December 9th, 2020

लागत वृद्धि, आयात प्रभावित

उद्योगलाई कच्चा पदार्थ अभाव, बजार मूल्यमा असर

अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले ढुवानी भाडा अत्यधिक वृद्धि गरेपछि नेपालको आयात प्रभावित बनेको छ। औद्योगिक क्षेत्रमा कच्चा पदार्थ अभाव भएको छ भने बजारमा सामानको भाउ बढ्न थालेको छ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट भारतको कोलकातासम्म २० फिटको कन्टेनरको ढुवानी खर्च ९ सयबाट वृद्धि भई २ हजार ८ सय अमेरिकी डलर पुगेको जानकारी दिए। पहिले चीनबाट एक कन्टेनर सामान कोलकाता बन्दरगाहसम्म आयात गर्दा १ लाख रुपैयाँ लाग्थ्यो। अहिले साढे ३ लाख रुपैयाँ तिर्दा पनि आयात गर्न सम्भव नभएको उद्योगपति राठीले बताए। ‘कन्टेनर ढुवानी खर्च वृद्धि, जहाज र कन्टेनरको न्यून उपलब्धताले लागत खर्च तीन गुणाभन्दा बढीले बढेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर उत्पादन लागतदेखि उपभोक्ता मूल्यसम्म पर्ने नै भयो।’ राठीले प्लास्टिकका सामग्री बनाउने कच्चा पदार्थ चीनबाट आयात गर्दै आएका थिए।

कोभिड–१९ को चर्को महामारीपछि केही खुकुलो भएको सामुद्रिक सिपिङ ट्रान्सपोर्ट क्षेत्रले अक्टोबरदेखि कन्टेनर ढुवानी खर्च झन्डै तीन गुणाले वृद्धि गरेको हो। नेपालको औद्योगिक क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र तयारी सामान भारतसहित तेस्रो मुलुकबाट आयात गरिन्छ। भारतबाहेक अन्य मुलुकबाट यस्ता सामग्री सामुद्रिक मार्गबाट भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहमा ल्याइन्छ। त्यहाँबाट रेल र सडक मार्गमार्फत नेपालको वीरगन्ज, विराटनगर, भैरहवालगायत स्थानमा उपलब्ध गराइन्छ।

एस टर्मिनल एन्ड लजिस्टिक कम्पनीका सञ्चालक अशोक पेमानीका अनुसार नेपालमा आयात हुने वस्तुको कुल आयात मूल्यमध्ये ६५ प्रतिशतबराबरको भारतबाट भित्रिने गर्छ। 

बाँकी ३५ मध्ये २० प्रतिशत चीन र १५ प्रतिशत अन्य मुलुकबाट आयात हुन्छ। यसरी ३५ प्रतिशत वस्तुको आयात सामुद्रिक मार्गबाट भारतका कोलकाता र विशाखापट्टनम हुँदै नेपालसम्म हुन्छ। महासंघको पारवहन समितिका सभापतिसमेत रहेका पेमानीले सिपिङ कम्पनीको पछिल्लो नीतिका कारण उद्योगको लागत खर्च झन्डै दुई गुणाले वृद्धि भएको बताए।

मोरङ व्यापार संघका उपाध्यक्ष अनुपम राठीका अनुसार सामुद्रिक मार्गको प्रत्येक गन्तव्यमा अहिले सिपिङ कम्पनीले कन्टेनर भाडा दरमा प्रतिटन १ सय ३० देखि १ सय ६० डलरसम्म वृद्धि गरेका छन्। अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट कोलकातासम्मको भाडादर प्रतिटन ६५ बाट १ सय २० डलर पुगेको छ। 

