गुल्मी — युवालाई कृषि उद्यमबाट गाउँमै रोक्न गुल्मीको मालिका गाउँपालिकाले पहिलो चरणमा ५० जना युवालाई ५० हजारदेखि ७ लाख रुपैयाँसम्मको ऋणको ब्याज तिरिदिने गरी कृषि कर्जा दिने भएको छ ।
कोभिड–१९ का कारण विदेशबाट फर्किएका र स्वदेशमै बेरोजगार ४ सय १३ जनाले कर्जाका लागि फर्म भरेका छन् । उनीहरूमध्ये ५० जनालाई ऋण उपलब्ध गराउन बैंकलाई पालिकाले सिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । बैंकले केही दिनभित्रमा युवालाई मागबमोजिमको रकम उपलब्ध गराउनेछ ।
गाउँमा पशुपालन र कृषि उत्पादन गर्ने युवालाई ५० हजारदेखि ७ लाख रुपैयाँसम्म ऋणको तीन वर्षसम्म गाउँपालिकाले ब्याज तिरिदिने गरी कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको छ । बाँकीको धितो मूल्यांकन गरेर ऋण उपलब्ध गराइदिन बैंक अफ काठमाडौंलाई सिफारिस गर्ने प्रक्रिया अघि बढेको उनले बताए । कोरोनाका कारण भारत र तेस्रो मुलुकबाट ६ सय जनाभन्दा बढी युवा गाउँ फर्किएका छन् ।
‘बेरोजगार युवाले गाउँमै आफूले गर्न चाहेको व्यवसायको विवरणसहित निवेदन गाउँपालिका कार्यालयमा दिएपछि हामीले धितो मूल्यांकन गरेर बैंकमार्फत ऋण उपलब्ध गराउँछौं र तीन वर्षसम्म पालिकाले ब्याज तिरिदिन्छ,’ उनले भने, ‘अब पैसा नभएर केही व्यवसाय गर्ने सोच भएका युवा बेरोजगार बस्नु पर्दैन ।’ युवाशक्तिलाई गाउँमै परिचालन गरेर स्वरोजगार बनाउने लक्ष्यअनुसार पालिकाले कृषि कर्जा कार्यक्रम अघि सारेको हो ।
यसरी ऋण लिएका युवाले गाउँमा लोकल कुखुरा, बाख्रापालन, गाईभैंसी पालन, मौसमी तथा बेमौसमी तरकारी खेती, माछा, बंगुरदेखि केरा, कफी खेती गर्न सुरु गरेका छन् । वडा १ का युवा डोरबहादुर श्रीसका दुई वटा दुहुना भैसी छन् । उनले थप तीन वटा भैंसी किन्न ३ लाख रुपैयाँ ऋण लिन लागेको बताए । एउटा दुहुनो भैंसीलाई ७० देखि ९० हजार रुपैयाँसम्म पर्छ ।
‘ऋण पाइने भएपछि विदेश जाने सोच बदलें, विदेश गएकी श्रीमतीलाई पनि बोलाएर यहीँ बृहत् भैंसी फार्म सञ्चालन गर्छु,’ उनले भने । अर्का युवा मानबहादुर विकले मासु र अण्डाका लागि लोकल, बोइलर र लेयर्स कुखुरा पाल्न ५ लाख ऋण लिने जानकारी दिए । ‘लोकल कुखुराको माग धेरै छ । अहिले एक सय कुखुरा छन् । खोर निर्माण गरिसकेको छु । पैसा हात परेपछि थप कुखुरा किनेर पाल्ने हो,’ उनले भने । गरिब परिवारका धेरै युवा केही उद्यम गर्ने सोच भए पनि लगानीको अभावमा खुम्चिँदै अन्त्यमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।