
बैंकिङ खबर । कोरोनाको कारण बैदेशिक रोजगारीमा जानेहरुको सँख्या घटेको भए पनि विप्रेषण आप्रवाह भने बढ्दै गएको छ। केन्द्रिय बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आएको केन्द्रिय बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु ३७३ अर्ब ४ करोड पुगेको छ केन्द्रिय बैंकले जनाएको छ।