त्यस्तै, कोलकाताबाट विराटनगर र वीरगन्जसम्मको लरीको भाडादर उल्लेख्य परिमाणमा वृद्धि भएको छ। थाइल्यान्डबाट कोलकातासम्म ढुवानी गर्दा प्रतिटन ३० डलर लाग्ने स्थानमा १ सय ३० डलर पुगेको छ। सिंगापुर–कोलकाता, साउदी–कोलकाता, दुबई–कोलकातालगायत सामुद्रिक मार्गमा पनि यही दरले भाडा वृद्धि भएको छ। ‘भाडा वृद्धि, जहाज र कन्टेनरको न्यून उपलब्धताका कारण नेपालका अधिकांश औद्योगिक क्षेत्रमा उत्पादनका लागि कच्चा पदार्थको चर्को अभाव पनि सिर्जना भएको छ’, अनुपमले भने, ‘यसले वस्तु उत्पादनमा प्रत्यक्ष असर गरेको छ।’ उनले अर्थशास्त्रीय नियमानुसार माग र उत्पादनबीच खाडल बनेका कारण अहिले बजारमा विभिन्न वस्तुको मूल्य वृद्धि भएको बताए। ‘भाडादर वृद्धि, जहाज र कन्टेनर अभावका कारण चाहिने परिमाणमा कच्चा पदार्थ आउँदैन’, उनले भने, ‘कच्चा पदार्थ पर्याप्त परिमाणमा नआउँदा उत्पादन क्षमता अत्यधिक घटेको छ। यसको असर बजारमा पर्छ नै।’ उनका अनुसार खानेतेल, खाद्य पदार्थ, स्टिलका सामान, एसी, फ्रिज, होम एप्लायन्सलगायत वस्तुको मूल्य वृद्धि हुने क्रम सुरु भएको हो।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले सिपिङ कम्पनीले एकलौटी रूपमा वृद्धि गरेको भाडादर, जहाज र कन्टेनरको न्यून उपलब्धताले नेपालको सम्पूर्ण उद्योग प्रभावित बनेको बताए। लकडाउनपछि सञ्चालनमा आएको नेपालको उद्योगलाई यस्ता कारणले कच्चा पदार्थ आयात गर्न समस्या भएको छ।

अग्रवालले प्लास्टिक र केमिकल उद्योग सञ्चालन गर्दै आएका छन्। ‘सरकारले कार्गो बोक्ने सिपिङ कम्पनीलाई नेपालको कानुनी दायरामा ल्याउन आवश्यक छ’, उनले भने । 

कन्टेनर र जहाज चीनमै ‘होल्ड’
औद्योगिक क्षेत्रको उत्पादन क्षमता घट्नु र लागत खर्च बढ्नुमा कन्टेनरको भाडा वृद्धि मात्रै कारक छैन। जहाज र कन्टेनर अभाव पनि ठूलो समस्याका रूपमा देखापरेको छ। जुन मुलुकका आयातकर्ताले बढी रकम खर्च गरेको छ, कन्टेनर र जहाजमा उसकै पहुँच भएको छ।

‘वृद्धि भएको भाडादर मात्रै उपलब्ध गराउने पार्टीले कन्टेनर र जहाज सजिलै पाउने अवस्था अहिले छैन’, पेमानीले भने। उनका अनुसार कोभिड–१९ का कारण विश्वभरका मुलुकको सामुद्रिक मार्गबाट हुने आयात–निर्यात व्यवसाय प्रभावित बनेको छ। जहाजका क्रु सदस्य र कन्टेनर क्षेत्रका कामदार पनि कोभिड संक्रमणबाट प्रभावित बने। सिपिङ कम्पनी र कन्टेनरमा उनीहरूको चर्को अभाव छ। कन्टेनर व्यवसायीले ६–७ महिना काम पाएनन्। पेमानीका अनुसार चीनबाट आयात गर्न २ हजार डलरमा पाइने कन्टेनर अहिले ५ हजार डलर तिर्दा पनि पाइँदैन।

उनका अनुसार केही खुकुलो भएको अवस्थामा चीनले ठूलो परिमाणमा आफ्ना सामान विश्वभरका बजारमा निर्यात गर्‍यो। भएका सबै कन्टेनर अन्य मुलुकमा पुर्‍याइए। त्यसपछि चीनले नजिकका विभिन्न स्थानबाट भएभरका कन्टेनर आफ्नो क्षेत्रमा ल्याएर ‘होल्ड’ गरी बसेका कारण अभाव भएको पेमानीले बताए।

उद्योगपति अनुपम राठीका अनुसार चीनमा कोभिड–१९ को संक्रमण अत्यधिक वृद्धि भएपछि यताबाट हिँडेका अधिकांश जहाज र कन्टेनर अमेरिका र युरोपतिरै थन्किएका छन्। यस्तै बाहिरबाट आएका जहाज र कन्टेनर कोलकाता बन्दरगाहमा पुनः यताको सामान लिएर निर्यातका लागि उता जान नसकेर थन्किएका छन्। यसले गर्दा आयात गर्नुपर्ने गन्तव्यमा जहाज र कन्टेनरको अभाव भएको राठीले बताए।

 

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]