डा. रेवत बहादुर कार्की
यतिबेला अर्थतन्त्र थला परेको छ । जसमा पनि साना तथा तल्लो वर्गका व्यवसायी उठ्नै नसक्ने गरी मारमा परेको अवस्था छ । यस्तो अवस्थामा व्यवसायीलाई राहत दिने तथा जोगाउन तिर लाग्ने र रोजगार गुमाएकालाई रोजगारीका कार्यक्रम ल्याउनु पर्ने मुख्य दायित्व सरकारको थियो । तर सरकारले कुनै कार्यक्रम ल्याउन सकेन । ल्याएका कार्यक्रम समेत इफेक्टीभ देखिएका छैनन् । प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका सरकारले ल्याएका कार्यक्रमा खाली राजनीतिक नाराजस्ता मात्र देखिएका छन् । स्वदेशमै केहि गर्छु भनेर लागिपरेका यूवा पुनः पलायन भइरहेका छन् । अहिले राजश्वको स्थिति पनि राम्रो छैन । सरकार अनावश्यक कामको लागि खर्च गरिरहेको छ । राहत पाए उद्योग व्यवसाय जिवित रहन्छन् उत्पादन बढ्छ र भोली रिर्टन गर्छन् । तथापि हालको सरकारी नीति र व्यबहारले यो देखाउँदैन । अब उद्योग व्यवसाय अझै केही महिना सुचारु हुने अवस्था छैन । यस्तो अवस्थामा आर्थिक गतिविधि बढाउनु पर्ने हो । त्यसको लागि व्यवस्थापन निकै कमजोर देखिएको छ । नीतिगत रुपमा धेरै कुरा सुधार गर्न पर्ने देखिन्छ ।
पूँजी बजार
पूँजी बजार अर्थतन्त्रको ऐना नै हो । अर्थतन्त्र राम्रो भए पुँजी बजार राम्रो हुने हो । नेपालमा पूँजी बजारको अवस्था अहिले राम्रो छैन । अहिले दोस्रो बजारको कारोबार बढि भएकाले पूँजी बजार राम्रो जस्तो लागेको मात्र हो । तर बैकल्पीक लगानीको क्षेत्र नभएको, लिकुडिटि धेरै भएको निक्षेपको व्याजदर कम भएकाले पुँजी बजार टिकाउ भएको छ । यो धेरै टिकाउ भने हुँदैन । पूँजी बजारको विगतका ३र४ वर्षमा जुन किसिमको विकास भएको छ त्यो अनुकरणीय छ । पहिले पहिले आइपिओ भर्नेको भिड धेरै हुन्थ्यो । तर अहिले देशभरका ७७ जिल्ला स्थानिय तहसम्म पूँजी बजारको विकास भएको छ । पहिले प्राथमिक बजारको आइपिओ निष्कासनमा ६ महिना लाग्दथ्यो । तर अहिले बढिमा १ महिना लाग्छ । अहिले प्रविधिको विकासले अनलाइनबाट काम हुन थाल्यो । यसले सहजता सृजना गरेको छ ।
अन्तराष्ट्रिय स्तरको टेक्नोलोजी बेसमा हामी अगाडि बढन सकिरहेका छैनौं । हाम्रो मार्केटलाई अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छ । नेपालमा विदेशी कम्पनीले टे«डिङ गर्नको लागि अन्तर्राष्ट्रिय अडिटर चाहिन्छ । अहिले ४ लाखले भइरहेको काम अन्तर्राष्ट्रिय अडिटरले गर्दा ८० लाख कस्ट पर्छ । अन्तराष्ट्रिय कारोबार गर्न क्यापासिटि बढाउनु पर्छ । अहिले सरकारले बाह्य ऋण ल्याउने भनेको छ । तर अन्तराष्ट्रिय कम्पनीले नेपालको क्रेडिट रेटिङ के हो भन्दछन् । क्रेडिट रेटिङले देशको स्टाटस दिन्छ । अन्तराष्ट्रिय कारोबार गर्ने क्रेडिट रेटिङका मुख्य कम्पनीले स्टाण्डर्ड एण्ड पोर, मुडिज बाट गर्ने गर्दछन् । नेपालमा रेटिङ गर्न सरकार डराइरहेको अवस्था छ । सरकार रेटिङ ‘लो’ आउला की भने रेटिङ गर्न डराइरहेको छ । नेपालको पुँजीबजारलाई अन्तर्राष्ट्रियकरण गर्नेको लागि हाम्रो प्रविधिमा विकास गर्नु पर्ने हुन्छ । छिमेकी मुलुक भारतले जर्मनीको टेक्नोलोजी प्रयोग गरिरहेको छ । अन्तराष्ट्रिय कम्पनीलाई विश्वास दिलाउन अन्तराष्ट्रिय टेक्नोलोजीको प्रयाग गर्नु पर्दछ ।
