
विदेशी मुद्रामा लिएको ऋणको साँवाब्याज भुक्तानी अब स्वदेशी मुद्रा (नेरु)मै गर्न पाइने भएको छ । कोभिड–१९ बाट प्रभावित ऋणीलाई लक्ष्य गरी राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
यसअघि विदेशी मुद्रामा लिइएको ऋणको साँवाब्याज पनि विदेशी मुद्रामै भुक्तानी गर्नुपर्ने व्यवस्था थियो । खासगरी पर्यटन क्षेत्रमा खासगरी होटल, ट्रेकिङ, ट्राभल एजेन्सी, एयरलाइन्स, निर्यातजन्य व्यवसायलगायत क्षेत्रका ऋणीले विदेशी मुद्रामा कर्जा सुविधा लिएका हुन्छन् । कोभिड–१९ का कारण लामो समयदेखि यो क्षेत्र ठप्पजस्तै छ । सोही कारण ती व्यवसायीले विदेशी मुद्रा आर्जन गर्न पाएका छैनन ।
यही अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नेपाली मुद्रामै विदेशी ऋणको सावा र ब्याज तिर्न मिल्ने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले बताए । ‘कोभिडका कारण व्यवसाय नचलेपछि उनीहरूले विदेशी मुद्रा आर्जन गर्न सकेका छैनन्,’ उनले भने, ‘यही कारणले कर्जाको साँवाब्याज असुलीमा समस्या नहोस् भन्ने हो ।’
‘परिवर्त्य विदेशी मुद्रामा लिएको ऋणको किस्ता (साँवाब्याज) कोभिड–१९ का कारण सम्बन्धित फर्म/कम्पनी/उद्योगहरूको विदेशी मुद्रा आम्दानी नभएर विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था भए अर्को व्यवस्था नभएसम्मका लागि प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा किस्ता भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।
यो व्यवस्थाले पर्यटन क्षेत्रका व्यवसायी, एयरलाइन्स, विदेशी व्यापारमा आबद्ध व्यवसायीलगायतलाई ठूलो राहत मिल्ने मिश्रको दाबी छ । हाल निर्यात क्षेत्रमा लागेका औद्योगिक उत्पादनकर्ता फर्म/कम्पनीलाई कच्चापदार्थ आयात गर्न, परिवर्त्य विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, निर्यात उद्योग र हस्पिटल, गलैंचा उद्योगका लागि ऊन आयात गर्न, ट्राभल, टुर, टिकेटिङ, एयरलाइन्स र कार्गो, नवीकरणीय ऊर्जा (जलविद्युत्, सौर्य र वायु ऊर्जा) उत्पादन तथा प्रसारणसँग सम्बन्धित आयोजना/परियोजनालगायत क्षेत्रका ऋणीले तोकिएको मापदण्ड पूरा गरी परिवर्त्य विदेशी मुद्रामा अल्पकालीन ऋण प्रदान गर्न सकिने व्यवस्था छ ।
यस्तै, विदेशी लगानीमा स्थापना भएका उद्योग तथा परियोजनामा विदेशी लगानीकर्ताले भित्र्याएको परिवर्त्य विदेशी मुद्राको रकम वाणिज्य बैंकमा परिवर्त्य विदशी मुद्रामै निक्षेप राखी त्यसको धितोमा नेपाली मुद्रामा कर्जा लिन सक्ने व्यवस्था छ । यसरी कर्जा प्रवाह गर्दा धितोमा रहने विदेशी मुद्रा निक्षेपलाई उक्त बैंकले एयरमार्क गर्नुपर्ने र कर्जा सुरक्षासँग सम्बन्धित अन्य व्यवस्था अपनाउनुपर्ने निर्देशन छ । यो व्यवस्थाअन्तर्गत गत शुक्रबारसम्म वाणिज्य बैंकहरूले परिवर्त्य विदेशी मुद्रामा १ खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन् । गत असारसम्म यस्तो कर्जा ९७ अर्ब थियो ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।