गरिवी निवारणको लक्षसहित स्थापीत भएको निर्धनउत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना अति विपन्न ग्राहकहरुलाई राहत स्वरुप ७ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड–१९ को संक्रमणबाट सृजित विषम परिस्थितीको कारणले संस्थाका ऋणीसदस्यहरूको व्यवसाय सञ्चालनमा कठीनाई उत्पन्न हुँदा सबैभन्दा विपन्न वर्गलाई साँझ विहान खान समेत धौ धौ परेका कारण निर्धनउत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना विपन्न ग्राहकलाई राहत स्वरुप रकम हस्तान्तरण गरेको हो । कोभिडका कारण व्यावसाय बन्द हुँदा कतिपय ऋणी सदस्यहरू प्रभावित भएका छन् ।
उनीहरूको व्यवसाय पुनस्र्थापना गरी आर्थिक र सामाजिक अवस्थामा सुधार गर्ने उद्धेश्यले संंस्थाका १८१ शाखा कार्यालयहरूका समस्यामा परेका तथा अति विपन्न ७ हजार २ सय ५० ऋणी सदस्यहरूलाई संस्थाले प्रति ऋणी सदस्य दशहजार रुपैयाँका दरले ७ करोड २५ लाख रूपैयाँ व्यवसाय पुनस्र्थापनको लागि आर्थिक अनुदान सहयोग स्वरुप प्रदान गरेको निर्धनउत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताउनुभयो । उहाँले अति गरिवी विपन्न व्यक्ति र परिवारलाई आत्मविश्वास बलियो बनाउन तथा उहाँहरु र उहाँहरुले संचालन गर्नू भएको ब्यवसाय बचाउँने जिम्मेवारीका साथ सहयोग गरिएको र अरुहरु सबैले पनि आ–आफ्नो क्षेत्रवाट यस्तो सहयोग गर्दा कोभिडका कारण उत्पन्न परिस्थितिलाई कम गर्न सहयोग पुग्ने बताउनुभयो ।
कोभिड–१९ का कारण पूर्णरूपमा व्यवसाय बन्द भएका ऋणी सदस्यहरूलाई दशहजार रुपैयाँका दरले आर्थिक अनुदान सहयोग प्रदान गर्दा तत्कालको लागि लगानी योग्य पूजीँको व्यवस्था भइ ऋणी सदस्यहरूको आर्थिक अवस्थामा सुधार हुने र व्यावसाय संचालन वा पुनस्र्थापनमा सहयोग पुग्नुको साथै स्थानिय स्तरमा संंस्थाप्रति सकारात्मक सन्देश जाने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले अपेक्षा गरेको छ । देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सृजित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ७७ वटै जिल्लामा रहेका १८१ शाखा कार्यालयहरु मार्फत २०७७ भाद्र मसान्तसम्म ३ लाख ७३ हजार ९ सय ४६ विपन्न गरीव घर धुरीमा प्रभावकारी रूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको छ ।
गरिव वर्गलाई कर्जा र उद्यमशीलता मार्फत धनी बनाउने सपना बोकेर डा हरीहरदेव पन्तले निर्धनउत्थान लघुवित्तको स्थापना गर्नुभएको थियो । तत्पश्चात नेपालमा लघुवित्त वित्तीय संस्थाहरुको संख्या बढ्दै गएको हो । सो संस्थाको यो कार्यले अरु लघुवित्तलाई पनि आफ्ना विपन्न सदस्यहरुप्रति न्याय र सहयोग गर्न अभिप्रेरित गरेको छ ।


