October 22nd, 2020

पाँच वाणिज्य बैंकले गरे लाभांश प्रस्ताव

चालू आर्थिक वर्षको पहिलो त्रैमास समाप्त भइसक्दा सूचीकृत २६ वाणिज्य बैंकमध्य पाँच बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् । हालसम्म बैंक अफ काठमाण्डू, सानिमा, माछापुच्छ्रे, सिटिजन्स इन्टरनेशनल र एनआइसी एशिया बैंकले लाभांश घोषणा गरेका छन् ।

कोरोना संक्रमणका बीच पनि सेवा प्रवाहलाई निरन्तरता दिएका वाणिज्य बैंकहरूले लाभांश प्रस्ताव गर्न भने यो वर्ष ढिलाइ गरेका छन् । अझै २१ सूचीकृत वाणिज्य बैंकहरूले लाभांश घोषणा गर्न बाँकी छ ।

विगत वर्षहरूमा एकाध बैंकले साधारणसभासमेत सम्पन्न गरी शेयरधनीहरूलाई दशै खर्च दिँदै आएकोमा यो वर्ष त्यो सुविधा लगानीकर्ताहरूले पाएनन् ।

यो वर्ष माछापुच्छ्रे बैंकले कात्तिक ६ गते वार्षिक साधारण सभाको मिति तय गरेको भए पनि कोरोना संक्रमण बढेका कारण स्थगित गरेको छ । दशै खर्च दिने गरी साधारणसभा गर्न लागेको माछापुच्छ्रे बैंकले सभा स्थगित गरेपश्चात् आगामी साधारणसभाबाट  अनुमोदन गराउने गरी २ दशमलव ८५ प्रतिशत अन्तरिम लाभांश दिने भएको छ ।

बैंकले प्रस्ताव गरेको ७ दशमलव ३० प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

यो वर्ष बैंकहरूले नगदभन्दा बोनश शेयरमा जोड दिएका छन् । कोरोना संक्रमको प्रभाव यो वर्ष बैंकहरूको लाभांशमा पनि देखिएको छ । पाँचवटै बैंकको लाभांश गत वर्षभन्दा  कम रहेको छ । यो वर्ष पाँच बैंकमध्ये सबैभन्दा बढी लाभांश एनआइसी एशिया बैंकको रहेको छ ।

यस बैंकले असोज ४ गते १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको हो । सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको एनआइसी एशिया बैंकको लाभांश पनि गत वर्षभन्दा कम छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद दिएको यो बैंकको यस वर्ष न्यून प्रतिशतले लाभांशमा कमी आएको हो ।

एनआइसी एशिया बैंकले यो वर्ष बोनस शेयरमा जोड दिँदै लाभांश प्रस्ताव गरेको छ । कुल २० प्रतिशत लाभांशमा १९ प्रतिशत बोनस शेयर बैंकले प्रस्ताव गरेको हो ।

गत वर्ष ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश दिएको बैंक अफ काठमाण्डूले वर्ष १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंक अफ काठमाण्डूले पनि बोनस शेयरमै जोड दिएको छ ।

सानिमा बैंकको लाभांशमा पनि यो वर्ष कमी आएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश दिएको सानिमा बैंकले यो वर्ष भने कुल १३ दशमलव ६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस वर्ष १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सानिमाले गरेको हो ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज ३ गतेको सञ्चालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

सिटिजन्स इन्टरनेशनलको पनि यो वर्ष लाभांश घटेको छ । गत वर्ष सिटिजन्सले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिएको थियो । हालसम्म सार्वजनिक वाणिज्य बैंकको लाभांशप्रति लगानीकर्ताहरू आकर्षित भएका छन् । लगानीकर्ताहरूले आफ्नो अपेक्षाभन्दा बढी लाभांश प्रस्ताव भएको प्रतिक्रिया दिएका छन् । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]