November 20th, 2020

प्रणव मुखर्जी : एक शिक्षक यसरी बनेका थिए भारतका राष्ट्रपति

भारतीय राष्ट्रपति प्रणव मुखर्जी ११ डिसेम्बर सन् १९३५ मा एक साधारण परिवारमा जन्मिएका व्यक्ति हुन् । उनी पिता स्वतन्त्रता सेनानी कामदा किंकर मुखर्जी र माता राजलक्ष्मीका छोरा हुन् । उनको जन्म पश्चिम बंगालको वीरभूम जिल्लास्थित मिराती गाउँमा भएको थियो । उनका पिता एक कांग्रेसी नेता थिए, जो भारतको स्वतन्त्रता संग्राममा भाग लिएका कारण धेरै पटक जेल परेका थिए ।  

मुखर्जीले गायिका तथा कलाकार स्वर्गीय सुव्रा मुखर्जीसँग विवाह गरेका थिए । उनका दुई छोरा र एक छोरी छन् । मुखर्जी फुर्सदको समयमा पढ्न, संगीत सुन्न मन पराउँछन् । साथै उनी घुमफिर गर्न पनि रुचाउँछन्, उनले भारतका प्रायः ठाउँ र विश्वका प्रायः मुलुकमा पुगेका छन् ।  

मुखर्जीले कलकत्ता विश्वविद्यालयबाट इतिहास तथा राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको व्यवसायिक जीवन कलेज शिक्षक र पत्रकारको रुपमा सुरु भयो । राष्ट्रिय आन्दोलनमा पिताको योगदानबाट प्रेरित भएर राजनीतिमा लागेका मुखर्जी संसदको उच्च सदन (राज्य सभा) मा चुनिएपछि पूर्ण रुपमा सार्वजनिक जीवन जिउन थाले । 

मुलुकका लागि योगदान
५० वर्षभन्दा बढी भारतीय संसदमा रहेर सेवा गरेपछि २५ जुलाई २०१२ मा भारतीय राष्ट्रपतिको पदभार सम्हालेका मुखर्जी राजनीतिको क्षेत्रमा एकदमै अनुभवी व्यक्ति हुन् । उनीसँग विदेश, रक्षा र वाणिज्य तथा वित्त मन्त्रीको पदमा रहेर कार्यभार सम्हालेको अनुभव छ । मुखर्जीलाई १९६९ देखि पाँच पटक संसदको उच्च सदन (राज्य सभा) र २००४ देखि दुई पटक संसदको निम्न सदन (लोकसभा) का लागि चुनिएको थियो । उनी २३ वर्षसम्म पार्टीको सर्वोच्च नीति निर्धारक संस्था कांग्रेस कार्य समितिको सदस्य रहे । सन् २००४ देखि २०१४ को बीचमा प्रशासनिक सुधार, सूचनाको हक, रोजगारको अधिकार, खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, सूचना प्रौद्योगिकी एवं दूरसंचार, भारतीय विशिष्ट पहचान प्राधिकरण, मेट्रो रेल आदिको स्थापनाका लागि गठित ९५ सदस्यीय मन्त्रीमण्डलको नेतृत्व गर्दै उनले सरकारका लागि महत्वपूर्ण निर्णयमा पुग्न अग्रणी भूमिका निभाए । त्यस्तै, सन् १९७५ मा उनले क्षेत्रीय ग्रामीण बैंक तथा भारतीय एक्जिम बैंकको साथमा रही राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (१९८१।८२) को स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरे । 

उनले सन् १९९१ मा केन्द्र र राज्यको बीच संसाधनको भागबन्डा गर्नका लागि संशोधित सुत्र समेत तयार गरेका थिए, जसलाई गाडगिल– मुखर्जी फर्मूला समेत भन्ने गरिन्छ । उनी एक ओजस्वी वक्ता तथा विद्वान समेत मानिन्छन् । बौद्धिक तथा राजनीतिक कौशल, अन्तर्राष्ट्रिय सम्बोधन, वित्तीय क्रियाकलाप र संसदीय प्रक्रिया लगायतका विषयमा उनको असाधारण ज्ञानको चर्चा जताततै हुने गर्दछ ।  

