बिटक्वाइन के हो ? (बैंकर सरोज कटुवालको विचार)

 

-सराेज कटुवाल

ने.रू., भा.रू., डलर जस्तै बिटक्वाइन पनि एक किसिमकाे मुद्रा हाे । यसकाे निष्काशन र सञ्चालन कुनै केन्द्रीय बैंक वा कानुनी इकाई बाट नभएर  सिमित ब्यक्तिहरूकाे एउटा समुहबाट भएकाे छ । याे डिजिटल/भर्चुअल मुद्रा अर्थात क्रिप्टाेकरेन्सी काे स्वरूपमा रहेकाे हुन्छ । विश्वमा अरू धेरै क्रिप्टाेकरेन्सीहरू छन् तर अरू अहिलेकाे समयमा सबैभन्दा प्रचलित भने बिटक्वाइन नै रहेकाे छ ।  याे मुद्रालाई ओपन साेर्स सफ्टवेयर बाट बनाउन(उत्खनन् गर्न) वा डिजिटल एप्सहरू मार्फत खरिद गर्न सकिन्छ ।

यसकाे संक्षिप्त जानकारी :
लेजर सुरूवात: ३ जनवरी २००९ (करिब ११ बर्ष अगाडि)
संस्थापक: साताेषी नाकामाेताे
संकेत: BTC, ฿, ₿
आई.एस. ओ.४२१७ काेड: BTC, XBT
सुरूवाती निष्काशन: ९ जनवरी २००९
निष्काशन सिमा: BTC २,१०,००,०००।-
अनुमानित निष्काशन अवधि: सन् २१४० सम्म

बिटक्वाइन ब्लकचेन प्रबिधिमा आधारित हुन्छ । ब्लकचेन एउटा यस्तो ब्लकहरूको घेरा हो जसभित्र जोकोही को प्रवेश गर्न वा पहुँच राख्न सक्दैन । सर्बसाधारणले ब्लक तयार गर्न भिनिन्न जटिल गणितीय पजल हरूको सामाधान गर्नुपर्ने हुन्छ र नयाँ ब्लक तयार गरेपछि उक्त ब्लकचेनमा जोड्नुपर्दछ जसको सञ्चालन गर्ने   माईनर  (Miner) ग्रुप हुन्छ र यो कार्यलाई माईनिङ (Miner)  भनिन्छ । सुरूवाती चरणमा २,१०,००० ब्लक जोडेबापत प्रति ब्लक ५० बिटक्वाइन प्रदान गरिएको थियो । त्यसपछिको चरणमा आधा प्रति ब्लक अर्थात प्रतिब्लक २५ , फेरि आधा प्रतिब्लक १२.५, ६.२५, ३.१२५ गर्दै क्रमश लगिन्छ । यसरी आधा गर्ने कार्य  Halving हो जुन निर्धारित  बिटक्वाइन सङ्ख्या सिमा पूरा भएपछि रोकिन्छ । प्राय औषतमा यी चरणहरू ४/४ बर्षमा तय हुन्छन् । सुरूमा धेरै र  पछिल्ला चरणहरूमा कम गर्दै बिटक्वनइन प्रदान गर्ने विधि साँघुरो बनाउदै लैजानुको कारण भने यसको मुद्रास्फीति को सट्टा मुद्रासंकुचन मार्फत भ्यालु बढाउनु हो । हाल करिब ८७.५९% बिटक्वाइन उत्खनन भईसकेको छ भने बाँकीको पनि क्रमशः उत्खनन् कार्य जारी रहेको छ । यही क्रमबाट जाने हो भने सन् २१४० सम्ममा सबै बिटक्वाइन उत्खनन् भइसक्ने अनुमान छ ।

कुनै पनि मुद्रा ग्राह्य हुनको लागि त्यसमा विश्वसनीयता आवश्यक पर्दछ । यहि कडीलाई समातेर एउटा सातोषी नाकामोतो नामको अवास्तविक नाम राखेर आफ्नै नेटवर्क तयार गरि कुनै ब्यक्तिले बिटक्वाइन नामक डिजिटल मुद्राको  अविस्कार र सञ्चालन गरिदिए । त्यसपछि सोही नेटवर्क परिधिभित्र रही कसैले यसको उत्खनन् गर्दै कसैले किनबेच गर्दै यसलाई चर्चित बनाउदै लगे । हाल यसको प्रयोग बैधानिक वा अवैधानिक भन्ने बिषयमा विश्वमा एउटै अवधारणा रहेको पाईदैन । जापान, माल्टा, क्यानडा, रूस,  अमेरिका, जर्मनी, अष्ट्रेलिया जस्ता मुलुकहरूले बिटक्वाइनलाई कर संकलन, सञ्चालन लाईसेन्स, केवाईसी, सम्पति गणना आदि कुनै न कुनै तरिकाबाट सम्बोधन गर्दै स्विकार गरेको पाईन्छ भने बोलिभिया, भियतनाम, नेपाल, पाकिस्तान, बंगलादेश आदिले यसको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको पाईन्छ साथै अर्जेन्टिना , कोलम्बिया, मलेसिया, माल्दिभ्स, उरूग्वे मुलुकहरूमा यसको बारेमा कुनै ठोस नीति रहेको पाइदैन ।