नेपालमा सिडियो जस्तो मान्छेले शेयर बजार नबुझेको अवस्था छ । सामान्य नागरीकले झन् कसरी बुझ्दछन् । अहिले लगानीकर्ताको लागि बजार सुधारका काम धेरै भइरहेका छन् । नेपालमा पुँजी बजार साक्षर जनसंख्या करिब २० लाख मात्र छ । नेपालमा पुँजी बजार बुझेर लगानी गर्ने करिब १ प्रतिशत मात्र छन् । अन्य लगानीकर्ता होडबाजीमा शेयर भर्ने गरेका छन् । वास्तवमा नियामक निकाय र सरकारले पूँजी बजार बारे आम नागरिकलाई बुझाउन नसकेको अवस्था छ । अन्य मुलुकमा शेयर बजार तलमाथि जान्छ तर नेपालमा म्यानिपुलेशन जस्तो दुई दिन बढ्ने फेरी घट्ने भइरहँदा यो असोभनिय जस्तो लाग्छ । अर्थतन्त्रको डिमान्ड अनुसार घट बढ हुनु स्वभाविक हो तर नियामक निकायले यस्तो कुरामा सक्रिय नहुँनु चाहिँ असोभनिय कुरा हो । वित्तीय साक्षरताको लागि सरकार, नियामक निकाय, राष्ट्र बैंक तथा अन्य निकायहरु वित्तीय साक्षताको लागि अभियान बनाएर लाग्नु पर्दछ । हुनत वित्तीय साक्षरताको महत्वको बारेमा विभिन्न अभियान संचालन भएका छन् । यसलाई प्रभावकारी बनाउन अब वित्तीय साक्षरताको विभिन्न स्थानिय निकायमा कार्यक्रम संचालन गरिनु आवश्यक छ । अर्को कुरा लगानीकर्ताले समेत सामान्य आफुले लगानी गर्न लागेको कम्पनी शेयर बजारको बारेमा जानकार हुनुपर्छ । ताकि अरुले शेयरको पैसाले घर बनाए, जग्गा किने भन्ने हल्लाको पछाडि लाग्नु हुँदैन । शेयर बजारको बारेमा जानकारी लिन चाहनेहरुले विभिन्न माध्यमबाट स्वअध्ययन पनि गर्न सक्नुपर्ने हुन्छ ।
बैंक वित्त क्षेत्र
नेपालको बैंक क्षेत्र साउथ एशियाली मुलुकहरुकै अग्रपङक्तीमा छ । नेपालका बैंक तथा वित्तीय क्षेत्रको अवस्था केहि महिना अगाडि राम्रो थियो । तर दोस्रो लकडाउन पछाडि बैंकको रिपेमेन्ट कमजोर भएको छ । व्यवसाय नै चलेका छैनन् । व्यवसायीले कहाँबाट कर्जाको व्याज तिर्ने, भन्ने अवस्था छ । अन्य वर्षको तुलनामा कोभिडले अहिले करिब ५० प्रतिशत बैंक तथा वित्तीय क्षेत्रको कर्जा डिमान्ड कम भएको छ । हाम्रो जिडिपिको मेजर एक्टिभेट गर्ने नीजि क्षेत्र ठप्प छ । बैंकिङ क्षेत्रमा नीतिगत अस्थिरता छन् । राजश्वको ठुलो अंश बैंकिङ क्षेत्रबाट आउँछ । तर कोभिडले गर्दा बैंकिङ क्षेत्रमा निकै प्रभाव पारेको अवस्था छ । त्यसमाथि नीतिगत अस्थिरताले पनि अरु समस्या थपेको अवस्था छ । बैंकिङ क्षेत्रको पोलिसिगत कुरामा सुधार गर्नुपर्ने पर्ने देखिन्छ । सिइओको नियुक्ति र बर्खास्तमा नियमन निकायको प्रत्यक्ष सहभागिता हुने प्रावधान हुनु हुदैन । नियमन र सुपरिवेक्षणमा कडाई हुनु पर्दछ । हाम्रो ‘इकोनोमि’को हिसाबले बैंकहरुको संख्या बढि भएकै हो । यसलाई फेज आउट गर्ने बेला आएको छ । विकसित मुलुक जस्तो ‘ओपन इन्ट्रि, ओपन एक्जीट’ गर्न सकिने हाम्रो अवस्था छैन । हाम्रो सानो पूँजीले त्यो सम्भव पनि छैन । सरकार, नियमनकारी निकायले बैंकलाई धेरै किसिमका अनावश्यक नीति नीयमले लाद्ने काम राम्रो होइन । सुपरिवेक्षण पनि कमजोर छ । यी कुराहरु वित्तीय क्षेत्रमा सुधार गरिनुपर्छ ।
