August 1st, 2016

बिमित पशुको दाबी नपरे नवीकरण गरेको पहिलो वर्षमा अब ५ प्रतिशत बीमाशूल्क छुट

bima samitiअब बिमित पशुको दाबी नपरेको अवस्थामा बीमा नवीकरण गरिएको पहिलो वर्ष कुल बीमाशूल्कको ५ प्रतिशत बीमाशूल्क छुट हुने भएको छ । बीमा समितिले बाली तथा पशुपक्षी बीमा लेखमा परिमार्जन गर्दै यस्ता व्यवस्था ल्याएको हो । यसका अलावा समितिले कृषि बीमालेख अन्तर्गत पशुबीमा लेखमा पशुको बाँझोपन, थुनेलेको दाबी भुक्तानी, पर्खने समय, संकेतपट्टा पारिश्रमिक र बिमित बस्तुभाउको विषयमा केही संशोधन गरेको जनाइएको छ । बाली बीमाअन्तगर्त भने बीउ बीजन, रोग र कीराका विषयलाई आंशिक परिमार्जन गरिएको छ ।

केके छन् नयाँ व्यवस्थामा ?
नयाँ व्यवस्थाअनुसार बिमित पशुको दाबी नपरेको अवस्थामा बीमा नवीकरण गरिएको पहिलो वर्ष कुल बीमाशूल्कको ५ प्रतिशत बीमाशूल्क छुट हुनेछ भने दोस्रो वर्ष नवीकरण गर्दा ७ प्रतिशत र तेस्रो वर्ष नवीकरण गर्दा १० प्रतिशत बीमा शूल्क छुट हुनेछ । यस्तो छुट पाउनका लागि गएको वर्षको बीमा लेखलाई निरन्तरता दिएको हुनुपर्ने सर्त नयाँ व्यवस्थाले अघि सारेको छ । 

पशु बीमा गर्दा बाँझोपन छुट्टिने अवधिभन्दा अगाडी बीमा दाबी गर्न नपाइने व्यवस्था गरिएको छ । गाईको हकमा २ सय ८० दिन, भैंसीको ३ सय १० दिन, घोडाको ३ सय ४०, भेडा र बाख्राको १ सय ५०, सँगुरको १ सय १छ र गधाको ३ सय ७० दिनपछि मात्रै बाँझोपनको खाबी गर्न पाइनेछ । यसअघि जुनसुकै समयमा पनि दाबी पाउने व्यवस्था थियो । 

थुनेले भएको अवस्थामा ५० प्रतिशत भुक्तानी गरिने व्यवस्था रहेकोमा सोको परिमार्जन गरी ३० प्रतिशत मात्रै दाबी भुक्तानी दिइने व्यवस्था गरिएको छ । 

परिमार्जित व्यवस्थाअनुसार, यदि बीमा गरिएको बस्तुभाउको कुनै रोगको कारणले बीमा गरेको १५ दिन नपुगी मृत्यु भएमा दाबी लाग्ने छैन । त्यस्तै, बिमित बस्तुभाउलाई बीमा नगरिएका बस्तुभाउसँगै राख्न पाइने छैन । 

बाली बीमा गर्दा नेपाल सरकारबाट मान्यताप्राप्त बीउबीजनका जात प्रयोग गरी खेती गरिएको हुनुपर्नेछ । रोग तथा कीराबाट भएको हानी नोक्सानीको कारण एकिन गर्न कठिन भएमा बिमकले आवश्यकताअनुसार प्रयोगशालामा परीक्षण गराउन सक्ने व्यवस्था गरिएको छ ।