
युवा स्वरोजगारीका साथै कपडा उद्योग सञ्चालन र सीटीईभीटीबाट दिइने तालिम लिएकाले पनि सहुलियत कर्जा लिनसक्ने भएका छन् । सहुलियतपूर्ण कर्जा कार्यविधिमा तीनवटा नयाँ शीर्षक थप गर्दै संशोधन गर्दै नेपाल राष्ट्र बैङ्कले थप व्यवस्था गरेको हो ।
मन्त्रिपरिषद्को असोज ८ को निर्णयबाट स्वीकृत भएको सहुलियतपूर्ण कर्जा कार्यविधिलाई राष्ट्र बैङ्कले मङ्गलबारदेखि लागू गरेर युवा स्वरोजगार, कपडा उद्योग सञ्चालन र सीटीईभीटीबाट लिइने तालिमका लागिसमेत कर्जा लिन सकिने व्यवस्था गरेको हो ।
युवा वर्ग स्वरोजगार कर्जा पाँच लाख रुपियाँसम्म, कपडा उद्योग सञ्चालनका लागि पाँच करोड र सीटीईभीटीबाट लिइने तालिमका सहभागीका लागि दुई लाख रुपियाँ कर्जा लिन सकिने व्यवस्था राष्ट्र बैङ्कले गरेको हो ।
राष्ट्र बैङ्कले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि तेस्रोपटक संशोधन गरिसकेको छ । दुई वर्ष अगाडि मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जा कार्यविधिमार्फत व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जाअन्तर्गत सहुलितपूर्ण ऋण दिने व्यवस्था गरिएको थियो ।
युवा स्वरोजगार कर्जाअन्तर्गत माध्यमिक वा सोसरह उत्तीर्ण गरेका सीटीईभीटी वा अन्य सरकारी निकायबाट कम्तीमा सात दिनको उद्यम तालिम लिएको व्यक्तिले उद्यम सञ्चालनसम्बन्धी सङ्क्षिप्त प्रस्ताव पेस गरेपछि त्यस्तो कर्जा पाउने व्यवस्था गरिएको हो ।
राष्ट्र बैङ्क बैङ्क तथा वित्तीय संस्थालाई उक्त सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ को तेस्रो संशोधनमा भएको व्यवस्थाअनुसार लागू गर्न मङ्गलबार निर्देशन दिएको छ । उक्त कार्यविधिमा महिला उद्यमी बन्न अधिकतम १५ लाखसम्म सहुलियत कर्जा पाइने छ ।
व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाका लागि अधिकतम पाँच करोड, शिक्षित युवा तथा स्वरोजगार कर्जा सात लाख, विदेशबाट फर्केकालाई युवा परियोजना कर्जा १० लाख उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च प्रविधि तथा व्यावसायिक कर्जा पाँच लाख, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा तीन लाखसम्म कर्जा बैङ्कबाट लिन सकिने छ ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।