनौतीको काम होइन । देशभित्र पनि वित्तीय क्षेत्र बढी प्रतिस्पर्धी भएकाले कर्जा जोखिमको उच्च सम्भावनालाई नकार्न सकिँदैन । त्यस्ता जोखिम नियन्त्रणलाई केन्द्रीय बैंकबाट हुने निगरानी र उसको उपस्थिति मात्र नभएर ऊबाट चालिने हरेक कदमप्रति आम चासोको विषय सदैव रहिरहन्छ ।

केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंकको स्थापनाका साथसाथै देशमा आर्थिक, मौद्रिक, वित्तीय गतिविधिहरू बढ्न गएकोमा विमति रहँदैन । केन्द्रीय बैंकिङको नेपालमा करीब ७ दशक पुरानो अनुभव र इतिहास छ । यो अनुभवमा प्रत्यक्ष नियन्त्रणदेखि लिएर स्वतन्त्र बजार प्रणालीमा आधारित नियन्त्रण प्रणालीसमेत मिसिएका छन् । हालको व्यवस्थामा नेपालको बैंकिङ तथा वित्तीय प्रणाली बजार नियन्त्रण प्रणालीमा आधारित छ भनिँदै आए पनि कताकती केन्द्रीय बैंकको काम कारबाही भने सोअनुरूप नभई वित्तीय क्षेत्रको माइक्रो म्यानेजमेन्टतिर उन्मुख हो कि ? भन्ने सन्देह विज्ञहरूबीच देखिन्छ । केन्द्रीय बैंकको स्वायत्ततामाथि सरकारको नियन्त्रणमुखी दृष्टि पर्न लागेको छ । केन्द्रीय बैंक बलियो नभई वित्तीय क्षेत्र बलियो हुँँदैन भन्ने सामान्य अर्थशास्त्र बुझ्न नसक्नुचाहिँ यो क्षेत्रकै प्रमुख चुनौती हो ।

प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

 

आर्थिक अभियान दैनिकमा प्रकाशित सामाग्री।

Ad