बैंकहरु धेरै भए बैंकलाई राइट साइटमा ल्याउन मर्जर एक्युजीसन गर्नुपर्छ भनिएको छ । मर्जर एक्युजीसन भनेको छुट्टिएको परिवार एक हुनु जस्तै हो । मर्जरको अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा मर्जर पश्चात फड्को मारेको मुलुक मलेसिया र फिलिपिन्स हुन् । मलेशियामा करिब ४३ वटा बैंक थिए । जसलाई मर्जर गरी ९ वटा बैंक बनाएको छ । तर नेपालमा कति वटा भन्ने नै छैन । नियामक निकायले बैंकहरुलाई मर्जर हौ, हामी खुशि हुन्छौ भनेको अवस्था देखिन्छ । मर्जर हुनु राम्रो हो तर बैंकको ‘एक्सेस’ कम हुनु हुदैन । अर्को कुरा प्रतिस्प्रर्धा कम हुनु हुँदैन । यसबारेमा प्रष्ट नीति हुनु जरुरी छ ।
लघुवित्त
लघुवित्त नेपालका ग्रामिण भेगमा निकै प्रभावकारी देखिएको छ । लघुवित्त नेपालको गरिबी न्यूनीकरण कम गर्ने उद्देश्यले स्थापना भएका हुन् । लघुवित्तले ग्रामिण क्षेत्रमा पूँजी परिचालन गरेका छन् । विषेशगरी ग्रामिण क्षेत्रमा नागरिकलाई लघुवित्तले प्रत्यक्ष रुपमा सहयोग पर्याउँछ । लघुवित्तले नागरिकको घरदैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने एवम थोरै थोरै कर्जा प्रवाह गर्ने गर्दछन् । लघुवित्तबाट बिना धितो कर्जा प्राप्त हुन्छ । हालसम्म नेपालमा लघुवित्तले १३ खर्ब बढि कर्जा प्रवाह गरेका छन् । जिडिपिमा करिब ४ प्रतिशत लघुवित्तको योगदान छ । अहिले लघुवित्तले ४६ लाख नागरिकमा सेवा प्रर्दान गर्दै आइरहेको छ । जसमा २८ लाख ऋणी रहेका छन् । मुख्यतया लघुवित्तले ग्रामिण क्षेत्रका नागरीकलाई वित्तीय साक्षर बनाउन मद्दत पुर्याएको अबस्था छ । त्यससँगै लिडरसिपको पनि विकास गरेको छ । हिजो हस्ताक्षर गर्न नसक्ने व्यक्ति अहिले सामान्य भिडमा भाषण गर्न सक्ने भएका छन् । पैसा परिचालन गर्ने भएका छन् । यो लघुवित्तको योगदान नै हो ।
लघुवित्तले विषेशगरी ग्रामिण क्षेत्रमा नागरिकलाई विना धितो कर्जा प्रवाह गर्ने भएकाले कतिपय अवस्थामा नागरिकले आफ्नो क्षमता भन्दा बढि ऋण लिने, कर्जा चुँक्ता नगर्ने जस्ता समस्या पनि देखा परेका छन् । कतिपय ठाँउमा त के सम्म पाइयो भने, ग्रामिण भेगमा जमिनदार ठुला बडाले सस्तो ब्याजमा कर्जा उपलब्ध हुँदा घरमा विहे, बर्तबन्ध जस्ता कामको लागि लघुवित्तमा संलग्न व्यवक्तिलाई ऋण निकाल्न लगाएर प्रयोग गरेको अवस्था पनि थियो । नेपालको सिनारियोमा लघुवित्तमा करिब ९८ प्रतिशत महिलाको सहभागिता पाइन्छ । कोभिडले अहिले सम्पूर्ण क्षेत्र नै ठप्प पारेको अवस्था छ । जसबाट आम किसान, व्यवसायी, पनि पिडामा परेका छन् । जसले गर्दा कर्जाको व्याज कसरी तिर्ने भन्ने अवस्था सिर्जना भएको छ । लघुवित्तले विना धितो कर्जा ऋण प्रवाह गर्ने भएकाले अहिलेको समयमा कर्जा असुली पनि समस्या बन्दै गइरहेको छ । (लेखक बरिष्ठ अर्थविद् तथा धितोपत्र बोर्डका पूर्व अध्यक्ष हुन् ।) बैंकिङ खबरले गरेको कुराकानीमा आधारीत