जे भए पनि यसको कारोबारको क्रम बढ्दो दरमा नै छ । आधारभूत रूपमा यसलाई मानिसहरूले कारोबारमा प्रयोग गर्न वा सट्टेबाजीको उदेश्यबाट खरिदबिक्री गर्ने गर्दछन् । विश्व चर्चित संस्थाहरूमा हेर्ने हो भने विकिपिडियाले बिटक्वाइनलाइ डोनेसनको रूपमा स्विकार गर्दछ, माईक्रोसफ्ट कम्पनीले खातामा टपअप गर्न अनुमति प्रदान गरेको छ, त्यस्तै एक्सपेडिया, केएफसी, बर्गर किङ आदिले पनि बिटक्वाइन कारोबार स्विकार गरेका छन् । विश्वमा लगभग ७,७२२ बिटक्वाइन एटीएम १३० एक्सचेञ्ज काउन्टरहरू र लगभग १६०.४ बिलियन कारोबार रहेको यसको भविष्य के हुन्छ भन्ने कुरामा समेत वित्तीय विश्लेषकहरू फरक फरक कित्तामा उभिएका छन् ।

यसको सबैभन्दा प्रमुख विशेषता भनेकै यसको मूल्य उतारचढावको तिब्र परिवर्तन दर हो । यसको परिवर्तन दर एकदमै अनिश्चित हुन्छ । जस्तैस् गत मध्य फेब्रुअरीमा प्रति बिटक्वाइन मूल्य १०३६७.५३ अमेरिकी डलर रहेको थियो भने मध्य मार्च मा यसको मूल्य ४९९४.७० अमेरिकी डलरमा आईपुग्यो र हाल ६ जुनमा यसको मूल्य ९५८८.९९ अमेरिकी डलर रहेको छ । अनिश्चित परिवर्तनको यसै विशेषतामा जोखिमका खेलाडीहरूले दाउ लगाउदै सम्पत्ति आर्जन गर्न उन्मुख रहेका छन् । जुन यौटा क्यासिनोको ग्याम्बलिङ जत्तिकै हुनसक्छ । यसमा कसैले राम्रो कमाएका छन् भने कसैले एकदमै नमज्जासँग गुमाएका पनि छन् । बिटक्वाइनमा लगानी कत्तिको सुरक्षित भन्ने कुरामा यसको जनविश्वास नै प्रमुख कारक तत्व हो ।  यसको लगानीले कोही छोटो समयमै प्रशस्त कमाउन पनि सक्छ, छिनभरमै यसको भ्याल्यू शुन्यमा आईपुग्न पनि सक्छ । 

वर्तमान नोवेल कोरोनाभाईरस (कोभिड-१९) को महामारी, आई एम एफ, विश्व बैंक जस्ता संस्थाले गरेको खस्कदो आर्थिक वृद्धिदर , कर्पोरेट वर्ल्ड को संकट आदिबाट अनिश्चित विश्व अर्थतन्त्रमा पनि  डिजिडल वर्ल्डको आगमन भने निश्चित छ र त्यसलाई रहर होस या बाध्यता सबैले स्वागत गर्न तयार भएर बस्नुपर्ने अवस्था छ । अनलाइन मिटिङ एप्स जुमले छोटो समयमा हात पारेको सफलता, अनलाइन शिक्षाको प्रारम्भ,  वित्तीय क्षेत्रले आह्वान गरेको डिजिटल कारोबार, अनलाइन सपिङ,अनलाइन कारोबार, । आदि कुराहरूले डिजिटल वर्ल्डको जग बसाउदै लगेका छन् । यस परिदृष्यमा क्रिप्टोकरेन्सी ढिलोरचाडो प्रयोगमा आउने त छ नै तर त्यसको सञ्चालन तथा नियमन कस्तो हुन्छ भन्ने कुरा विस्तारै समयले बताउदै जाला । FinTec को अधिकतम प्रयोग गर्दै जाने प्रतिबद्धता पूरा गर्न पनि अबका सरकारहरूले डिजिटल करेन्सी को बारेमा स्पष्ट साझा नीति तय गर्नुपर्ने देखिन्छ । यदि वर्तमान विश्व शेयर बजारमा गिरावट आएको खण्डमा त्यसको लगानी गोल्ड तथा डिजिटल गोल्ड (बिटक्वाइन) तर्फ डाइभर्ट हुन सक्छ । यसर्थ कोरोना महामारीको हालको परिस्थितिमा एक किसिमका लगानीकर्ताहरूले बिटक्वाइनमा चासो बढाएको पाईएको छ ।
नेपालमा भने यसलाई नेपाल राष्ट्र बैंकले पूर्णरूपमा प्रतिबन्ध लगाउनुका कारणहरूमा कानुनी मान्यताप्राप्त सञ्चालक नहुनु, एकदमै अनिश्चित परिवर्तन दर हुनु, दुई पक्ष हुनासाथ डिजिटल माध्यमबाट जहाँसुकैबाट कारोबार हुँदा नियमन गर्न नमिल्नु, मानव बेचबिखन, ड्रग्स, अबैध धन्दा तथा सम्पत्ति शुद्धीकरणमा प्रयोग हुने संभावना धेरै हुनु, आवश्यक करोबार तथा उत्पादनसिल कार्यमा भन्दा सट्टेबाजीमा बढी प्रयोग हुनु, यसको लगानीमा पुँजी पलायन हुनु जस्ता कारणहरू रहेका छन् । 

(लेखक नेपाल बैंक लिमिटेड, प्रधान कार्यालयमा कार्रत हुनुहुन्छ, उक्त विचार लेखकका निजी विचार हुन्, यसले लेखकले काम गर्ने संस्थासंग कुनै सरोकार राख्दैन ।)


सोसिअल मेडिया