स्वर्गीय प्रधानमन्त्री इन्दिरा गान्धीको सतर्क मार्गदर्शनलाई आत्मसात गर्दै मुखर्जी राजनीतिक जीवनमा होमिए । सन् १९७३।७४ को बीचमा उनी उद्योग, जहाजरानी तथा परिवहन, इस्पात तथा उद्योग उपमन्त्री तथा वित्त राज्य मन्त्री बने । उनले १९८२ मा पहिलोपटक प्रधानमन्त्री इन्दिरा गान्धीको मन्त्रीमण्डलमा भारतको वित्तमन्त्रीको पदभार ग्रहण गरे र सन् १९८० देखि ०८५ सम्म संसदको उच्च सदनका नेता रहे । पछि १९९१ देखि १९९६ सम्म योजना आयोगका उपाध्यक्ष, १९९३ देखि १९९५ सम्म वाणिज्य मन्त्री, १९९५ देखि १९९६ सम्म विदेश मन्त्री, २००४ देखि २००६ सम्म रक्षा मन्त्री र २००६ देखि २००९ सम्म पुनः विदेश मन्त्री रहेर उनले राष्ट्र सेवा गरे । त्यसपछि २००९ देखि २०१२ सम्म वित्त मन्त्रीको पदभार सम्हालेका उनी राष्ट्रपति चुनाव लड्नका लागि त्यागपत्र नदिँदासम्म संसदको निम्न सदनका नेता रहे । 

कुटनीतिक अनुभव
मुखर्जीसँग व्यापक कूटनीतिक अनुभव छ । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एशियाली विकास बैंक र अफ्रिकी विकास बैंकको सञ्चालक मण्डलमा रहेर समेत सेवा दिएका छन् । त्यस्तै, उनले १९८२, १९८३ र १९८४ मा राष्ट्रमण्डल वित्त मन्त्रीहरुको सम्मेलनमा, १९९४, १९९५, २००५ र २००६ मा संयुक्त राष्ट्र महासभामा, १९९५ मा राष्ट्रमण्डल शासनाध्यक्षहरुको सम्मेलनमा, १९९५ मा गुटनिरपेक्ष विदेश मन्त्रीहरुको सम्मेलनमा र १९९५ मा नै अफ्रीकी–एशियाली सम्मेलनको ४० औँ वर्षगाँठको अवसरमा आयोजित सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

यसका अलावा, उनी एक उत्कृष्ट लेखक समेत हुन् । उनले भारतीय अर्थ व्यवस्था तथा राष्ट्र निर्माणका विषयमा थुप्रै पुस्तकहरु लेखेका छन् । 

पुरस्कार तथा सम्मान
उनी सन् २००८ मा भारतको दोस्रो ठूलो असैनिक पुरस्कार पद्म विभूषण, सन् १९९७ मासर्वोत्तम सांसदको पुरस्कार, सन् २०११ मा भारतका सर्वोत्तम प्रशासक पुरस्कार लगायत थुप्रै सम्मान तथा पुस्कारबाट सम्मानित भएका छन् । उनलाई सन् २०१३ मा ढाका विश्वविद्यालयद्वारा डाक्टर अफ ल को उपाधि दिइयो । सन् २०१४ मा उनलाई कलकत्ता कलकत्ता विश्वविद्यालयद्वारा मानद उपाधि, २०१५ मा रसियन डिप्लोमेटिक एकेडमीद्वारा मानद डाक्टरेटस र २०१५ मै बेलारूस स्टेट यूनिवर्सिटीद्वारा मानद प्रोफेसरको उपाधि प्रदान गरियो । त्यस्तै, सन् २०१५ मा नै जोर्डन विश्वविद्यालय, अल–कुद्स विश्वविद्यालय, फिलस्तीन र हिब्रु विश्वविद्यालय, इजराइलद्वारा उनलाई मानद डाक्टरेटको उपाधि प्रदान गरियो । 

न्यूयार्कबाट प्रकाशित हुने पत्रिका ‘यूरो मनी’द्वारा आयोजित सर्वेक्षणका अनुसार उनलाई सन् १९८४ मा विश्वकै उत्कृष्ट पाँच मन्त्रीहरुको सूचीमा समावेश गरिएको थियो । साथै, उनलाई विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका लागि जर्नल अफ रिकर्ड, ‘एमर्जिंग मार्केट्स’द्वारा सन् २०१० मा एशियाका लागि ‘फाइनान्स मिनिस्टर अफ द इयर’ घोषित गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]