Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ठूला आयोजनामा प्रवेश गर्दै बैंकहरु, सुरुवात ८६ मेगावाटको जलविद्युतबाट 

admin २०७३ श्रावण २१ गते
सेयर:

hydroजलविद्युत् क्षेत्रमा ८ अर्बभन्दा बढीको वित्तीय लगानी भित्रिएको छ । ५० मेगावाटसम्ममा जलविद्युत् आयोजनामा लगानी गर्दै आएका नेपालका बैंक तथा वित्तीय संस्थाले ८६ मेगावाटको आयोजनामा लगानी गरेका हुन् । १० वित्तीय संस्थाले सहवित्तीयकरण (कन्र्सो्टियम) मा हाइड्रो भेन्चर प्रालिले निर्माण गर्न लागेको सोलुखुम्बुस्थित सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा ८ अर्ब ६५ करोड रुपैयाँ ऋण दिने प्रतिबद्धता जनाएका छन् । लगानीको प्रतिवद्धता जनाउनेमा ९ वटा वाणिज्य बैंक, एक वटा विकास बैंक र एचआईडीसीएल रहेका छन् । वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट सहित कृषि विकास, राष्ट्रिय बाणिज्य, सानिमा, सेन्चुरी, एनसीसी, प्रभु, सिभिल, सनराइज र एनएमबीले सो आयोजना लगानी गर्नेछन् । 

कुन बैंकले कति लगानी गर्ने ?
कन्सोर्टिएम लिडर नेपाल इन्भेष्टमेन्ट बैंकले डेढ अर्ब रुपैयाँ लगानी गर्नेछ । यस्तै जलविद्युत लगानी तथा विकास कम्पनीले एक अर्ब रुपैयाँ र अरु बैंक तथा बित्तिय संस्था मध्ये कसैले ७५ करोड त कसैले ५० करोड रुपैयाँ लगानी गर्नेछ । ११ अर्ब ८६ करोड रुपैयाँमा बन्ने सो परियोजनामा बैंक ऋणबाट अपुग रकम प्रबर्द्धकहरुले लगानी गर्ने बताइएको छ । 

यससँगै आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भएको छ । ११ अर्ब ८६ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) अनुमानित लागत रहेको आयोजनामा ३ अर्ब २१ करोड शेयरधनी (इक्विटी) बाट लगानी हुने छ । आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रुपैयाँ छ ।

परियोजना बारे
नेपालमा निजी क्षेत्रद्धारा प्रवद्र्धित र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानीमा निर्माण हुन लागेको हालसम्मकै ठूलो आयोजना हो । यत्तिको ठूलो आयोजनामा यति ठूलो लगानी गर्ने आँट आजसम्म कुनै नेपाली बैंकहरुले गर्न सकेका थिएनन् । यसलाई नेपालका बैंक तथा वित्तीय संस्थाहरु अब ठूला आयोजनामा समेत लगानी गर्न सक्षम बन्दै गएको उदाहरणको रुपमा लिन सकिने विश्लेषकहरु बताउँछन् । आयोजनाको निर्माण करिब ४ वर्षमा सक्ने लक्ष्य लिइएको छ । 

सोलुखुम्बुको कागेल, तिङ्ला र पन्चन गाविसमा निर्माण हुने आयोजनाको बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सोलु करिडोरमार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह जोडिनेछ । प्रशारण लाईन नेपाल बिद्युत प्राधिकरणले निर्माण गर्नेछ । ४० मिटर लामो बाँध र साढे चार किलोमिटर लामो टनेल मार्फत परियोजना बनाउने योजना कम्पनीको छ ।

सोलु र दुधकोशी नदीको संगममा बन्न लागेको परियोजनाबाट उत्पादित विद्युत खरीदका लागि गत बर्ष नै नेपाल विद्युत प्राधिकरणसँग सम्झौता (पिपिए) भएको थियो । परियोजनाले प्रतियुनिट विद्युत बापत बर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा पाउनेछ । विद्युत उत्पादन सुरु भएको आठ वर्षसम्म बर्षेनी तीन प्रतिशतका दरले विद्युतको मूल्य बृद्धि हुने जनाइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।