बैंकि पँहुच र आर्थिक विकास बीचको सम्बन्ध 

रामकिशोर मेहता । आर्थिक वृद्धि र वित्तीय पँहुच बीच सकारात्मक सम्बन्ध रहेको निष्कर्ष विभिन्न अध्ययनहरुले देखाएको छ । आधुनिक अर्थशास्त्रीहरुमध्ये एक Joseph Schumpter ले सन् १९३९ मा गर्नुभएको एक अध्ययनले प्रविधिको विकास तथा आर्थिक विकासमा बैंकले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ भन्ने निष्कर्ष निकालेको थियो ।
“Capitalism is that form of economy in which innovations are carried out by borrowed money “. – Joseph Schumpter

साना साना निक्षेपकर्ताहरुको निक्षेपलाई एकतित्र गरेर, उत्पादन प्रक्रियालाई केहि सिमित तथा अदक्ष व्यक्तिहरुबाट दक्ष तथा उर्जाशील व्यक्तिहरु समक्ष पुर्याउन सहयोग गरेर, विभिन्न उपलब्ध परियोजनाहरुमध्ये सबैभन्दा बढी उत्पादनशील तथा लाभदायक परियोजनाको लागि पुँजीको सुनिश्चितता गरेर, जोखिम लिन नचाहने तथा नसक्ने व्यक्तिहरुबाट जोखिम लिन सक्ने व्यक्तिहरुलाई सस्तो व्याजदरमा पुँजी उपल्बध गराई लगायत अन्य तरिकाहरु अपनाई देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुले सहयोग पुर्याईरहेका हुन्छन् । सन् १९९० दशकको शुरुवाततिर Robert King र Ross Levine ले गर्नुभएको अध्ययनले के देखाउँदछ भने broad money र GDP को अनुपातमा गरिएको १० प्रतिशत वृद्धिले देशको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक १ प्रतिशतले वृद्धि हुन्छ ।

प्राचिन समाजमा बैंकले पैसाको कार्य medium of exchange मा सहयोग गर्ने उद्देश्यले गर्दथ्यो । मध्यकालिन अवधिमा बैंकले साहुको रुपमा काम गर्ने गर्दथ्यो भने अहिलेको एक्काईसौं शताब्दीमा बैंकले परम्परागत रुपमा गर्दै आएका कामहरु बाहेक अझ धेरै थप कामहरु गर्ने गर्दछन् । 

विकासोन्मुख अर्थतन्त्रहरुमा बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवाहरु अझ थप गतिमा बढने निश्चित छ, खासगरि एसियामा जहाँ, अर्थशास्त्रीहरुको अनुमान अनुसार, सन् २०३० सम्ममा थप १ अरब मध्यम वर्गीय व्यक्तिहरुको उदय हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरु धेरै नाफा कमाउने क्षेत्रमा जाने भएकोले अर्थतन्त्रको विकासको लागि यिनिहरु कति महत्वपूर्ण छ भन्ने कुरा अझै प्रष्ट भईसकेको छैन ।  वित्तीय संस्थाहरु विभिन्न प्रकारको सेवा प्रदान गर्ने भएकोले कुन कुन सेवाहरु देशको विकासको सहयोगी तथा कुन कुन सेवाहरु देशको विकासको लागि आवश्यक नरहेको भन्ने सम्बन्धमा कुनै औपचारिक अध्यन भएको पाईँदैन । 

हाम्रो देशमा समेत गत केहि दशकको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा ज्यामितीय रुपमा वृद्धि भएको तथ्य झुटो होईन । अत्याधिक वित्तीय संस्थाहरुको कारण अर्थतन्त्रमा नकारात्मक असरहरु देखा पर्न थालेपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीमा अत्याधिक वृद्धि गरि तथा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिसनको प्रक्रियामा जानको लागि विभिन्न प्रोत्साहनहरु प्रदान गरि बैंकहरुको संख्या घटाउन लागिपरेको छ ।
यदि देशमा बैंकहरुको संख्या बढ्दैमा आर्थिक विकास भई गरिबी घट्ने भएको भए नेपाल आज विकसित देशहरुको सुचिमा रहनुपर्ने हो । किनभने ठुलो संख्यामा रहेको बैंक, विकास बैंक, वित्तीय कम्पनिहरु, बचत तथा ऋण सहकारी संस्थाहरु तथा माईक्रोफाईनान्सहरुले विभिन्न सेवाहरु प्रदान गरिरहेकै छ । तथापि, बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितीले देशको आर्थिक विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष टेवा पुर्याईरहेको हुन्छ ।

हालसम्म गरिएको अध्यनहरुले के देखाएको छ भने माईक्रोफाईनान्सहरुको कारण सामाजमा भएको फाईदाहरुलाई छोटो अवधि (short term) तथा लामो अवधि (long term) गरि दुई भागमा बाँडेर अध्यन गर्न सकिन्छ । छोटो अवधिमा केहि क्षणिक लाभहरु भएको भए पनि लामो अवधिमा हुने प्रगतिहरु जस्तै शिक्षामा वृद्वि, स्वास्थ्यमा सुधार तथा महिला सशक्तिकरण लगायतमा कुनै सकारात्मक असर परेको पाईँदैन ।

अर्को एक अध्ययनबाट के पाईएको छ भने बैंकहरुले लचकदार भुक्तानी तालिका (flexible repayment structure) अपनाएको अवस्थामा बैंकको कर्जा लगानी बढी उत्पादनशील क्षेत्रमा जाने सम्भावना हुन्छ । यद्यपि बैंकको कर्जा तोकिएकै समयमा चुक्ता नहुने जोखिम पनि बढ्छ ।

यदि समाजमा बैंक तथा वित्तीय संस्थाहरुको सहज उपलब्धता छैन भने गरिब जनताहरुले आफ्नो तत्कालिन खर्चहरुलाई केहि समय पर धकेल्न गाह्रो हुन्छ । तसर्थ, बचत गर्ने संयत्र सजिलै उपल्बध भएको अवस्थामा तत्कालिन अलि कम महत्वपूर्ण कारोबारहरु कम मात्रामा गरि बचतको माध्यमबाट केहि आर्थिक प्रगति हासिल गर्न सकिन्छ । 

सबै जनताहरु वित्तीय पहुँचमा रहेको देशमा सरकारको सामाजिक नीतिहरु सहज तरिकाले कार्यान्वयन गर्न सकिन्छ । सवल तथा सक्षम वित्तीय बजारको माध्यमबाट जनताको standard of livingमा वृद्धि, कारोबारको लागतमा कमी, आर्थिक गतिविधिमा बढोत्तरी तथा निजी क्षेत्रको विकास लगायत अन्य सामाजिक फाईदाहरु लिन सकिन्छ । तसर्थ, निष्कर्षमा के भन्न सकिन्छ भने वित्तीय पहुँचको कारण देशको आर्थिक विकास तथा रोजगारी अभिवृद्धिमा सकारात्मक सहयोग पुगेकोहुन्छ ।  


सोसिअल मेडिया