December 15th, 2020

‘साना तथा मझौला उद्यम अर्थतन्त्रको आधार’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साना तथा मझौला उद्योग–व्यवसाय मुलुकको अर्थतन्त्रको प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा उहाँले त्यस क्षेत्रको पुनरुत्थानका लागि आफ्नो विशेष जोड रहेको उल्लेख गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उहाँले महासङ्घको नयाँ नेतृत्व पनि यसमा नै केन्द्रित रहेको पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले उद्योग–व्यवसायको विकास र विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधि मण्डलले अध्यक्ष दाहालसँगको भेटवार्तामा नयाँ नेतृत्वले कोभिड सङ्कटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराउनुभयो ।
अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सबैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासङ्घले यसका लागि विशेष गृहकार्य गरिरहेको बताउनुभयो । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलबाट मुलुकको आर्थिक पुनरुत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो । सो अवसरमा महासङ्घका पदाधिकारीबाट साना तथा मझौला उद्योग–व्यवसायको पुनरुत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीतिमार्फत आएका राहतका सुविधाको कार्यान्वयनको अनुभूति स्थानीय तहका उद्यमी–व्यवसायीले गर्न पाउनुपर्नेमा जोड दिइएको जनाइएको छ ।
यसैबीच नेपाल हस्तकला महासङ्घले पनि नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । सोमबार हस्तकला महासङ्घ सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिनुभएको थियो ।  

 

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]