बैंकिङ खबर । दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच एक आपसमा मर्जरको विषयमा औपचारिक छलफल सुरु भएको दुवै बैंकहरुले स्वीकार गरेका छन् । हाल सुरु भएको छलफलले पूर्णता पायो भने यी दुई बैंक एक हुनेछन् । समाचार स्रोतका अनुसार यी दुई बैंकबीच एक आपसमा मर्जर हुनका लागि तिब्र गतिमा छलफल भइरहेको छ । मर्जरको विषयमा छलफल भएको तर कुनै आधिकारिक निर्णय नभएको हिमालयन बैंक संचालन समितिका एक अधिकारीले बैंकिङ खबरलाई जानकारी गराएका छन् । उनका अनुसार मर्जर गर्ने विषयमा दुवै बैंकको संचालक समितिबीच छलफल भएको छ । तर मर्जर हुने नहुने एव सेयर रेसीयो कस्तो हुने र अध्यक्ष तथा व्बबस्थापनमा को को रहने भन्ने कुराको आधिकारीक निर्णय भएको छैन । यी दुईं बैंक मर्जर भएमा हाल सम्मको सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने निश्चित छ । पछिल्लो समय राष्ट्र बैंकले पनि मर्जरमा जोड दिँदै आएको छ ।